|

झापाः झापाको दमक र मोरङको पथरी–शनिश्चरेमा बसोवास गर्ने भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्वास गर्न थालेयता धेरै समस्या आएको छ। परिवारका केही सदस्य शिविरमा र केही देस्रो मुलुक पुनर्वास हुँदा पारिवारिक बिछोडको पीडा देखिएको छ। परिवारका केही सदस्यहरू विभिन्न कारणले तेस्रो मुलुक पुनर्वासमा जान नपाउँदा धेरै पीडामा छन्।

यस्तै पीडाको सिकार बनकी छन् पथरी–शनिश्चरे शरणार्थी शिविर डी– १ छाप्रो नम्बर ५६ की २९ वर्षकी चन्द्रमाया ओली। बुबाआमासहित उनका १२ जना परिवार तेस्रो मुलुक पुनर्वासका क्रममा अमेरिका पुगेका छन्। परिवारका सम्पूर्ण सदस्य अमेरिका पुगेदेखि सन् २०१२ बाट उनी आफ्ना आठ वर्षका छोरा प्राचीनसँगै छाप्रोमा बस्न बाध्य छन्। उनले पनि तेस्रो मुलुक जाने प्रक्रिया नगरेकी भने होइनन्। दुई पटकसम्म प्रक्रिया गरिन् तर जान पाइनन्। यस्तो समस्यामा परेकी उनी मात्र होइनन्, उनी जस्ता धेरै छन्। तेस्रो मुलुक जान चाहे पनि विविध कारणले रोकिएका छन् उनीहरू।

यस कारण समस्या भयो चन्द्रमायालाई
०६८ सालमा उनले नजिकै रहेको लेटाङका प्रमिशकुमार धिमालसँग विवाह गरिन्। विवाह गरे पनि उनले शरणार्थी क्याम्प भने छाडेकी थिइनन्। आफूले विवाह गरेका कारण आफ्ना परिवारले पनि अमेरिका जान नपाउने भएपछि उनी प्रमाण जुटाउनतर्फ लागिन्। ‘त्यतिबेला मैले बाहिर विवाह गरेका कारण आमाबुबाले पनि तेस्रो मुलुक जान नपाउनु हुने भयो’, उनले भनिन्, ‘अनि मैले श्रीमानको तर्फबाट वैवाहिक अंगीकृत नागरिकता बनाएँ, त्यो प्रमाण पेस गरेपछि मेरो परिवारले जान पाउनुभयो।’

विवाह गरेको एक वर्षपछि एक छोरा जन्मिए। श्रीमानले उर्लाबारी बजारमा मजदूरी गर्ने गरेका थिए। विवाह भएको दुई वर्षपछि श्रीमान सधैँ जस्तो काम गर्न उर्लाबारी गएका र त्यहीँबाट नआएका उनी बताउँछिन्। ‘श्रीमान सधैँ जस्तै काम गर्न जानुभएको थियो तर फर्कनुभएन’, उनी भन्छिन्, ‘तीन वर्ष त तेस्रो मुलुक नगई उहाँलाई नै पर्खेर बसेँ तर आउनुभएन।’ त्यसपछि एक्लै भएपछि बुबाआमा भएको ठाउँमा जान प्रक्रिया मिलाउन थालेको उनी बताउँछिन्। तर उनको प्रक्रिया भने अंगीकृत नागरिकताकै कारण हुन सकेन। ‘नेपाली अंगीकृत नागरिकताका कारण म बाहिर जान पाइनँ, श्रीमान नै नभएपछि किन नागरिकता चाहियो? भनेर नागरिकता पनि त्यागेँ’, उनले भनिन्।

उनले त्यसपछि आफूसँग रहेको अंगीकृत नागरिकतासमेत जिल्ला प्रशासन कार्यालय मोरङ गएर त्यागेको बताइन्। तर अझै पनि आफूले तेस्रो मुलुक जान नपाएको उनले गुनासो गरिन्। ओलीले भक्कानिँदै भनिन्, ‘म अहिले परिवारिक बिछोडले डिप्रेसनमा पर्न लागिसकेँ, नागरिकता त्यागेर पनि प्रक्रिया गरेँ तर अहिलेसम्म भएको छैन।’ अमेरिकाको लागि प्रक्रिया गरे पनि अन्तिममा पुगेर संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्तले हुँदैन भनिदिएको उनी बताउँछिन्।

तर उनीसँग अहिले पनि शरणार्थीको सबै कागजपत्र छ। उनले शरणार्थीले पाउने सबै सुविधा पाएर शिविरमा बसोवास गर्दै आएकी छन्। तर उनले शरणार्थीले पाउने एउटै सुविधा पाउन सकेकी छैनन्, त्यो हो, तेस्रो मुलुक पुनर्वास। आफूसँग सबै कागजपत्र भए पनि तेस्रो मुलुक पुनर्वास नगरेको उनले बताइन्। उनले भनिन्, ‘अब त मेरो परिवारसँग पनि भेट्न पाउँदिन होला, अमेरिका गएर भेट्छु भनेको, त्यो पनि भएन।’

छोराको भविष्यको चिन्ता
उनका आठ वर्षका छोरा प्राचीन अहिले शरणार्थी शिविरकै एक विद्यालयमा कक्षा दुईमा अध्ययन गर्दै छन्। उनले अहिलेसम्म जसोतसो छोरालाई पढाउँदै आएकी छन्।

शिविर व्यवस्थापन समितिको कार्यालयमा स्वयंसेवकका रूपमा सामान्य जागिरमा काम गर्दै आएकी छन् उनी। ‘अहिलेसम्म दुःखले छोरो पढाइरहेकी छु, अब कसरी पढाउने चिन्ता छ’, उनी भन्छिन्, ‘छोराको आवश्यकतासम्म पूरा गर्न सकेकी छैन।’

दशैँ, तिहार जस्ता चाडपर्वमा आफूलाई झनै पीडा हुने गरेको ओली बताउँछिन्। ‘अरू बेला त जसोतसो गरेकै छु, तर चाडपर्वको बेला धेरै पीडा हुन्छ’, उनी भन्छिन्, ‘परिवारबाट छुट्टिएर चाडपर्व मनाउनु निकै खल्लो हुनेरहेछ।’

उनले आफ्नो जीविका जसोतसो चले पनि छोराको भविष्यको चिन्ता भएको उनी बताउँछिन्। ‘अहिले त सानै छ, अब पछिको भविष्य के हुने हो धेरै चिन्ता छ’, उनी भन्छिन्, ‘विभिन्न संघसंस्थाले पनि सुविधाहरू कटाउँदै छन्, स्कुलहरू पनि हटाउँदै छन्, अब कसरी छोरालाई पढाउने भन्ने चिन्ता बढेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.