|

ठाकुरद्वारा (बर्दिया) :  साँझ ६ बज्न पाएको हुन्न बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाको मोवाइलमा घण्टी बज्न शुरु हुन्छ। यो क्रम हरेक रात चलिरहन्छ।

‘प्रहरीको नियन्त्रण कक्ष जस्तै हुन्छ', थापाले भने, 'दुई महिना भयो सुत्न पाएको छैन। एउटाको फोन नसकिदै अर्कोको आउँछ, ‘लौन सर हात्ती बस्तीमा पस्यो धपाउनुपर्‍यो।’

शुक्रबार राति ६ देखि १० बजेसम्म उनको मोबाइलमा बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मोतीपुर, लठुवा, पर्मला, सुन्दरबस्ती, बञ्जरिया र बकुवा बस्तीबाट हात्ती पस्यो धपाउनुपर्‍यो भन्दै  १२ भन्दा धेरै पटक फोन आयो।

बिहीबार १२:२३ बजे निकुञ्जकै सिनियर गेम स्काउट कलाधर गौतमले फोन गरेर हात्ती बस्तीमा पसेको जानकारी गराएर धपाउन गए। शिवपुरफाँटा संरक्षण समितिका अध्यक्ष अर्जुन ओलीले राती १:०८ बजे फोन गरे। ‘सर हामीले सकिएन, हात्तीले अटेर गर्‍यो।’ यताबाट प्रमुख संरक्षण अधिकृत थापाले जवाफ फर्काए, ‘होहल्ला गर्नु, टाढाबाट राँको बाल्नु अनि सुरक्षित बस्नुहोला, म टोली पठाउँला।’ फेरि १:०९ बजे सिनियर गेम स्काउट कलाधरकै फोन आयो, ‘सर अर्को बस्तीमा पनि हात्ती पसेको छ रे।’

फेरि १:३८ मिनेटमा अर्का गेम स्काउट मातृका वलीको फोन आयो, ‘सर गाउँमा हात्ती पस्यो, जानुपर्ने भो।’ यस्तै गर्दा गर्दै रात कट्यो। विहान मात्रै हात्ती जंगल फर्कियो। भदौको २८ गते बुधबार राति ठाकुरबाबा नगरपालिका- ६ को मोतीपुर, बकुवा, तुलसीपुर, वडा नम्बर २ को बलाँदी, वडा ७ को सुन्दर बस्तीमा हात्ती पस्यो।

एउटा गाउँबाट धपाउने बित्तिकै हात्तीहरु अर्को गाउँ पुग्ने समस्या दोहोरिरहेको बर्दिया राष्ट्रिय निकुञ्जका गेम स्काउट वीरेन्द्र अधिकारी बताउँछन्। त्यो दिन हात्तीले बस्ती नछाडेपछि सेनाले डाट गरेर जंगल पठाएको अधिकारीको भनाइ छ। प्रत्यक्ष देखिएको यो तीनदिन न त स्थानीयले सुत्न पाए, न त निकुञ्ज कर्मचारी र शिवदल गणका सेनाहरु नै सुते। हात्तीका कारण गएको साउनदेखि यसरी जाग्राम बस्नुपरेको निकुञ्जका प्रमुख रमेश थापाले बताए।

नेपालमा संरक्षित क्षेत्रमध्ये सबैभन्दा बढी जंगली हात्ती बर्दियामा करिव १०० हाराहारी छ। यहाँ भएका हात्तीमध्ये समस्याग्रस्त र बस्ती पस्ने करिब एक दर्जन रहेको निकुञ्जले जनाएको छ। गतवर्ष हात्तीको आक्रमणबाट पाँच जनाले ज्यान गुमाएको र सयौं विगाहाबाली नष्ट गरेको प्रमुख थापा बताउँछन्। बाली नष्ट गर्ने क्रम बढ्दो छ। मुख्यगरी बाली पाक्ने बेलामा बढी हात्ती आउँछन्। २/३ बर्षबाट भने हात्ती बस्तीमा आउने क्रम बढेको छ।

यो आर्थिक बर्ष लागेपछि मानवीय क्षति नभए पनि स्थानीयहरुलाई रातभर सुत्न दिएको छैन। मुख्यगरी निकुञ्जको पश्चिम सिमाना भएर बग्ने गेरुवा नदी (कर्णालीको पूर्वी भंगालो) को तटीय क्षेत्रका बस्तीमा बढी हात्ती पस्दै आएका छन्।

निकुञ्जका सम्पूर्ण शक्ति लगाएर शुरु भएको हात्ती नियन्त्रणका प्रयास सफल हुन सकेको छैन। यो बर्ष मात्रै वन्यजन्तु बस्तीमा जान नदिनका लागि २ करोड रुपैयाँको कार्यक्रम आएको छ। निकुञ्ज सिमानामा विद्युतीय तारबार लगाउने, टचलाईट वितरण गर्ने, कंक्रिट पर्खाल लगाउने काम भइसकेको छ।

तर हात्तीले रुखै भाँचेर तारबार भत्काउने र बस्ती छिर्ने गरेको कर्णाली जंगल क्याम्पका व्यवस्थापक  तथा नेचर गाईड जगत रिजाल बताउँछन्। हात्ती बस्तीमा आउन छाड्योभने केही स्थानीयहरुले तार काटेर लाने समस्या पनि छ।

निकुञ्ज आसपासका स्थानीयहरु हात्ती धपाउन निकुञ्जका अधिकारीहरु सँगसँगै हिँड्छन्। ‘स्थानीयको सहयोग ठूलो छ, गाउँका हरेक घरका मान्छे आउँछन्, हात्ती धपाउँछन्, पालैपालो राती सडकमै सुत्छन्’ प्रमुख संरक्षण अधिकृत थापा सुनाउँछन्।

स्थानीयसँग ठूलो आक्रोश भए पनि अभिव्यक्त गर्न सक्दैनन्। निकुञ्जले प्रयास गरेको हो, नसकेर हो भन्ने स्थानीयलाई अनुभूति भएको थापा बताउँछन्। राति बस्ती छिरेको हात्ती लखेट्न निकुञ्जका ३० कर्मचारी, डाटगन सहित शिवदल गणका ५० जना सेना, बस्तीका हरेक घरका स्थानीयहरु सहभागी हुन्छन्। आठ वटा गाडी प्रयोग हुन्छ।

यहाँको वन्यजन्तु चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्य हात्तीले बेस्सरी दुख दिएको बताउँछन्। धान पाक्न लागेकाले झन् बढ्ने अनुमान उनको छ।  मध्यवर्ती क्षेत्रको पाताभार र आम्बासमा जनता सुत्नै पाएका छैनन्।

‘गतबर्ष हात्तीले मार्दा निकुञ्जलाई घेर्न पनि गए स्थानीयहरु', आचार्यले भने, 'पछिल्लो समयमा निकुञ्जले लठ्याउने औषधी सहित सेनालाई पठाएर हात्ती नियन्त्रणमा धेरै प्रयास गरिरहेकाले पनि आक्रोश कम भएको हो।’ लालपूर्जा नभएकाले राहत नपाउने नीति भएकाले धेरै सुकुम्बासी बस्ती पर्ने हुँदा राहत नपाएपछि भने मानिस बढी आक्रोशित हुने उनी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.