एक दिनमै २ वटा पुलको शिलान्यास, अझै विश्वस्त छैनन् स्थानीय

|

उदयपुर : प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उदयपुरमा हेलिकोप्टर चढेर दुईवटा पुलको तामझामका साथ शिलान्यास गरे। उदयपुरसँगै जोडिएको खोटाङ र भोजपुरको बीचमा पर्ने सुनकोसी नदीमा पुलको शिलान्यास गरेका थिए।

उदयपुरसँग जोडिएको खोटाङ र भोजपुरका विकट गाउँलाई सहरसम्म जोड्ने पक्की पुल बन्ने कथा भने नयाँ होइन। ‘०५६ सालदेखि पुल बन्ने हल्ला थियो,’ भोजपुर आमचोक गाँउपालिका कौशिका कार्कीले भनिन्, ‘पोहोरबाटै काम सुरु हुने भयो भन्ने पनि हल्ला आएको थियो, अहिले पो शिलान्यास हुँदै छ।’

उदयपुरको चौदण्डीगढी नगरपालिका १ मा पर्ने रानिटार र भोजपुरको आमचोक गाउँपालिको शत्रु सुनकोसी नदी हो। त्यही शत्रुलाई हराउनको लागि बन्ने पुलको शिलान्यास हेर्न भोजपुरका साविकका १४ वटा गाविसका अर्थात् आमचोक गापाका सर्वसाधारण रानीटार आएका थिए। दुवैतिर सडक सञ्जाल जोेडिए पनि सुनकोसी नदीमा पुल नहुँदा पाउने दुःख हट्ने कार्यक्रममा जम्मा भएका सर्वसाधारण आशा व्यक्त गर्थे, ‘पोहोरबाटै निर्माण कार्य सुरु हुनपर्ने पुल अहिले शिलान्यास हुन्छ, दुई वर्षमा कसरी बन्छ पुल?

शिलान्यासको लागि प्रधानमन्त्री देउवाले पूजापाठ गर्दै गरेको हेरेका साधारणले देउवाकै कुरा काट्न भ्याए। ‘अहिले ब्राह्मण पढाएर शिलान्यास गरिएको छ,’ एक सहभागीले भने, ‘नेपाली कांग्रेसले भोट माग्नको लागि देउवाले अहिले शिलन्यास गरेका हुन रे?’

उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टारबाट रानीटार भोजपुर जोड्ने सडकको ट्रायाक खोलिएको धेरै वर्ष भइसकेको छ। वर्खायमा बन्द हुने भएपनि हिउँमा नियमित रुपमा सावारी साधन चल्छन। वर्खायमा बन्द हुने र हिउँमा चल्ने सडकलाई मर्मत सम्भार गर्ने र सुनकोसीमा पुल बनाउने दुवै जिल्लाका नेताहरुले चुनावको वेला नारा लगाइरहन्छ।

उदयपुरतर्फ नेपाली कांग्रेसका नेता तथा पूर्वसहरी विकास मन्त्री डाक्टर नारायण खड्का र पारी भोजपुर नेकपा एमालेका नेता तथा पुर्व सञ्चारमन्त्री शेरधन राईको निर्वाचन क्षेत्र पर्दछ। दुवैपट्टि पूर्वमन्त्री रहेको क्षेत्रमा ०७३ असार ३० गते ठेक्का लागेको पुलको शिलान्यास एक वर्षपछि शनिबार हुँदा सर्वसाधारण तीन छक्क परेका हुन्।

देउवाले यसरी गरे एकै दिनमा दुई पुलको शिलान्यास

नेपाली सेनाको हेलिकोप्टरबाट आएका प्रधामन्त्री देउवाले उदयपुर र भोजपुरको बीचमा पर्ने रानीटार पहिलो शिलन्यस गरेका थिए। शिन्यासपछि हेलिकप्टरबाटै खोटाङ उदयपुरको सिमानामा पर्ने सुनकोसीकै किनार धाम्लाङमा अर्को पुलको शिलान्यास गर्न पुगेका थिए।

दुवै पुलको हिन्दू परम्पराअनुसार ब्राह्मण पढाएर शिलान्यास देउवाले शिलन्यास गरेका थिए। दुवै पुल एक वर्ष अघि शिलान्यास भई २० देखि २५ प्रतिशत काम सम्पन्न हुनुपर्ने थियो। तर, राजनीतिक अनुकूलता खोजिने परम्पराले निरन्तरता पाउँदा एक वर्ष ढिलाई भएको हो।

