|
तस्विरहरु : रासस

काठमाठौँ : पत्रकार मञ्जु कार्कीले निर्माण गरेको वृत्तचित्र ‘नेपाली महिला : संघर्ष र सफलता’ शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा सार्वजनिक गरिएको छ।

नेपाली महिलाको संघर्ष र सफलतालाई मुख्य रुपमा उल्लेख गरिएको वृत्तचित्रमा महिलाहरुले विश्वव्यापी रुपमा गरेका संघर्षलाई समेत समेटिएको छ।
वृत्तचित्रमा नेपाली महिलाहरुले प्राचीनकालदेखि गर्नुपरेको संघर्ष, त्यसयता पटक पटक अधिकारप्रातिका लागि लडेको  लडाइँ र वर्तमान प्राप्त हुँदै गरेका उपलब्धीहरुलाई सिलसिलावद्ध ढंगले समावेश गरेको छ।

अधिकारको लडाइँमै रहेका नेपाली महिलाहरुले वर्ष २०७२ मा राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख प्राप्त गरेको ऐतिहासिक घटनालाई आधार मानी तयार पारिएको वृत्तचित्रले नेपाली महिला आन्दोलनको विषय उजागर गरेको छ। ्

वृत्तचित्र हेरेपछि प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले नेपाली महिलाहरुले प्राप्त गरेको सफलताका लागि लामो संघर्ष गरेको बताइन्। उनले महिलाहरुको संघर्ष र सफलताका तथ्यहरु दृश्यसहित संग्रहित गरेर वृतचित्र निर्माण गर्नु उल्लेखनीय काम भएको धारणा राखिन्। 

उनले संसदको सदस्य भएर कानुन निर्माणका क्रममा आफूले व्यहोरोको अनुभव समेत सुनाएका थिए। नयाँ संविधानले नेपाली महिलाहरुको हक र अधिकार सुरक्षित गरेको भन्दै त्यसलाई कार्यान्वयन गराउन सबैको सहयोग आवश्यक हुने बताए।

कार्यक्रममा सभामुख ओनसरी घर्तीले नेपाली महिलाहरुले संविधान मार्फत प्राप्त गरेको अधिकारलाई व्यवहारमा लागू गराउन सबैको सहयोग आवश्यक हुने बताइन्। समानता र सहभागितामा महिलाहरुको अवस्थामा सुधार आएको भन्दै खुशी व्यक्त गरिन्। ‘हिजोका दिनमा पानी नचल्ने दलित महिलाहरु आज जनप्रतिनिधि हुनुभएको छ। उहाँहरु समाज र देशका लागि केही गर्ने सोचका साथ आफ्नो क्षेत्रमा क्रियाशील हुनुहुन्छ। यसले पनि नेपाली महिलाको संघर्षलाई सफलताको थप शिखरमा पुर्‍याउन खोजेको स्पष्ट हुन्छ’ उनले भनिन्।

लामो संघर्ष बलिदानीबाट महिलाहरुले आफ्ना हक अधिकार संविधानमै सुनिश्चित गर्न सफल भएको सभामुख घर्तीले बताइन्।

कार्यक्रममा निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले वृत्तचित्रमा धेरै राम्रो कुरा समेटिएको भन्दै इतिहासको रुपमा राज्यले रेकर्ड गर्नुपर्ने बताइन्। उनले नेपाली महिलाका महत्वपूर्ण इतिहासलाई दृश्यसहित कैद गरेर तयार पारिएको वृत्तचित्रले समग्र नेपाली महिलाको इतिहास र वर्तमानलाई दस्तावेजीकरण गरेको धारणा राखिन्। उनले मुलुकको सम्पत्तिको रुपमा रहने वृत्तचित्रले नेपाली महिलालाई उत्साह र प्रेरणा प्रदान गर्ने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.