|

कपिलवस्तु : आज भदौ ३० गते।  कपिलवस्तुबासीले २०६४ सालमा आजकै दिन भएको त्रासदीपूर्ण घटनाको फेरि स्मरण गरेका छन्। भदौ ३० गतेलाई कपिलवस्तुवासीले कालो दिनको रुपमा मनाउदै आएका थिए भने यो बर्ष स्मरण दिनको रुपमा मनाएका छन्। घटना भएको ११ बर्ष बित्दासमेत पीडितहरुले हालसम्म न्याय र क्षतिपुर्ति पाएका छैनन्। कपिलवस्तु घटनालाई सरकारले बेवास्ता गरेको पीडितहरु बताउँछन्।

२०६४ भदौ ३० गतेका दिन अज्ञात समूहको गोली प्रहारबाट कपिलवस्तुको कुदरवेटवाका तराई मधेस लोकतान्त्रिक पार्टीका स्थानीय नेता तथा समाजसेवी अब्दुल मोइद खानको मृत्युपछि चन्द्रौटा लगायतका क्षेत्रमा साम्प्रदायिक हिंसा भड्किएको थियो। हिंसा भड्किदा ५ हजार भन्दा बढी बिस्थापित भएका थिए। १४ जनाको हत्या, ७ सय बढी पसल, घर टहरा लुटपाट, आगजनी भएको थियो भने ३ सय बढी सवारी साधनमा आगजनी गरिएको थियो। करिब १ सातासम्म चलेको उक्त हिंसात्मक घटनामा ३ सय भन्दा बढी सवारी साधनका साथै साविकका १२ गाविसका ३ हजार बढी घरटहरा जलेर ध्वस्त भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ।

पीडितहरुले सरकारद्वारा गठित छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न र पीडितलाई न्याय दिन माग गरेका छन्।

पीडित युवक टीका कुँवरले राज्यले कपिलवस्तु घटना पीडितको मर्म तथा दुख ११ बर्षसम्म पनि नदेखेको बताए। घटना अनुसन्धान गर्न सरकारले पूर्व न्यायाधीश लोकेन्द्र मल्लिकको संयोजकत्वमा आयोग गठन गरेको थियो। आयोगले सवारी साधन बाहेक करिब ४ करोड बढीको क्षति भएको प्रतिवेदन सार्वजनिक गरेको थियो। प्रतिवेदनलाई आधार मान्दै साविकका ८ गाविसका ३ हजार बढी घटना पीडितले क्षतिपूर्ति माग गर्दै आएका छन्।

उक्त घटनाबाट पीडित संघर्ष समितिले ०६९ वैशाख ५ गते सर्वोच्च अदालतमा मल्लिक आयोगले सरकारलाई बुझाएको प्रतिवेदन बमोजिम कारवाही तथा क्षतिपूर्तिको माग सहित रिट दायर गरेको थियो। न्यायाधीश ताहिर अलि अन्सारीको एकल इजलासले उक्त रिटलाई अग्रस्थान दिई सुनुवाई तत्काल गर्न निर्देशन दिए पनि हालसम्म अन्तिम फैसला भएको छैन।

जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त हिंसामा १९ करोड बढीको क्षति भएको थियो। घटनापछिका हरेक वर्षको भदौ ३० गतेलाई पीडितहरुले कालो दिनको रुपमा स्मरण गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.