|

नेपालगन्जबाट सुर्खेत हुँदै हिँडेको गाडी, साँझको पौने ६ बजेतिर दैलेख, दुल्लु नगरपालिकास्थित 'पाली' भन्ने स्थानमा गएर रोकियो। त्यहीँ गएर थाहा भयो, गाडी त्यहाँबाट पर जान सक्दैन। हामीलाई पुग्नु थियो, दैलेखकै अर्को नगरपालिका चामुन्डा विन्द्रासैनी, लैनचौर, जहाँ २०७४ असार २२ गते छाउगोठमा बस्दा १८ वर्षकी तुलसी शाहीको मृत्यु भएको थियो।

हामी चार जनाको समूहमध्ये काठमाडौँबाट जानेमा राष्ट्रिय महिला आयोगकी पूर्व सदस्य धनकुमारी सुनार र म, नेपालगन्जबाट राष्ट्रिय मानवअधिकार आयोगका कर्मचारी मानबहादुर कार्की र दैलेखको चुप्राबाट हामीसँग मिसिएका दैलेखकै पत्रकार तथा इन्सेकका जिल्ला प्रतिनिधि अमर सुनार थियौँ।

हाम्रो टिम, मानवअधिकार आयोगको प्रतिनिधित्व गरेर  दैलेख पुगेको थियो, हामीलाई त्यहाँको 'छाउपडी प्रथा' र 'छाउगोठ'बारे वास्तविक स्थितिबारे सूचना संकलन गर्नु थियो। हुनत हामीलाई, ती युवतीको मृत्यु भएको स्थानमै पुग्नुपर्छ भन्ने बाध्यता थिएन। तर पनि हामीले सोच्यौँ, जानै परेपछि, देश र विदेशलाई समेत बदनाम गराइरहेको घटना घटेकै स्थानमा पुगेर 'फिल्ड रिपोर्टिङ' किन नगर्ने? 

हुन पनि, असार २२ को दुर्घटनाले नेपाललाई विश्वसामु 'आदिम संस्कृति' अँगालेर हिँड्ने देशको रूपमा चित्रित गरिसक्यो। यसको लागि भूमिका खेल्नेहरूमा विश्वका विभिन्न संचार माध्यमहरूको देन छ।

उपरोक्त कारणले गर्दा यो पंक्तिकारको मनमा पनि चामुन्डा विन्द्रासैनी नगरपालिका मात्रै होइन, दैलेखप्रति नै गुनासो व्याप्त थियो भने झन् ती युवतीको परिवारप्रति त मन कुनै रूपमा पनि सकारात्मक हुन सकिरहेको थिएन।

'छाउपडी प्रथा' र 'छाउगोठ'बारे करिव १८/१९ वर्ष अगाडि नै मनमा नकारात्मक छवि बनिसकेको थियो। त्यतिबेला सुदूरपश्चिमकै अर्को जिल्ला अछाम पुगिएको थियो। त्यहाँ 'छाउ' भएका केही महिलाहरू  घरभन्दा अलि पर, चारवटा मसिनो सिर्कना गाडेर, माथिबाट मजेत्रोले ढाकेर राती सुत्ने ठाउँ बनाएर बसेको र धोतीभरि रगतका टाटा सुकाएर बारीमा काम गरिरहेका महिलाहरूसँग गरेको कुराकानीको छाप मनबाट हटिसकेकै थिएन। त्यसमाथि जेठको ८ गते र असारको २२ गते एउटै नगगरपालिकामा दुई महिलाको छाउगोठमा बस्दा सर्पले टोकेर मृत्यु भएको समाचारले मनलाई भित्रैबाट पीडाले थिलथिलो बनाएको थियो। त्यसैले पनि चामुन्डा विन्द्रासैनी पुग्नै पर्ने थियो र त्यहाँको स्थिति आँखैले  देख्न मन थियो।

पाली पुगेपछि अमरजीले भन्नुभयो, त्यहाँबाट गाउँ पुग्न, उहाँहरूलाई १ घन्टा लाग्छ, हामीलाई धेरै लागे २ घण्टा। धनजी र म, त्यहीँ वास बसौँ भन्नेमा थियौँ तर मानबहादुरजीले भन्नुभयो, '२ घन्टामा पुगिन्छ भने यहाँ किन बस्ने? भर्खर ६ बज्दै छ; वासको व्यवस्था गरिसकेको छ, त्यही ठाउँमा जाऔँ बाटो कट्छ, भोलि बिहानैदेखि मान्छे भेट्न सजिलो हुन्छ।'

