|

बाँके : कुनै बेला एक अर्कालाई दुश्मनको रुपमा देख्ने बाँकेका द्वन्द्वपीडित अहिले भने एउटै परिवारका सदस्य जस्तै भएर अधिकार प्राप्तिका लागि संघर्ष गरिरहेका छन्। कहिल्यै मिल्न नसक्ने दुई ध्रुवजस्तै फरक–फरक दिशामा रहेका द्वन्द्वपीडितलाई अधिकारको लडाइँले एउटै परिवारमा गाँसेको हो।

माओवादी द्वन्द्व कालमा आमनेसामने भिडेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका परिवार तथा माओवादी लडाकु, अयोग्य माओवादी लडाकु, घाइते, तथा अपाङ्गता भएका द्वन्द्वपीडितहरु हाल एउटै परिवारका सदस्यजस्तो भएर अधिकार प्राप्तिका लागि मैदानमा रहेको द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल बाँकेका पूर्व अध्यक्ष शोभा विसीले बताइन्। उनले अधिकार प्राप्तिको लडाइँले आफूहरुलाई एउटै सूत्रमा बाँध्न मद्दत गरेको बताइन्।

पहिले सुरक्षाकर्मीका परिवार र माओवादी लडाकु, अयोग्य लडाकु र घाइते लडाकु वीच घुलमिल हुन धेरै गाह्रो भएको पूर्व अयोग्य लडाकु राप्ती–सोनारी गाउँपालिका–९ की चम्पा विकले बताइन्। उनले पहिलो पटक एउटै थलोमा बस्दा बोलचाल समेत नभएको बताइन्। ‘एकले अर्कोलाई दुश्मनको रुपमा हेर्ने गरिन्थ्यो, अहिले एउटै परिवारका सदस्य भएर बसेका छौँ,’ उनले भनिन्।

राज्य र माओवादीको तर्फबाट द्वन्द्वमा परेका पीडितहरुले तत्कालिन सुरक्षाकर्मी र माओवादी दोषी नभई राज्य दोषी भएको बुझेपछि एकअर्कालाई माया गर्न थालेका हुन्। अहिले उनीहरुबीचको सम्बन्ध छुट्न र टुट्न नमिल्ने गरी जोडिएको छ। ‘परिवारका सदस्यलाई दुख पर्दा पीर लागेजस्तै अहिले हामी दुवैतर्फका द्वन्द्वपीडितलाई लाग्न गरेको छ,’ माओवादी–सुरक्षाकर्मीको भिडन्तमा मारिएका सुरक्षाकर्मीका पत्नी जयन्ती केसीले भनिन्।

द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल बाँकेका सचिव समेत रहेकी केसीका अनुसार दुवै पक्षका द्वन्द्वपीडितको समस्या र माग एउटै भएकोले मिलेर आवाज उठाइरहेका छन्। उनले आफूहरुको माग राज्यले नसुनेको बताइन्। ‘राज्य र नेपाली जनताका लागि हाम्रा पतिहरुले ज्यान अर्पण गर्नुभयो, तर उहाँहरुले दिएको बलिदानीको कदर भएन, अधिकारको साटो हेयको दृष्टिले हेरिने गरिएको छ,’ उनले भनिन्।

.............

राजनीतिमा आफूहरुको पहुँच नभएकोले माग सम्बोधन नभएको द्वन्द्वपीडित तथा एकल महिलाले गुनासो गरेका छन्। माओवादीले गरेको १० वर्षे युद्धका क्रममा एउटै मोर्चामा रहेका नेताहरुले समेत अहिले कुरा नसुन्ने गरेको लडाइँका क्रममा घाइते भएकी पूर्व लडाकु बसन्ता रोकायाले बताइन्।

उनले नेताहरुलाई फोन गरेको बेला कुरा नसुन्ने र कुरा बंग्याएर अन्यत्र कुरा मोड्ने गरेको समेत गुनासो गरिन्। उनले अहिले कुरा नसुनिए अधिकारका लागि छोराछोरीले बन्दुक उठाउने निश्चित भएको बताइन्। ‘अहिले कुरा सुनिएन भने भोलि गएर छोराछोरीले बन्दुक उठाउने छन्, त्यतिवेलाको अवस्था झन भयावह हुने छ,’ उनले भनिन्।

दलित र महिलालाई राजनीतिक अधिकार दिए जस्तै द्वन्द्वपीडित तथा एकल महिलालाई पनि दिनुपर्ने द्वन्द्वपीडित तथा एकल महिला संजाल बाँकेका सह–सचिव बृन्दा खरेलले बताइन्। उनले एकल महिला र द्वन्द्वपीडित महिलाका लागि राज्यले विशेष नीति ल्याउन माग गरिन्। ‘राज्यले दलित र महिलाका लागि कोटा निर्धारण गरे जस्तै एकल महिला र द्वन्द्वपीडितका लागि विशेष कोटाको ब्यवस्था गर्नुपर्छ,’ उनले भनिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.