|

काठमाडौं : मलेसियामा सम्पन्न एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ। क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपाली समयअनुसार आइतबार बिहान सम्पन्न खेलमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।

हङकङले पेस गरेको ७७ रनको लक्ष्य नेपालले १४ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो। १५औं ओभरमा १ चौका र २ छक्का प्रहार गर्दै प्रनित थापाले नेपालको जित सुनिश्चित गरे। २१ बल खेलेर अविजित १९ रन बनाएका प्रनितका अलावा कप्तान दीपेन्द्र ऐरीले २२, सन्दीप सुनारले १९, अनिल शाहले १६ र आशिफ शेखले १ रन जोडे।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ ३२ ओभर १ बलमा ७६ रनमा समेटिएको थियो। उसलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछाने र शहाब आलमले समान ३ तथा अनिल शाह र दीपेन्द्र ऐरीले १-१ विकेट लिए। बाँकी २ ब्याट्सम्यान रन आउट भए।

यससँगै नेपालले यू-१९ एसिया कपमा सहभागिता पक्का गरेको छ। सो प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंकासहित टेस्ट मान्यता प्राप्त एसियाली राष्ट्रका युवा टोलीहरु सहभागी हुनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.