यसपालि नराम्रैसँग लडेँ; आफैँलाई पछाडि बोकेको ब्याकप्याकले नराम्रोसँग थिचेको थियो। अघिल्लो पटक जसरी लडेकी थिएँ, त्यही पोजिसनमा माटोमै गाडिएर लडेँ। त्यहाँ ढुंगा परेको भए त्यो दिन साथीहरूले मेरो ज्यानलाई के गर्नुहुन्थ्यो होला! सोच्दा पनि डर लाग्छ। लड्दा मानबहादुरजीले देखिरहनुभएको रहेछ, पछिसम्म पनि डर मानेको कुरा गरिरहनुभयो।

कुरा त ठीकै जस्तो लाग्यो। अमरजी, गाडी लिएर टर्च किन्न जानुभयो, हामी त्यहीँ पर्खिएर बस्यौँ। बस्दाबस्दै, त्यही ठाउँको पसलेलाई 'लैनचौर जान कतिबेर लाग्छ?' भनेर सोध्यौँ। उनले भने, 'तपाईँहरू राती ११ बजेसम्ममा पुग्नुहोला!'

हामीलाई ती पसलेको भनाइमा विश्वास कम लाग्यो, किनकि सँगै जान लागेका साथीले १ घन्टामा पुगेको कुरा सुनाएका थिए। मान्छेको जातै शंकालु, लाग्यो, ती पसलेले हामीलाई उनको १ कोठे होटेल/पसलमा वास बसाउने प्रपञ्च रच्दै छन्। त्यसैले पनि हामीले उनको कुरामा ध्यान दिएनौँ।

अमरजी, टर्च र आफूलाई एक जोर चप्पल किनेर फर्कनुभयो। हामी बाटो लाग्ने तयारी गर्‍यौँ। सामान धेरै भएकाले धनजीले आफूलाई आवश्यक सामान अमरजी र मानबहादुरजीको झोलामा मिलाएर हाल्नुभयो। मेरो भने सामान त धेरै थिएन तर ल्यापटप लगेकाले त्यहाँ  छाड्ने आँट गरिनँ। डेलकै ल्यापटप भए पनि केही भइहालेको खण्डमा तुरुन्तै पैसा हालेर किन्ने स्थितिमा म थिइनँ, त्यसैले बोकेँ। 

हामी शहरमा बस्नेहरूलाई गाउँ पस्नेबित्तिकै देखिने हरिया जंगल, जताततै ठूला-साना झरना जसरी बगिरहने पानीका स्रोतहरू, नदी, उबडखाबड बाटो, जेले पनि मोहित तुल्याउँछ, यो स्वाभाविकै पनि हो।

पालीबाट हिँड्दा, साँझको साढे ६ भइसकेको थियो, सूर्यनारायणले 'म डुबेँ है!' भन्ने संकेत देखाइसकेका थिए। सुरुमै पातलो जंगलको बाटो हुँदै हामी अगाडि लाग्यौँ। बाटो त के थियो र! केही पाइतालाहरूले कुल्चिँदा झार नउम्रने बनाइएको केही बित्ताको जमिन थियो।

अलिकति तेर्सो हिँड्यौँ; थोरै उकाली चढ्यौँ; अलिकति भीर ओर्लियौँ। रमाइलै भइरहेको थियो। पिठ्युँमा बोकेको केही केजीको ल्यापटप र केही दिनको लागि बोकिएका लुगाफाटालगायतका सामान पनि खासै भारी लागेको थिएन।

आकाशमा जून उदाइसकेको थियो। नजिकै कलकल बगेको नदीको आवाजले ध्यान खिचिरहेको थियो। अमरजीले भन्नुभयो, 'हामी त्यो नेपागाड खोला तरेर अर्को छेउ लाग्नुपर्छ।'

'लौ, यहाँबाट तल ओर्लौँ!' अमरजीले देखाएको भीरमा मैले बाटो देखिरहेकी थिइनँ; त्यो बाटो भन्दा पनि झ्याम्म परेको झाडी थियो।

तर उहाँ पथप्रदर्शक हुनुहुन्थ्यो, उहाँले भनेको नमान्ने प्रश्नै थिएन। बिस्तारै सबै जना ओर्लियौँ। अमरजी र मानबहादुरजीलाई त्यो मुश्किलको काम थिएन; उहाँहरूको जन्मस्थल क्रमश: दैलेख र जाजरकोट। धनजी, मकवानपुरमै जन्मिए पनि मेरोभन्दा सानो ज्यान भएकाले सुरुसुरु सजिलै हिँडिरहनुभएको थियो। तर आफू परेँ 'स-सानो हात्ती जस्तो ज्यानकी', त्यसमाथि अँध्यारो र कहिल्यै नहिँडेको बाटो!

