|

गोरखा : जिल्ला जनस्वास्थ्य कार्यालय गोरखामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको एक समूहले छापा मारेको छ। आइतबार दिउँसो सो पार्टीका योगेन्द्र कुमाल, दीपक बोहोरा लगायतको टोली जनस्वास्थ्य कार्यालय पुगी छापा मारेको हो। जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार उनीहरुले म्याद नाघेका औषधी राख्ने ठाउँ (एक्सपाएरजोन) मा छापा मारेका हुन्। जनताले पाउने औषधी म्याद गुजारेर सडाएको भन्दै उनीहरुले कार्यालयमा छापा मारेको नेकपाका दीपक बोहोराले बताए।

माओवादीले केही दिनअघि जिल्ला जनस्वास्थ्य कार्यालयमा जिल्ला सेक्रेटरी निशानले हस्ताक्षर गरेको पत्र बुझाएर चन्दा माग गरेको थियो। कति चन्दा माग गरेका थिए भन्नेबारे कार्यालयले बताएको छैन। जनस्वास्थ्य कार्यालयको गोदाममा छिरेर त्यहाँ रहेको औषधीहरु छरपष्ट बनाउँदै फालेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

नेकपा कार्यकर्ताले आर्थिक सहयोगका लागि पठाएको पत्र सार्वजनिक गरेको भन्दै तोडफोड गर्नुका साथै गोदाममा रहेको औषधी बाहिर फालेको जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले जानकारी दिए।

नेपाल कम्युनिस्ट पार्टीले विगत एक महिनायता गोरखामा चन्दा  संकलनलाई आतंककै रुपमा अघि बढाएको छ। स्रोतका अनुसार विप्लवले सरकारी कार्यालय र गोरखामा क्रियाशील एनजिओ आइएनजिओका कार्यालयमा पत्राचार गरेर रकम तोकेरै चन्दा माग गरिरहेका छन्।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने यस्ता गतिविधिहरु नगर्न सुझाइसकेको र सुरक्षा संयन्त्र यस्ता गतिविधि रोक्न लागिपर्ने बताए। त्यस्तै जिल्लाका अन्य सरकारी कार्यालयका प्रमुखहरुले प्रजिअ बस्नेतलाई सुरक्षाको माग गरेका छन्।   

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.