|

सिमकोट :  नेकपा माओवादी केन्द्रले आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाका लागि मुगु जिल्लाको उम्मेदवार टुंगो लगाएको छ। प्रतिनिधि सभामा मंगलबहादुर शाही र प्रदेश सभाका लागि क्षेत्र नं १ मा केबलबहादुर मल्ल र क्षेत्र नं २ मा राजुबहादुर कार्कीलाई उम्मेदवार बनाएको हो।

त्यस्तै समानुपातिक निर्वाचन पद्धतितर्फ प्रतिनिधि सभामा अजबहादुर शाही र प्रदेशमा बाँचु धामी, लालचन्द्र विक र शुकवीर बुढालाई उम्मेदवार बनाउने निर्णय गरेको माओवादी जिल्ला इन्चार्ज मंगलबहादुर शाहीले जानकारी दिए।

भदौ २५ देखि मुगु सदरमुकाम गमगढीमा ३ दिनसम्म बसेको माओवादी केन्द्रको बैठकले प्रदेश र संघका उम्मेदवार टुंगो लगाएको हो। बैठकमा मंसिर प्रदेश र प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारसँगै स्थानीय तह निर्वाचनमा भोगेको पराजय लगायतका विषयमा छलफल भएको थियो। बैठकमा माओवादी केन्द्रका केन्द्रीय कार्यलय सदस्य तथा शक्तिबहादुर बस्नेत पनि सहभागी थिए।

स्थानीय तह निर्वाचनमा मुगुमा माओवादी केन्द्रले पराजय भोगे पनि अहिले माओवादीप्रति जनलहर देखिएकाले प्रदेश र प्रतिनिधि सभामा पार्टीका उम्मेदवारले जित हासिल गर्ने माओवादी केन्द्र जिल्ला इन्चार्ज शाहीले बताए।

नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलले भने प्रदेश र प्रतिनिधि सभाको उम्मेदवार टुंग्याएका छैनन्। उम्मेदवारका विषयमा छलफल सुरु गरिएको नेपाली कांग्रेसका सभापति खड्कबहादुर शाहीले बताए। नेकपा एमालेले पनि उम्मेदवार चयनका लागि बैठक र छलफलहरु सुरु गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.