तर पनि हार मान्नेवाला त कहाँ थिएँ वा छु र! 

सम्झँदै गएँ, २०५५ सालमा रोल्पाको लिवाङदेखि थवाङलगायतका गाउँहरू हुँदै रुकुम पुगेको; २०५५ सालमै गोर्खाका केही विकट गाउँहरू हिँडेर पुगेको; २०५७ सालमा फेरि रोल्पाको लिवाङबाट हिँडेर जाजरकोट २२ दिन लगाएर पुगेको; केही समय अगाडि प्रसिध्द धौलागिरी रेन्जको पुनहिल पुगेको; दोलखाको कालिन्चोक भगवती पुग्न ठाडो उकालो चढेको.. ओहो, म के कम!

तर मलाई थाहा थियो, यस्तो हिँडाइमा सबैभन्दा भरपर्दो सहायक, 'लौरो' वा 'लठ्ठी' हुन्छ। अमरजीलाई सोधेँ, 'यता कतै लठ्ठी पाइन्नँ?'

बाटोमा बस्तीहरू नै थिएनन्, झिसमिसे अँध्यारो भइसकेको थियो, लठ्ठी कहाँ पाउनु?

बल्ल  १ घन्टाजति हिँडिसकेपछि दुइटा घर देखियो; एउटा 'छाउगोठ' रहेछ; अर्को मूल घर। त्यहाँ अँध्यारोमै एउटी महिला काम गरिरहेकी थिइन्। उनीसँग अमरजीले सोधेर सबैलाई एउटा एउटा लठ्ठी बनाइदिनुभयो। आफूले लिनुभएन। उहाँहरू त्यही माटोमा जन्मिएको/हुर्किएको, हामीलाई जस्तो सहारा किन चाहिन्थ्यो र! तर जाजरकोटे मानबहादुरजीले पनि लठ्ठी बोक्नुभयो।

फेरि हिँड्न थाल्यौँ। सबै जना अगाडि अगाडि हुनुहुन्थ्यो, म भने आफ्नै सुरमा यताउता हेर्दै, लडिएला कि! भनेर होसिपयार हुँदै हिँडिरहेकी थिएँ।

एक ठाउँमा ठाडै तल ओर्लनुपर्ने बाटो आयो, झन्डै घुँडासम्म लामो झार थियो, बाटो देखिने त सवालै थिएन। तर पनि बाटो त काट्नु नै थियो।

होस पुर्‍याएर झर्दाझर्दै पनि त्यो झारमा सुलुलु चिप्लिएर म लडिहालेँ! यसरी लडेँ कि, भिरालोमा टाउको तल पर्‍यो, खुट्टा उकालोतिर! ओल्टिने पल्टिने ठाउँ थिएन; साथीहरू सबै अगाडि लागिसक्नुभएको थियो। म  चिच्याएँ, 'ए, म लडेँ!'
अमरजी र मानबहादुरजी आएर मलाई उठाउनुभयो।

फेरि हिँड्न थाल्यौँ। अब भने उहाँहरू म सँगसँगै जसो हिँडिरहनुभएको थियो। करिब १०/१५ मिनेट पनि हिँडिएको थिएन, म फेरि भिरालो ओर्लिँदा लडेँ! लठ्ठी त के, लठ्ठीको बाउले पनि मलाई सहारा दिन सकेन। यसपालि नराम्रैसँग लडेँ; आफैँलाई पछाडि बोकेको ब्याकप्याकले नराम्रोसँग थिचेको थियो। अघिल्लो पटक जसरी लडेकी थिएँ, त्यही पोजिसनमा माटोमै गाडिएर लडेँ। त्यहाँ ढुंगा परेको भए त्यो दिन साथीहरूले मेरो ज्यानलाई के गर्नुहुन्थ्यो होला! सोच्दा पनि डर लाग्छ। लड्दा मानबहादुरजीले देखिरहनुभएको रहेछ, पछिसम्म पनि डर मानेको कुरा गरिरहनुभयो।