उदयपुर र भोजपुर जोडने पुल उदयपुरको बेल्टार–रानीटार हुँदै भोजपुर सडकखण्डमा पर्दछ। त्यसैगरी उदयपुर र खोटाङ जिल्ला जोडने पुल गाईघाट–साउने– धाप्लाङ हुँदै दिक्तेल सडकखण्डअन्तर्गत पर्दछ। दुवै पुलको निर्माणको जिम्मा एउटै कम्पनीले बराबरी लागतमा जिम्मा दिइएको पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्वर १ कार्यालय धारानले जानकारी दिइएको छ।

निर्माणको जिम्मा पाएको रसुवा स्वच्छन्द पप्पुल जेभि काठमाण्डौले एउटा पुल २२ करोड २५ लाख गरी दुबै पुल ४४ करोड ५० लाखमा सम्पन्न गर्नुपर्ने छ। ५ स्पान भएको पुल २ सय मिटर लम्बाइ र १० दशमलव ५ मिटर चौडाई रहेको निर्माण कम्पनीका ठेकेदार नारायणप्रसाद भुसालले जानकारी दिए। ०७६ साल असार २९ गते भित्र निर्माण सम्पन्न गर्न सक्ने गरी निर्माण कम्पनीले २०७३ असार ३० गते ठेक्का सम्झौता गरेको पुल योजना पुर्वी सेक्टर कार्यालय धरानले जानकारी दिएको छ।

यस कारण शिलन्यास ढिलाइ

पुलको डिजाइनसमेत ठेकेदारलाई जिम्मा लगाइएको थियो। पछि ठेकेदारले दुवै पुलको डिजाइनमा ढिलाई गरेपछि पुलको शिलन्यासनै ढिलाइ भएको सरकारी पक्षको दाबी छ। तर, निर्माणको जिम्मा पाएको रसुवा स्वच्छन्द पप्पुल जेभि काठमाण्डौका नारायण भुषालले हामीले तयार पारेको डिजाइन सरकारी पक्षबाट समयमै पास नहुनाले ढिलाई भएको बताए।

‘हामीले तयारी गरेको डिजाइन पुल योजना पुर्वी सेक्टर कार्यालयबाट पास गराउनु पर्ने सम्झौता थियो,’ भुषालले भने, ‘अब छठपछि काम सुरु गर्नेछांै, काम भने भटाभट हुनेछ।’

दुवै पुल निर्माण स्थलसम्म सानो सडक भएकाले पुल निर्माणका लागि आवाश्याक पर्ने सामानहरु ल्याउन समस्या भएको उनले बताए। अहिले पनि निर्माणको जिम्मा पाएको रसुवा स्वच्छन्द पप्पुल जेभी काठमाडौंले अबका दुई वर्षमै पुलमा बनाउनेमा शंका लागेको स्थानीयवासी बताउँछन्।

यस्तो छ, पुल नहुँदाको पीडा

दुवै पुल खोटाङ र भोजपुरबाट उदयपुर जोड्न अपरिहार्य पुल हुन्। दुवै जिल्लाकोे सदसरमुकमाबाट दक्षिण भेगले उदयपुरसँग सिधा सम्पर्क राख्दछ। यता, उदयपुरको सदरमुकामबाट अर्थात उदयपुरका बजारबाट विभिन्न उपभोग्य वस्तु ढुवानी हुने यस क्षेत्रमा सडक नहुँदा खच्चडको प्रयोग गरिन्थ्यो।

अहिले सडक भएर पनि सिधा यातयात सुचारु नुहँदा समस्या पर्ने गरेको छ। ‘पारी सुत्केरी हुन नसकेर महिला छटपटाईरहेकी छिन,’ भोजपुर आमचोक गापाका स्थानयि नविन राईले भने, ‘डोकोमा बोकेर झुलुङगे पुलबाट वारी ल्यायो, एम्बुलेन्स छैन, पारिको एम्बेलेन्स वारी आउँदैन, पारिबाटै गृह जिल्लामा पनि जाँदैन।’

उनका अनुसार घिर्निका माध्यमबाट डोजर लगायतका साना सवारीसाधन उदयपुरबाटै दुवै जिल्लाकोे सदसरमुकमाबाट दक्षिण भेगमा पुगेका छन। जुन खोटाङ र भोजपुरका कोसी गढतिरमा पर्दछन। दुवै ठाँउमा झोलुङगे पुल बनेको पनि धेरै वर्ष भएको छैन। ‘८ वर्ष लागेर झोलुङगे पुल बन्यो,’ उदयपुरको त्रियुगा नगरपालिका धाप्लाङ कुमार सर्कीले भने, ‘अब कति वर्ष लागेर पक्की पुल बन्ने हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.