|

इलाम : जापानी प्रविधिको चिया टिप्ने मेसिन (हार्वेस्टर) नेपाल मै खरिद गर्न पाइने भएको छ। जापानबाट भारत हुँदै नेपाल आयात गरिँदै आएको हार्वेस्टर अब भने नेपालका चिया किसान तथा उद्यमीहरुले नेपालमै खरिद गर्न सक्ने भएका हुन्। चियापत्ती टिप्ने मेसिन पहिलोपटक सोनु विजिनेस प्रालि ललितपुरले नेपालमा आधिकारिक बिक्री गर्न लागेको हो।

 जापानमा सन १९५९ देखि प्रयोगमा आएको यो मेसिन चिया तथा कफी विकास बोर्डको पहलमा नेपालमा ल्याइएको हो। चिनियाँ मेसिनभन्दा ४ गुणा बढी टिकाउ भनेर दाबी गरिएको सो मेसिनको प्रयोगबाट चियाको उत्पादन तथा गुणस्तरमा सुधार हुने उत्पादक ओचाइ कल्ट्री मेनुफेक्चरर लिमिटेडका एरिया मेनेजर सिन्जो हितोरीले बताए।

उनका अनुसार जापानी मेसिनको प्रयोगबाट चियाको टिपाइमा ५० प्रतिशतले वृद्धि र गुणस्तरमा कुनै ह्रास हुनेछैन। विभिन्न मोडलमा उपलब्ध हुने यो मेसिन तराइका चिया बगानहरु र पहाडी क्षेत्रकाका बगानमा प्रयोग मिल्ने मोडलमा उपलब्ध हुनेछन्।

भिरालो तथा पाखो जमिनमा लगाइएको चिया बगानमा १ जना मजदुरले प्रयोग गर्न सकिने यो मेसिन तराईका क्षेत्रमा २ जनाले प्रयोग  गर्न सक्ने मोडलमा उपलब्ध हुनेछ। एक जनाले प्रयोग गर्न सक्ने मेसिनको मूल्य १ लाख ४ हजार र दुईजनाले प्रयोग गर्न मिल्ने लाई १ लाख ७० हजार रुपैयाँ मूल्य पर्ने नेपालको लागि आधिकारिक बिक्रेता सोनु बिजिनेस प्रालिका गणेश खत्रीले बताए।

पूर्वका चिया किसान र उद्यमीहरुको सहजताको लागि झापाको दमक सेल्स एन्ड सर्भिस सोरुम खोल्ने तयारी भइरहेको खत्रीले बताए। यो मेसिनले चिया लेबलअनुसार टिप्न मिल्ने उत्पादक कम्पनीको दाबी छ। चिया टिप्ने मेसिनका अतिरिक्त ओचाइ कम्पनीद्धारा निर्मित चियाको हाँगा र कलमी काटने लगायतका चिया बगानमा प्रयोग गर्न सकिने विभिन्न प्रविधीका मेसिन समेत विक्री वितरण गरिने भएको छ।

जापानमा सबै चिया बगानमा प्रयोग गरिँदै आएको भनिएको यो मेसिनको प्रयोगबाट मजदुर अभावले थलिएको पूर्वको चिया क्षेत्रलाई राहत मिल्ने चिया विस्तार आयोजनाका प्राविधिक विवेक भण्डारीले बताए।

जापान, ताइवान, कोरिया, श्रीलंका लगायतका चिया उत्पादन हुने क्षेत्रमा प्रयोगमा ल्याइएको यो मेसिन नेपालमा भने पहिलो पटक भारतबाट खरिद गरी टोक्ला चिया कमान, हिमालयन महालक्ष्मी टी स्टेटले प्रयोग गर्दै आएका थिए। चिनियाँ मेसिनभन्दा गुणस्तरीय, टिकाउ र कम मुल्यमा उपलब्ध हुने भएकाले नेपालमा यसको प्रयोग बढ्ने वितरक कम्पनीको दाबी छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.