मेरो मुन्टो र दाहिने कुम अनि शरीरको दाहिने भाग पूरै धसिएको थियो। म चल्न चट्पटाउन सकिरहेकी थिइनँ। अमरजी र मानबहादुरजीले बल्लबल्ल मेरो पछाडिबाट ब्यागप्याक निकाल्नुभयो र मलाई समातेर उठाउनुभयो। मेरो शरीर र तिघ्रा थरथर कामिरहेका थिए। मलाई तुरुन्तै हिँड्न पनि कठिन भइरहेको थियो। करिव ५/७ मिनेट त्यहाँ बस्यौँ र फेरि बाटो लाग्यौँ। मेरो ब्यागप्याक अमरजीले आफ्नो भारीमाथि थपेर हिँड्नुभयो; त्यसपछि, खोला होस् या भिरालो, उहाँले मलाई छाड्नुभएन।

भ्यागुताको आवाज बच्चा रोएको जस्तो आइरहेको थियो। मैले त्यस्तो आवाज केटाकेटीमा पटक पटक सुनेकी थिएँ। सर्पको विगविगी भएको ठाउँमा जान लागिएको थियो र भ्यागुताले पूरै वातावरण थर्काइरहेको थियो। अब भने 'लडिएला कि!' भन्ने डर मात्रै होइन, अँध्यारोमा आएर सर्पले टोक्यो भने के गर्ने भन्नेतिर पनि मन बाँडियो।

आकाशमा चिहाइरहेको जूनको उज्यालोमा हामी नेपागाड खोला पुग्यौँ। अमरजी पहिले अर्कोतिर पुगेर सामान र आफ्नो चप्पल राखेर आउनुभयो; हामी पनि जुत्ता फुकालेर ठीक पर्‍यौँ। एउटा हातमा लौरो र अर्को हातले अमरजीलाई समातेर नेपागाड खोला तरियो। बीचबीचमा काई परेको ढुंगामा टेक्दा त्यहीँ झ्वाम्म परिएला भन्ने डर; त्यस्तो पनि भएको छ कुनै बेला हिँड्दा। बीच खोलामा चिप्लिएर थ्याच्चै थच्चिएको चिसो लुगा लगाएरै दिनभरि हिँडेको र त्यो चिसो लुगाले तिघ्राभरि पाछेको अनुभव पनि छ।

धनजीलाई मानबहादुरजीले समाएर उहाँहरू खोला तर्नुभयो।
अब ठाडै उकालो थियो। उक्लिँदै गयौँ। कतिपय ठाउँमा मानबहादुरजीले अमरजीलाई 'अमर सर, कुन बाटो हो?' भनेर सोध्नुहुन्थ्यो। जंगल र झाडीबाहेक केही देखिँदैनथ्यो। मैले अहिलेसम्म नबुझेको, अमरजी मानबहादुरजीलाई हातको टर्च निभाउन भनेर आफ्नो हातको टर्च मात्रै बालेर बाटोको अन्दाज लगाउनुहुन्थ्यो। हातको लठ्ठीले मानबहादुरजी ती बुटा र झाडीलाई झ्यामझ्याम हान्नुहुन्थ्यो। यसरी बाटो पहिल्याउँदै उकालो काटियो।

झन्डै ५ घन्टाको हिँडाइमा मुश्किलले ५/६ ठाउँमा घरहरू देखियो होला! पालीका पसलेले त भनेकै थिए, 'बाटोमा बस्ती खासै भेटिँदैनन्; एकदमै पातलो छ।' उकालो काटेपछि तेर्सो बाटो आयो; हिँडिएको छ, हिँडिएको छ! न सोध्ने ठाउँ छ, न समयको अन्दाज!

