|

काठमाडौं : गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष भवन भट्टले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको २०१७-१९ कार्यकालका लागि आफूले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

गैर आवासीय नेपाली संघ जापानको स्थापनाकालदेखि आफू सक्रिय रहेको र राष्ट्रिय समन्वय परिषदको अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष भएर काम गरेकाले आफू अध्यक्षका लागि योग्य रहेको भट्टले दावी गरेका छन्। 'संस्थाको जिम्मेवारीमा स्वभाविक रुपमा खुट्किला उक्लिदै अगाडि बढेको अनुभव र यो अभियानमा आफ्नो तर्फबाट सक्दो योगदान गरिरहेको अवस्थामा अझ बढी जिम्मेदवारी सम्हाल्न मलाइ सबैको सहयोग रहने विश्वास गरेको छु' भट्टले भनेका छन्।

भट्टले गैर आवासीय नेपाली संघले अहिलेसम्म गरेका निर्णय र पूरा हुन बाँकी रहेका कामलाई आफूले निरन्तरता दिने बताएका छन्। लाप्राक नमुना वस्ती, एनआरएन भवन निर्माण, भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोन्ड, सामुहिक लगानीका परियोजना निर्माण, वैदेशिक रोजगार कोषको विस्तार लगायतका कामलाई निरन्तरता दिने उनले बताएका छन्।

त्यस्तै आफ्नो कार्यकालमा वैदेशिक रोजगारी आपतकालिन कोषलाई सदुपयोग गरी गैर आवासीय नेपाली संघमा आवद्ध नेपालीहरुको विमा गर्ने, महिला फोरमलाई सशक्त बनाइने, स्टार्टअप फण्डको व्यवस्था गर्ने लगायतका योजना पनि उनले सार्वजनिक गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.