खसी बोकाको मूल्यमा प्रतिकिलो २ सयदेखि ३ सयसम्म वृद्धि

|

सिन्धुपाल्चोक : तातोपानी नाका बन्द हुँदा तिब्बतबाट भेडाच्याङ्ग्रा नभित्रिएको कारण खसीको मूल्य बढेपछि उपभोक्ता मारमा परेका छन्। वर्षदिनको सबैभन्दा ठूलो चाड दसैंमा धेरै मासुजन्य पशुपन्छीको व्यापार हुने भएकाले खसीबोकको मूल्यमा वृद्धि भएको हो।

उपभोक्ताहरु महँगोमा खसीबोका, राँगो, कुखुरा लगायतका मासुजन्य पशुपन्छी खरिद गरेर भए पनि दसैंलाई हर्षोल्लासमय बनाउने तयारीमा लागेका छन्। तातोपानी नाका सञ्चालनमा आउँदा व्यापारीहरुले तिब्बतबाट यसबेला सम्ममा सिन्धुपाल्चोक र काठमाडौं भक्तपुर र ललितपुर लगाएको जिल्लाहरुमा समेत भेडाच्याङ्ग्राको खपत गरिसकेका हुन्थे।

‘गाउँघरमा पालिएका खसी बोकाको मूल्यमा गत वर्षको तुलनामा प्रतिकिलो २ सय देखि  ३ सयसम्म वृद्धि भएको छ’ जुगल गाउँपालिकाकी दुर्गा सिलवालले भनिन्, ‘यस वर्षको दसैं महँगो बन्ने भएको छ। नाका हुँदै आउने भेडाच्याङ्ग्रा यो वर्ष पनि पर्याप्त नआएपछि भेडाच्याङ्ग्रा खरिद गर्ने योजनामा रहेका उपभोक्तासमेत खसी खोज्न गाउँ पसेका छन्। जसले गर्दा अष्टमीको दिनसम्म खसीको भाउ अझै बढ्छ।’ 

नाकाबाट भित्रिने भेडाच्याङ्ग्रा राजधानीसम्म पुग्ने गरेकामा यो वर्ष जिल्लामा एउटा पनि भेडाच्याङ्ग्रा भित्रिएका छैनन्। केही वर्षयता जिल्ला सदरमुकाम चौताराको टुँडिखेलमा यस बेला भेडा भेडाच्याङ्ग्रा बिक्रीमा राखिएको देख्न सकिथ्यो। अति न्यून संख्यामा भेडाच्याङ्ग्रा नेपाल भित्रिएपछि खसीको माग बढेको हो। भेडाच्याङ्ग्रा अभाव भएपछि गत वर्षको तुलनामा खसीबोका यस वर्षभारि महँगो भएको छ।

यसअघि, हिमाली क्षेत्रमा जताततै भेंडाच्याङ्ग्राका बथानै बथान देखिन्थ्यो पछिल्ला समयमा कमै मात्रमा भेंडाच्याङ्ग्राका बथान देखिन थालेको छ। भेंडाच्याङ्ग्रापालन व्यवसाय पश्चिम नेपालमा गुरुङ जातिको पुख्र्यौैैली व्यवसाय हो। जिल्लाको तामाङ, शेर्पा जस्ता हिमाली क्षेत्रका वासिन्दाहरुको व्यवसायको रुपमा चिनिन्छ।

विगतमा जिल्लाको हगाम, गोल्चे, भोताङ, थाङपालकोट, भोटेनाम्लाङ, लिस्ती, कर्थली, घोर्थली लगायत दर्जनौं गासिका वासिन्दाहरुले लाखौंको संख्यामा भेंडाच्याङग्रा पाल्ले गरेका थिए।

किसानहरुले पहिले एउटै गोठमा ठूलो संख्यामा भेंडाच्याङ्ग्राको पालन गर्ने गरेका थिए। हिउँदको समयमा पाखा नै सेताम्य हुनेगरी बारी मल्न निकै तलको बस्तीसम्म आइपुग्थ्यो। छोटो समयमा नै त्यस्ता दिन इतिहाँस बन्दै गएको छ। विशेष गरी हिमाली क्षेत्रमा मासु अनि राडी, बख्खुका लागि आवश्यक ऊन उत्पादनका लागि भेंडाच्याङग्रा पालन व्यवसाय संचालन गर्दै आएको पाईन्छ।

नेपाली बजारका लागि आवश्यक मासुको आपुर्ति पर्याप्त हुन नसक्नुका साथै ऊन समेत कमै उत्पादन भएकाले यो व्यवसाय उपलब्धिमुलक बन्न नसकेको स्थानीय वासिन्दाहरु बताउछन्। जसले गर्दा, यो व्यवसाय छाडेर अन्यत्र पलायन हुने क्रम बढ्दो छ। दसैं तिहारका लागि चाहिने भेडाच्याङ्ग्रा महँगो भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.