|

दमक : पूर्वाञ्चलमै पहिलोपटक झापाको दमकमा निर्माण भएको फोहारमैला प्रशोधन केन्द्र निर्माण भएको एक वर्ष पूरा हुँदासमेत सञ्चालनमा आउन सकेको छैन। दमकको बजारी क्षेत्रबाटबाट निक्लने फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न निर्माण गरिएको प्रशोधन केन्द्र निर्माण भएको एक वर्षसम्म पनि सञ्चालनमा आउन नसकेको हो।

फोहोरमैलाको उचित व्यवस्थापन गर्नकालागि सञ्चालनमा ल्याइएको प्रशोधन केन्द्र सञ्चालनमा नआउँदा नगरपालिकाबाट उत्पादन हुने दैनिक १५ टन फोहोर दमक-२ स्थित रतुवा खोलाको बगरमा फालिने गरेको छ। यसरी खोला बगरमा फोहोर फालिँदा समस्या भएको स्थानीयले बताउँने गरेका छन्। 

नगरपालिकाले सुरक्षित रुपमा फोहोर फाल्ने गरेको बताएपनि खोलामा लगेर फाल्ने गरेको दमकस्थित बेल्डाँगीका राम तामाङले बताए। उनले भने,‘ नगरपालिकाले चाहिँ दुर्गन्धित छैन हामीले ब्यवस्थित गरेबा छौँ भन्ने गर्छ तर फोहोर खोलामा फाल्ने गरेको छ।’

नजिकै प्रशोधन केन्द्र बनाएपनि उपयोगमा नआउँदा स्थानीय क्षेत्रमा दुर्गन्ध फैलिएको उनले बताए। उनले भने,‘ प्रशोधन केन्द्र बनाएको भन्छन्, तर अहिले सम्म पनि प्रयोगमा ल्याउँदैनन्, यसले गर्दा दुर्गन्ध फैलिएको छ, खोला अलिक ठूलो भयो भने खोलाले बगाएर सबै फोहोरहरु तल बस्तीमा ल्याउँछन्।’

उनले प्रशोधन केन्द्र हात्तीको देखाउँने दाँत जस्तो मात्र बनेको बताए। उनले भने,‘ प्रशोधन केन्द्र बनेको छ, यहाँबाट काम नलाग्ने फोहोरको मल बनाउँने लाग्नेलाई प्रशोधन गरेर पुनः प्रयोग गरिने भनिएको छ, तर यो त हात्तीको देखाउँने दाँत जस्तो मात्र भएको छ।’

प्रशोधन केन्द्र सञ्चालन नहुँदा समस्या

दमकको दीर्घकालीन फोहोरमैला ब्यवस्थापनका लागि अढाई वर्षअघि पाथ वे नेपाल प्रालि जेभीले जिम्मा लिएको थियो। उक्त प्रशोदन केन्द्र स्थापना नहुँदा दमकको फोहोर ब्यवस्थापनमा चुनौती भएको प्रलिका अध्यक्ष सुवास बस्नेतले बताए।

उनले भने,‘ हामीलाई संझौता भएको ६ महिनामा रिसर्च रिकभरी सेन्टर सम्पन्न गरेर दिने भनेको थियो तर यतिका वर्ष भइसक्यो, अहिलेसम्म पनि सम्पन्न भएको छैन।’ उनले प्रशोधन केन्द्र सञ्चालनमा नआउँदा फोहोर ब्यवस्थापनमा खर्च धेरै बढेको बताए। उनले भने,‘ फोहोर पुर्नकालागि एउटा जेसिभी सधैं त्यहिँ राख्नुपर्ने अवस्था छ, त्यसैले प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याउनुपर्छ।’

के भन्छ नगरपालिका?

दमक नगरपालिकाले भने फोहोरमैला प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ। अहिले पनि प्रशोधन केन्द्र सञ्चालनमा नआए पनि व्यवस्थित रुपमानै फोहोरमैला ब्यवस्थापन गरिरहेको दमक नगरपालिकाकी उपप्रमुख तथा नगरपालिकाकी प्रवक्ता गीता अधिकारीले बताइन्।

उनले भनिन्,‘ अहिले पनि हामीले ब्यस्थित रुपमानै फोहोरको ब्यवस्थापन गरिरहेका छौँ दैनिक रुपमा फोहोर डडाउँने गरेका छौँ, प्रशोधन केन्द्र नजिकै लग्ने नगरेका छौँ।’ उनले दमकको फोहोर ब्यवस्थापनका लागि अहिलेको भन्दा ठूलो मेसिन ल्याउँने तयारी भईरहेको बताइन्। उनले भनिन्,

‘दमकको फोहोर उत्पादनको भार थेग्नका लागि यो मेसिन अलिक सानो हुने रहेछ, प्रविधिक कारण सञ्चालनमा पनि आएको छैन, अब ठूलो मेसिन सञ्चालनमा ल्याउने तायारी भईरहेको छ, हामी छलफल गरिरहेका छौँ।’

नगरपालिकाबाट दैनिक १५ टन फोहोर

दमक नगरपालिकाको बजारी क्षेत्रबाट उत्पादन हुने दैनिक १५ टन फोहोर ब्यवस्थापनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रबाट आर्थिक वर्ष ०७१÷०७२ र ०७२÷०७३ मा १ करोड ३० लाख रुपयाँ बजेट बिनियोजन भएको दमक नगरपालिकाका वतावरण प्रमुख द्रोण थापाले बताए। उनले गत वर्षनै भौतिक संरचना निर्माणको काम सकिएको भएपनि बिभिन्न कारणले सञ्चालन गर्न नसकिएको बताए। 

दमक २ स्थित हाम्सेदुम्से सामुदायिक वन क्षेत्रको ३ विगाह क्षेत्रफलमा फोहोर मैला प्रशोधनका लागि उक्त प्रशोधन केन्द्रमा अहिलेसम्म बार, फोहोरमैला व्यवस्थापनका लागि ३ कोठे पक्कि कार्यालय भवन, विद्युत लाइन बिस्तार लगायतका कार्य सम्पन्न भएको थापाले बताए। उक्त फोहोरमैला प्रशोधन केन्द्र स्थापना हुने हो भने उत्पादन फोहोरबाट जैविक फोहोरबाट कम्पोष्ट मल उत्पादन गर्ने नगरपालिकाको लक्ष छ।

 यस्तै  अजैविक फोहोरबाट पुनः प्रयोगमा आउनेलाई पुनः प्रशोधन गरि पुनः प्रयोग गर्ने लक्ष रहेको थापाले बताए। उनले मेसिन जडान गर्ने प्राविधिक अभावमा प्रशोधन केन्द्र स्थापना गर्न नसकिएको बताए।

उनले भने,‘ हामीले गत वर्ष देखिनै प्रशोधन केन्द्र सञ्चालन गर्ने भनेको तर ल्याएको प्रविधि जडान गर्ने प्राविधिक नभएका कारण जडान गर्न नसकिएको हो, जडान गर्ने प्रविधिक भारतबाट ल्याउँनु पर्छ रे, त्यसका लागि हामीले फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रमा निरन्तर दवाब दिईरहेका छौँ।’ उनले दसैँ तिहार पछि सञ्चालनमा आउँने प्रतिबद्धता जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.