|

जनकपुरधाम: स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं. २ मा भोली (सोमबार) निर्वाचन हुँदै छ। उक्त निर्वाचनलाई मध्यनजर गर्दै प्रदेश नम्बर २ सँग जोडिएका भारतीय सीमा नाका बन्द गरिएको छ।

खुला सीमाको फाइदा उठाउँदै हतियार, बिष्फोटक पदार्थ तथा अापराधिक समूह भित्रिन सक्ने आशंकामा ७२ घण्टाको लागि सीमा नाका बन्द गरिएको प्रहरीले जनाएको छ। संभावित आपराधिक घटना हुन नदिन सीमा नाका बन्द गरिए पनि सांस्कृतिक सम्बन्धलाई मध्यनजर गर्दै आवश्यक चेक जाँचपछि आवतजावतमा छुट दिइएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिए।

उनले स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि आवश्यक सबै तयारी पूरा भएको जानकारी पनि दिए। कुनै प्रकारको अापराधिक घटना हुन नदिन तीनवटा हेलिकोप्टर तयारी अवस्थामा रहेका छन् भने मुख्य सीमा नाका, विशिष्ट व्यक्तित्व र अत्यधिक भीडभाड हुने संवेदनशील स्थानहरूको विशेष निगरानीका लागि तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको दुई नम्बर प्रदेशका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक विजयलाल कायस्थले जानकारी दिए।

प्रदेश नम्बर २ का आठवटा जिल्लामा ६० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। १३६ वटा स्थानीय तहका छ हजार ६०० जनप्रतिनिधिका लागि ३६ हजार ३०० भन्दा बढीले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.