तेर्सो बाटो ३ घन्टै हिँडिसकेपछि जूनको उज्यालोमा यो छेउदेखि ऊ छेउसम्मको विशाल खोला देखियो। अमरजीले भन्नुभयो, 'अब त्यो खोला तरेर पारि गएपछि चामुन्डा विन्द्रासैनी नगरपालिका आउँछ।' मेरो हंसले ठाउँ छाड्यो। 'अझै कति हिँड्ने? यहीँ कतै वास खोजेर बसौँ!' तर मेरो कुरा कसले सुन्ने? अमरजी हरेक पटक 'अब आधा घन्टा.. अब आधा घन्टा!' भनेर ढाडस दिँदै हुनुहुन्थ्यो। उहाँको कुरा त मैले पत्याउनै छाडिसकेकी थिएँ। झन् खोला देखाएर त्यो तर्नुपर्छ भनेपछि त मैले त्यो रात त्यहीँ बाटोमा सुतेर काटौँ भन्न थालेँ।

उहाँले भन्नुभयो, 'धेरै पर पुगेपछि पुल पनि छ तर त्यहाँ पुग्न एकदमै धेरै हिँड्नुपर्छ।'

अझ हिँड्ने जाँगर कसलाई? सबै जना थकित भइसकेका थियौँ। 'मर्ता क्या नहीं कर्ता?' भनेझैँ गाउँलेले बनाएको छोटो र भिरालो बाटो ओर्लिएर 'पादुका' खोला तर्‍यौँ। खोलाको बीचबीचमा लाश जलाएर बगाएर ल्याएको दाउरा तेर्सिएको भेटिने रहेछ। लाश जलाउने ठाउँ अलि पर रहेको 'कालसैनी'को मन्दिरनिर रहेछ।

खोला तरेर  पारि पुगेपछि झन् अप्ठ्यारोको सामना गर्नुपर्‍यो। त्यहाँ  बाटो थिएन, मगमग वास्ना आउने धान खेतको मुश्किलले बनेको एक बित्ताको आली थियो। अब त्यो आलीबाट हिँड्नुपर्‍यो। त्यतिबेला त त्यो धानको बोट मगमगाएको आनन्दले पनि मन खुसी बनाउन सकेन। आफ्नो कपडाको जुत्ता लगाएर हिँड्ने 'चान्स' नै थिएन; त्यही बुझेर होला, अमरजीले आफूले लगाएको चप्पल फुकालेर दिनुभयो र आफू खाली खुट्टा हिँड्न लाग्नुभयो। मैले मानेकी त थिइनँ तर उहाँ मभन्दा नमान्नेमा पर्नुभयो। हुनत मेरो ब्यागप्याकमा चप्पल नभएको होइन तर त्यो अँध्यारोमा कता खोतलेर बस्नु!

धनजी र अमरजी अगाडि अगाडि हिँड्नुभयो, म र मानबहादुरजी पछिपछि। दुई जना एकैपटक हिँड्ने बाटो थिएन। तर त्यहाँ मानबहादुरजीले मेरो साथ छाड्नुभएन।

चप्पल गाडिएर तान्दा अहिले नै चुँडिएला जस्तो हुन्थ्यो। जताततै मरेका मानिसका कपडा (?) फालिएका थिए। मुटु कमजोर हुनेहरूले हो भने त्यो लाश जलाउने खोलाको छेउ कसरी हिँड्थे होलान्? भ्यागुताको टर्रटर्र आवाजले कानै खाइरहेको थियो। त्यो आवाजले मलाई अतीतमा पुर्‍याइदिएको थियो। एकपटक चाबहिलको घर पछाडिको धान खेतमा सर्पले भ्यागुता समाएछ। त्यो भ्यागुताको आवाज बच्चा रोएको जस्तो आइरहेको थियो। मैले त्यस्तो आवाज केटाकेटीमा पटक पटक सुनेकी थिएँ। सर्पको विगविगी भएको ठाउँमा जान लागिएको थियो र भ्यागुताले पूरै वातावरण थर्काइरहेको थियो। अब भने 'लडिएला कि!' भन्ने डर मात्रै होइन, अँध्यारोमा आएर सर्पले टोक्यो भने के गर्ने भन्नेतिर पनि मन बाँडियो।

बल्लबल्ल खेतको आलीको बाटो सकियो। फेरि तेर्सो हिँड्ने पालो आयो। खोला नाघेर गइसकेपछि मैले मानबहादुरजीलाई भनेँ, 'मानिसहरू किचकन्नी र भूतको कथा सुनाउँछन्; परेपछि त यस्तो बाटो पनि डर नमानी हिँडिदोरहेछ नि!' उहाँले पनि त्यस्तो कथाबारे चर्चा गर्दै हिँड्नुभयो।

