|

दमक : मोरङको उर्लाबारीका एक व्यवसायीलाई ५० लाख चन्दा मागेको आरोपमा प्रहरीले एक व्यवसायीसहित दमकका दुई जनालाई नियन्त्रणमा लिएको छ। उर्लाबारीका दुई जनलाई धम्कीपूर्ण ढंगबाट स्वतन्त्र लिम्बुवान नामक भूमिगत संगठनको नामबाट ५० लाख रुपैयाँ चन्दा मागेको भन्दै दमकका होण्डा सोरुम सञ्चालक जीवन न्यौपाने र दमकका अर्का दिलबहादुर कुरुङबाङलाई अनुसन्धानका लागि भन्दै एक नम्बर प्रदेश प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय उर्लाबारीको सहयोगमा नियन्त्रणमा लिएको हो।

उनीहरुले उर्लाबारीकै व्यवसायी होण्डा सोरुम सञ्चालक मिलन गौतमलाई  ४ भदौमा स्वतन्त्र लिम्बुवान नामक पार्टीको आन्दोलनलाई सहयोग गर्न ५० लाख चन्दा मागेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो।

स्वतन्त्र लिम्बुवान नामक पार्टीका प्याडबाट पठाइएको पत्रमा सात दिनभित्र उक्त रकम बुझाउन भन्दै धम्कीपूर्ण ढंगबाट चन्दा मागेको उल्लेख छ। पार्टी अध्यक्ष खाम्बोङसाको हस्ताक्षर भएको उक्त पत्रमा सात दिन भित्र रकम बुझाउँन र नबुझाई प्रहरी प्रशासनसमक्ष जाने प्रयास गरेमा पार्टीको नियमबामोजि कारबाही गरिने उल्लेख छ।

पक्राउ परेका न्यौपाने र कुरुङबाङलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी अरुण कुमार बिसीले बताए।

उनले भने, ‘हामीलाई ५० लाख चन्दा माग भयो भनेर निवेदन आएको थियो, त्यसपछि हामीले निवेदनका आधारमा अनुसन्धान अघि बढायौं।’ सोही क्रममा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिरहेको उनले बताए। पक्राउ परेका दुबै जनालाइ जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको बिसीले जानकारी दिए।

यस्तै, पत्र दमकका विभिन्न मोटरसाइकल सोरुममा पनि आएको पाईएको छ। दमक स्थित न्यु संगम इन्टरप्राईजेजमा पनि करिब एक महिना अघि यस्तै, पत्र आएको थियो। उक्त पत्रमा पचास लाखको माग गरिएकाले पत्र प्रति कुनै चासो नदिएको सञ्चालक विमल शर्माले बताए।

उनले भने, ‘समान्य चन्दाका पत्र त आइनै राख्थे, त्यो धेरै भएकाले मैले खासै चासो राखिनँ कहाँबाट आएको हो भन्नेसम्म पनि चासो राखिनँ तर अहिले यो विषय चर्चामा आएपछि म झसंग भएँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.