|

लहान  : स्थानीय तह तेस्रो चरण अन्तर्गत २ नम्बर प्रदेशका ८ जिल्लामा मतदानको ३६ घण्टा बाँकी रहेका बेला सप्तरीमा एक उम्मेदवारको मृत्यु भएको छ। 
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट राजविराज नगरपालिका वडा नं. १५ देउरी भरुवाको वडाध्यक्षमा उम्मेदवारी दिएका करिब ६५ वर्षीय महन्थी यादवको शनिबार दिउँसो मृत्यु भएको हो।

पछिल्लो पाँच वर्षदेखि रक्त क्यान्सरबाट पीडित यादवको शनिबार दिउँसो देउरी भरुवास्थित आफ्नै घरमा निधन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए।

वडाध्यक्ष पदका उम्मेदवार यादव संविधान संशोधनको मागसहित राजपा आन्दोलनमा रहेकै बेला केही महिना पहिले पार्टी प्रवेश गरेका थिए। २०५४ सालको स्थानीय निर्वाचनमा यादव नेकपा एमालेको तर्फबाट तत्कालीन देउरी भरुवा गाविसको अध्यक्षमा निर्वाचित भएका थिए। 

यादवको धार्मिक संस्कार अनुसार आइतबार अन्त्येष्ठी गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ। उम्मेदवारको निधनपछि ‘देउरी भरुवा मतदान केन्द्रको मतदान के हुने?’ भन्ने विषयमा राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले केही बताएको छैन।

आगामी असोज २ गते हुने निर्वाचनमा सप्तरीका दुई सय ९५ मतदानस्थलमा चार सय ६२ मतदान केन्द्र कायम गरिएको छ। यो पल्ट जिल्लाभर तीन लाख ३१ हजार छ सय ७९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.