|

सोलुखुम्बु : निर्माणाधीन माथिल्लो सोलु हाइड्रोपावर कम्पनी र प्रभावित क्षेत्र साल्मेका स्थानीयबीच आंशिक सहमति भएको छ। जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सर्वपक्षीय बैठकमा स्थानीयले राखेका माग सम्बोधन गर्नेगरी द्विपक्षीय सहमति भएको छ।

सोलु दूधकुण्ड–७ साल्मेका प्रभावित १९ परिवारले राखेको ७ बुँदे मागबारे छलफल गरी निष्कर्ष स्वीकार्ने सहमतिका आधारमा प्रभावित क्षेत्रको वास्तविकता पहिचानका लागि उच्चस्तरीय प्राविधिक विज्ञ टोली तत्काल गठन गर्ने निर्णय गरिएको छ। यसअघि साल्मेका स्थानीयले माथिल्लो र तल्लो सोलु हाइड्रो पावर कम्पनीको कामले बस्ती पहिरोको जोखिममा परेको भन्दै पुनः स्थापनाको माग गर्दै आएका थिए। तर हाइड्रोले पुनः स्थापना गर्न नसक्ने भएपछि सहमतिका लागि प्रभावित क्षेत्रका स्थानीय लचक बनेका हुन्। सांसद् बलबहादुर केसी, मेयर नाम्गेल जाङबु शेर्पा, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा उपस्थित बैठकले प्रभावित समुदायले राखेको जीवन बिमाको मागलाई हाइड्रोको माथिल्लो निकायसम्म पुनर्व्याख्या गर्ने, प्रभावित परिवारका लागि २ करोड 'फ्री सेयर'बापत 'डिम्याट' खातामा जम्मा गर्नुपर्ने मागका सम्बन्धमा सम्बोधनका लागि हाइड्रोको बोर्ड बैठकमा पेश गर्ने र १५ दिनभित्र सकारात्मक निर्णय पेश गरि द्विपक्षीय सहमति गरिएको छ।

त्यस्तै, प्रभावित १९ परिवारमा एक घर एक रोजगारीको व्यवस्था मिलाउन हाईड्रो सहमत देखिएको छ। उनीहरुको क्षमताको आधारमा रोजगारी प्रदान गरिने सहमति गरिएको संघर्ष समितिका संयोजक राजकुमार प्रधानले जानकारी दिए।

हाइड्रोले नेपाल सरकारसंग प्रतिबद्धता गरेको सामाजिक उत्तरदायित्व भित्रका काम गर्न तत्काल शुरु गर्ने  काम समेत तोकिएको छ। साल्मेस्थित ऐतिहासिक पक्की पाटीको निर्माण गर्ने, प्रभावित साल्मे बस्ती सल्लेरी चयाल्साको विद्युत प्रसारण लाइन विस्तार गर्ने, साल्मे र गार्मा क्षेत्रमा पर्ने पुरानो बाटोमा आवश्यकता अनुसार क्रसिङ पुल निर्माण गर्ने सहमति गरिएको छ।

आयोजना अवधिभर सञ्चालनका लागि दक्ष स्वास्थ्यकर्मीको व्यवस्थासहित मेडिकल क्याम्प स्थापना गर्ने र साल्मे–गार्मा विद्यार्थी आवतजावतका लागि यातायातको व्यवस्था गर्नेगरी हाइड्रो र आन्दोलनरत पक्षबीच समहति भएको संघर्ष समितिका संयोजक प्रधानले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.