|

बाँके : नेपालगञ्ज विमानस्थलको ४ किल्लाभित्र निषेधित क्षेत्र घोषणा गरिएको छ। विमानस्थलको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी नेपालगञ्ज विमानस्थलले निषेधित क्षेत्र घोषणा गरेको हो। निषेधित क्षेत्र  घोषणा असोज १ गतेदेखि लागू हुनेछ।

शनिबार विमानस्थलमा पत्रकार सम्मेलनमा नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख प्रतापबाबु तिवारीले विमानस्थल अत्यन्त संवेदनशील क्षेत्र भएकोले ४ किल्ला वरपर निषेधित क्षेत्र घोषणा गरिएको बताए। उनले विमानस्थलमा गैरकानुनी हस्तक्षेप हुन नदिन निषेधित क्षेत्र तोकिएको दाबी गरे।

उनले विमान उडान/अवतरण हुने क्षेत्र, रन वे, ट्याक्सी वे र सोसँग जोडिएका तारबार, पर्खाल, भवन, टहरा, जहाज पार्किङ, टर्मिनल भवन, कन्ट्रोल टावर तथा ह्याङ्गर क्षेत्र र वरपरका सडकलाई निषेधित क्षेत्र तोकिएको जानकारी दिए। तिवारीका अनुसार विमानस्थल बाहिर जडान भएका वा निर्माण भएका हवाई परिवहन भवन, आवश्यक यन्त्र, उपकरण, भवन, टहरा तथा अग्नि नियन्त्रण र जिवनोद्दारलाई समेत निषेधित क्षेत्र तोकिएको छ। उनले भने, ‘गेटबाटै अनावश्यक यात्रुको आवागमनमा रोक लगाउँछौं।’

एकसाथ धेरै जना जान नपाइने

नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा एकै साथ धेरैजनालाई प्रवेश गर्न निषेध गरेको छ। निषेधित क्षेत्र घोषणाले राजनीतिक दलका नेता वा अन्य विशिष्ट व्यक्तिको स्वागतका लागि ठूलो संख्यामा विमानस्थल परिसरमा जाने परिपाटीको अन्त्य हुने भएको छ। ‘एकै साथ धेरै आउने क्रमलाई निषेधित क्षेत्र घोषणाले केही हदसम्म कम गर्ने छ,’ तिवारीले भने।

मित व्यक्तिलाई मात्र प्रवेश अनुमति

भीआईपी र भीभीआईपी आवागमनका क्रममा सीमित व्यक्तिलाई मात्र विमानस्थल प्रवेश गर्न दिने व्यवस्था मिलाइएको छ। राजनीतिक दलका प्रमुख आउँदा सम्बन्धित राजनीतिक दलको तर्फबाट सिफारिस गरिएका बढीमा १० जना तथा केन्द्रीय पदाधिकारी आउँदा/जाँदा बढीमा ५ जनालाई मात्र भीआईपी कक्ष प्रवेशको पास दिइने व्यवस्था मिलाइएको प्रमुख तिवारीले बताए।

सरकारी कार्यालय, सार्वजनिक संघ/संस्था लगायतले गर्ने कार्यक्रममा विभागीय मन्त्री तथा विशिष्ट पदाधिकारी आउँदा सम्बन्धित कार्यालयका ३ र आयोजक तर्फबाट २ गरी ५ जनालाई मात्र प्रवेश गर्न दिइने भएको छ। प्रवेश गर्दा प्रवेश पास लिने र फर्किदा सुरक्षाकर्मीलाई बुझाउनुपर्ने नियम नागरिक उड्डयन कार्यालयले बनाएको छ।

भीभीआईपीले मात्र पत्रकार सम्मेलन गर्न पाउने

अबदेखि जोसुकैले पनि विमानस्थल परिसरमा पत्रकार सम्मेलन गर्न नपाउने भएको छ। नागरिक उड्डयन कार्यालयका प्रमुख तिवारीको अनुसार विमानस्थलमा भीआईपी र भीभीआईपीको पत्रकार भेटघाटमा रोक लगाइएको छ।

उपयुक्त स्थान तयार नहुँदासम्म सम्बन्धित पार्टी वा आयोजकले विमानस्थल बाहिर पत्रकार भेटघाट गर्नुपर्ने व्यवस्था गरिएको छ। भीभीआईपीको हकमा व्यस्तताका कारण भीआईपी कक्षमै पत्रकार भेटघाट गर्नुपर्ने अवस्था आएमा व्यवस्थित तबरले पत्रकारहरुको सुरक्षा जाँच गरी प्रवेश व्यवस्था गर्न सकिने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.