|

सुनसरी :  प्रदेश नं १ मा आइतबारदेखि हर्न बजाउन निषेध गरिएको छ। अनावश्यक रुपमा सवारी साधनले बजाउने हर्न नियन्त्रण गरी ध्वनि प्रदूषण कम गर्न हर्न निषेध गरिएको पुर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

आइतबारदेखि प्रदेश १ का सुनसरी, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, र उदयपुरमा हर्न बजाउन नपाइने कार्यालयका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले असोज १ देखि हर्न निषेध गर्न मातहतका ट्राफिक प्रहरी कार्यालयमा पत्राचार गरिसकेको छ। सबै जिल्लामा हर्न निषेधित क्षेत्र लेखिएका बोर्ड समेत राखिएको छ भने यातायात व्यवसायीलाई समेत पत्राचार गरिएको छ।

हर्न निषेधलाई प्रभावकारी बनाउनका लागि पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको नेतृत्वमा भदौ महिनाभरी जनचेतना कार्यक्रम गरिएको सो कार्यालयले जनाएको छ। यातायात व्यवस्था विभाग, सडक विभाग, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले प्रदेश नम्बर १ लाई हर्न निषेधित क्षेत्र बनाउने निर्णय गरेको थियो।

यो नियम लागू भएपछि मान्छे बोलाउनका लागि अनावश्यक रुपमा हर्न बजाउन पाइने छैन। तर घुम्ती, सवारी साधन ठोक्किनै लागेको अवस्थामा र यात्रु किचिने अवस्थामा भने हर्न बजाउन पाइनेछ। साथै अत्यावश्यक सवारी साधनले भने हर्न बजाउन पाउने भएको एसपी लम्सालले बताए। हर्न निषेध कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि पैदलयात्रीहरुलाई पनि सचेत गराइने बताउँदै उनले भने ‘यस कार्यलाई सफल बनाउन सबै सरोकारवाला पक्षहरु एकजुट भएर लाग्नुपर्छ।’ 

नियम पालना नगरी हर्न बजाएमा पहिलो पटक पाँच सय त्यसपछि क्रमशः एक हजार र एक हजार पाँच सय रुपैयाँ जरिबाना गरिने ट्राफिक प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.