अमरजी र धनजी निकै पर पुगिसक्नुभएको थियो। उहाँहरूले छाडेर हिँड्नुभयो भनेर म रिसाउँदै हिडेँ। अलि पर पुगेर उहाँहरू एउटा स्कुलको भवन अगाडि सुस्ताइरहनुभएको रहेछ। हामी त्यहाँ पुगेपछि, त्यहाँ थुपारिएको ढुंगाको थुप्रोमा बसेर मैले अमरजीको चप्पल हस्तान्तरण गरेँ। झन्डै एक घन्टाको बाटो उहाँ मलाई चप्पल दिएर खाली खुट्टा नै हिँड्नुभएको थियो। म उहाँको त्यो साथ र सहयोगको ऋण त कहिल्यै तिर्न सक्दिनँ। मानिसको यही सहृदयी व्यवहारले त संसारमा मानवता टिकेको छ नि! होइन भने त…! 

यस्तो बेलामा आफूबाट सकुन्जेल फाइदा लुटेर खोस्टा बनाएर फ्याँकिदिनेहरूको अनुहार झलझली अगाडि आउँछ।

त्यो ढुंगाको थुप्रो स्कुल भवनको ठ्याक्कै पछाडि थियो। मैले अमरजीलाई अनुरोध गरेँ, 'त्यो स्कुलकै बेन्चमा सुतौँ, अब अगाडि हिँड्ने सामर्थ्य छँदै छैन।' म त्यही ढुंगाको थुप्रोमाथि उत्तानो परेँ।

उहाँले फेरि बच्चा फकाउने शैलीमा भन्नुभयो, 'अब ५ मिनेट हो; ऊ त्यो सेतो देखिएको ठाउँ!'

मैले त्यहाँ कतै सेतो देखेकी थिइनँ। बाटोभरि पनि उहाँले 'उ त्यो बत्ती बलेको ठाउँ हो!' भनेर डाँडापारि एकाध बत्ती बलेको स्थान देखाउँदै हिँडाउनुभएको थियो । तर ती बत्ती बलेका स्थानहरू, हामी सँगसँगै हिँड्ने जून जस्तै सर्दै जान्थे; कहिल्यै नभेटिने गरी!

त्यसैले मैले उहाँको बाटोबारेको कुरालाई विश्वास गर्नै छाडिदिएकी थिएँ।

स्कुलमा बस्न पाइन्थ्यो वा पाइन्नथ्यो, त्यो बेग्लै कुरा हो तर बाँकी तीन जनाले मेरो समर्थन गरेजस्तो लागेन। करिव १० मिनेट सुस्ताएपछि हामी फेरि बाटो लाग्यौँ। तीन मिनेट पनि हिँडिएको थिएन होला, बाटोको छेउमा सेतो रङको घर देखियो। अमरजीले देखेर त भन्नुभएको थिएन, किनकि त्यो बाटोतिर रूखहरूले छेकिएको थियो। हामी त्यो कम्पाउन्डमा छिर्‍यौँ। चकमन्न। रातको ११ बजेको थियो। गाउँको होटेल भने पनि लज भने पनि त्यही मात्र थियो। त्यहाँ हामी आउँदै छौँ भनेर खबर गरे पनि हामीलाई कसैले कुरिरहेको थिएन। बाटोबाट फोन गर्दा मोबाइलको स्विच अफ थियो।

कम्पाउन्डमा बनेको चिया खाने ठाउँ जस्तो अग्लो बनाएर काठले छाएको गोलाकार चौतारो जस्तोमा दुइटा बेन्च राखिएको थियो। धनजी र मलाई त्यहाँ राखेर अमरजीसँगै रहेको घरमा घरबेटीलाई बोलाउन थाल्नुभयो तर कतैबाट चाइँचुइँ सुनिएन।

मानबहादुरजीले जुक्ति सुझाउनुभयो, 'जुन कोठाको ढोकामा ताल्चा मारिएको छैन, त्यही कोठा ढक्ढक्याउनुस् न!'

