|

धनकुटा : धनकुटामा जारी सहिद भीमनारायण अन्तर्रा्ष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको १३ औं संस्करणमा बिर्तामोड युनाइटेड क्लब झापाले फाइनल यात्रा गरेको छ। ।

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शुक्रबार भएको  सेमिफाइनलमा बिर्तामोड युनाइटेडले  डिफेन्डिङ च्याम्पियन फ्यान्स क्लब बिआरसी भूटानलाई ४–० ले हरायो।  अब बिर्तामोडले शनिबार हुने फाइनलमा डिभाइन ब्वाइज युनियन क्लब काठमाडौसँग प्रतिस्पर्धा गर्नेछ। 

डिभाइन ब्वाइज युनियन क्लब काठमाडौ बिहीबार नै बेलबारी फुटबल क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ। निकै प्रतिस्पर्धात्मक रहेको शुक्रबारको दोस्रो सेमिफाइनल खेलको पहिलो हाफको २० औं मिनेटमा बिर्तामोड युनाइटेड झापाका थमिर विक्सन कन्दङ्वाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

त्यसपछि पहिलो हाफकै ३४ औं मिनेटमा झापाका योगेश गुरुङले व्यक्तिगत अग्रता दोब्बर पारे। दोस्रो हाफमा बिर्तामोडले थप दुई गोल गर्‍‍यो। ५६ औं मिनेटमा कर्ण लिम्बूले गोल गर्दै टिमको अग्रता ३–० मा पुर्‍‍याए।

खेल सकिनु १२ मिनेटअघि बुद्ध चेम्जोङले हेड गोल गरेपछि बिर्तामोड युनाइटेड ४–० ले अघि बढ्यो। दोस्रो हाफमा निकै दबाबमा परेको फ्यान्स क्लबले गोल गर्ने राम्रा अवसर नै सिर्जना गर्न सकेन।

विजेता बिर्तामोड युनाइटेड क्लब झापाका योगेश गुरुङ म्यान अफ द म्याच घोषित भए। उनलाई नगद पुरस्कार दुई हजार पाँच सय रुपैयाँ र मायाको चिनोले सल्भ नेपालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर प्रधानले पुरस्कृत गरे। 

शनिबार सम्पन्न हुने यस संस्करणको प्रतियोगितामा १ विदेशीसहित ६ टिम सहभागि थिए।  प्रतियोगिताको विजेताले गोल्डकपसहित नगद १ लाख रुपैयाँ र उपविजेताले नगद ५० हजार रुपैयाँ पाउने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए। 

नेपाली कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठको नाममा २०५५ सालमा स्थापित प्रतियोगिता २०६३ यता नियमित आयोजना हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.