|

सिरहा : नेपाली कांग्रेसका नेता प्रदीप गिरीले स्थानीयदेखि संघीय चुनावमा कांग्रेसले नजिते मुलुक २५ बर्ष पछाडि पर्ने बताएका छन्। सिरहा नगरपालिकामा शुक्रबार आयोजित चुनावीसभामा गिरीले भने, ‘ओली राष्ट्रवादलाई निरुत्साहित गर्दै कांग्रेसलाई जिताउन मतदान नगरे मतदाताले पछुताउनुपर्नेछ।’ देशका सबै नागरिकको भावना र अवधारणा लिएर का‌ंग्रेस अगाडि बढेको भन्दै गिरीले यसपटक कांग्रेसलाई मतदान गर्न मतदाता चुकेमा २५ वर्ष झुल्नुपर्ने बताए।

उनले भने, ‘कांग्रेसलाई बहुमतको सरकार बनाउने जनमत स्थानीयदेखि केन्द्रसम्म दिनुस् देशको चौतर्फी विकास अवश्य हुन्छ ।’ एमाले अध्यक्ष ओलीप्रति संकेत गर्दै गिरीले मधेस जलिरहेको बेला एमाले नेताहरुको अभिव्यक्ति उत्तेजक र मनस्थिति भड्काउने  किसिमको भएको बताए।

‘मधेसमा अधिकारको आन्दोलन चलिरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनकारीलाई लक्ष्य गर्दै समथर भूभाग चाहिए बिहार र संविधान संशोधन चाहिए लखनउ गए हुन्छ, रुखबाट दुई/चार आँप झर्दैमा केही फरक नपर्ने  अभिव्यक्ति दिएर जनतालाई अपमान गरेका थिए’ गिरीले भने ‘यस्तो पार्टीबाट देश र जनता कसरी सुरक्षित हुन सक्छन्?’

गिरीले दसगजाको भूमिमा हिन्दूस्तान क्षेत्रबाट केही भयो भने मधेसी र उत्तरी सीमा चीनतिरबाट कुनै बितण्डा भयो भने हिमालीले खबरदारी गर्ने गरेको र देशका लागि रक्षाकवचको रुपमा रहेका मधेसीलाई दोस्रो दर्जाको नागरिक भन्नु उचित नहुने बताए। उनले दोधारे कुरा गरेर जनताले शान्तिको साटो सास्ती मात्र पाउने बताए। 

‘आर्थिक र आधुनिक दृष्टिले अगाडि बढिरहेका चीन र भारतसँग निहुँ खोजेर देशलाई फाइदा छैन। पाएको सहयोगलाई सदुपयोग गर्दै आफ्नो खुट्टामा उभिने प्रयास गर्नुपर्छ’, गिरीले भने ‘कहिले भारत त कहिले मधेसीलाई गाली गर्दै आफूलाई राष्ट्रवादी प्रदर्शित गर्ने ओली प्रवृत्ति देशका लागि राम्रो होइन।’ 

 गिरीको प्रश्न थियो, ‘आफ्नै देशका नागरिकमाथि जबरजस्ती शंका गर्नु, गिज्याउनु र बिहारी भन्नु कस्तो राष्ट्रवाद हो?'  ‘यस्तो दोधारे राष्ट्रवाद कांग्रेसामु चल्दैन। कांग्रेस हिमाली, पहाडी र मधेशी सबैलाई मिलाएर चल्न चाहन्छ।’

मधेसका क्षेत्रीय पार्टीलाई संकेत गर्दै गिरीले स्थापना दिवस पनि मनाउन नपाउँदै टुक्रा हुने पार्टी जनताको हितमा काम गर्छु भन्नु सपना मात्र हुने बताए। माओवादीले कांग्रेसको साथ र सहयोगविना कुनै काम गर्न नसक्ने ठोकुवा गर्दैै एमालेको शब्दजालको भ्रममा नपर्न मतदातालाई गिरीले आग्रह गरे। 

एमालेको विरोधले संविधान संशोधन नभएको स्पस्ट पार्दै गिरीले भने, ‘गुर (सख्खर) दिन नसक्नेले गुर जस्तो मिठो बोली बोल्नुपर्थ्यो । त्यो पनि नगरेर मधेसीको अपमान हुने गरी ओलीले उखान टुक्का मात्र राखिरहनुभयो यसले मधेसी जनताको ठूलो चित्त दुखाइ छ।’ 

कांग्रेसका मधेस भेगका नेताहरुले संसद्‍ले समेत आवाज उठाएको प्रसंग उठाउँदै गिरीले भने, ‘मैले पनि संसद् बहिष्कार गरें। मधेसको माग पूरा नभए यो संविधान नचल्न पनि सक्छ, भन्ने मेरो जिकिर थियो।’ गिरीले कांग्रेसले पूर्ण बहुमत पाएमा भाषा, संस्कृतिक र नागरिक तालगायतका सबै खाले माग कांग्रेसले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले माओवादीसँग चुनावी तालमेल भएको तर, सिरहा नगरपालिका कांग्रेसको भागमा परेको हुँदा पार्टीका उम्मेदवार डा.सुभाषचन्द्र यादवसहित सम्पूर्ण सदस्यदले निर्वाचन जित्ने दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.