अमरजीले त्यसै गरेपछि, घरबेटी महिला ठस्स पर्दै ढोका खोलेर बाहिर निस्कनुभयो। उहाँहरूको लागि रात निकै घर्किसकेको थियो तर हाम्रो पनि चाहना होइन, बाध्यता थियो।

फेरि अर्को समस्या, जम्मा दुई बेड भएको एउटा कोठा रहेछ; ओसले डुङडुङ्ती गह्नाउने; हामी चार जना। घरबेटीले नै उपाय निकालिन्, 'तपाईंहरू दुई जना ऊ त्यहाँ सुत्नुस्; म्याडमहरू यहाँ सुत्नुहुन्छ।' उनले हामी आएर सुस्ताएको चौतारीको बेन्च देखाउँदै भनिन्। 

नेपालगन्जदेखि नै आफूलाई सिङ्गल कोठा चाहिने माग राख्दै आउनुभएकी धन म्याडम पनि हिस्स पर्नुभयो। उहाँ र मैले एउटै कोठामा रात बिताउनुपर्ने भयो। 

हामीलाई कोठा खोलिदिएर घरबेटी महिला भात पस्किन थालिन्। मैले भान्साको ढोकामा चिहाएर, 'म खान्नँ' भनेँ। त्यो कुराले उनलाई रिस उठेको जस्तो लाग्यो; फेरि भनेँ, 'खानाको पैसा चार जनाकै लिनुहोला तर म खान्नँ।'

मेरो शरीर यति थाकेको थियो, कोठामा गएर डङ्रङ्ग परेँ। मेरो जिन्सको पाइन्ट खोला तर्दा र आलीमा हिँड्दा घुँडासम्मै भिजेर लथ्रक्क भएको थियो। तर मसँग मेरो शरीर उठाउने ताकत पनि थिएन, लुगा फेर्ने कुरा त परै जाओस्। धनजीले पटक पटक लुगा फेरेर सुत्न भन्नुभयो तर म त्यत्तिकै पसारिएँ।

फोनको एप्स थिचेर हेरेँ, साढे ५ घन्टामा ८ माइल अर्थात् झन्डै १३ किलोमिटर हिँडिएछ।

कोठामा सोलारको धमिलो बत्ती बलिरहेको थियो। मेरो शरीरमा झिँगा बस्यो भने पनि हातले नधपाई 'नचला न, झिँगा!' भन्ने स्थितिमा पल्टिरहेकी थिएँ। साथीहरू खाना खान बाहिर कुर्सीमा बस्नुभएको थियो। 

खान सुरु गर्नुभन्दा पहिले, अमरजी कोठामा आएर टर्च बाल्दै दुवै खाटको मुनि कुनाकाप्ची चेक गरेर निस्कनुभयो। सायद उहाँ हामीलाई सर्पबाट रक्षा गर्दै हुनुहुन्थ्यो।

यसरी कहिल्यै नबिर्सने गरी चामुन्डा विन्द्रासैनी वडा नम्बर- ६ लैनचौर पुगियो।

भोलिपल्ट उठेपछि महसुस गरेँ, त्यो भिरालोमा लड्दा मेरो आँखा झन्डै सिध्दिएको रहेछ; मेरो आँखाको मुनिको 'चिक बोन'मा रातै/नीलै डाम थियो। दाहिने कुम र दाहिने घुँडाको साइडमा पनि ठूलाठूला नीलडाम रहेछन्। शरीर दुखेर खुट्टासमेत नउचालिने भएको थियो।

फर्कँदा यात्रा अलि सरल भयो, उज्यालो नै थियो। स्थानीय व्यक्तिको सहयोगले छोटो बाटो आइयो। त्यसले गर्दा एक माइल कम हिँड्नुपर्‍यो।

फर्किँदा बाटोमा मैले अमरजीलाई सोधेँ, 'तपाईँ अन्तिम पटक कहिले हिँडेर पुग्नुभएको थियो त्यो ठाउँ?'

उहाँको जवाफ थियो, 'सात वर्ष अगाडि!' बल्ल पो रहस्य खुल्यो, उहाँले अन्दाजै अन्दाजमा त्यो बाटो हिँडाउनुभएको रहेछ!

गाउँमा भोलिपल्ट भेटेको मानिसले एउटा तर्सिएको गोरुलाई देखाउँदै उहाँलाई भनेछन्, 'केही दिन अगाडि त्यो गोरुलाई बाघले झम्टिएर घाइते बनाएको थियो।' 

मैले मनैमन सोचेँ, त्यो कुरो पहिले नै थाहा पाएको भए के आँटले त्यो जंगलको बाटो हिँडिदो हो?

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.