|

लहानः स्थानीय तहको तेस्रो चरणको सोमबार हुने मतदानका लागि सिरहा र सप्तरीका सबै मतदान केन्द्रमा सम्पूर्ण तयारी पूरा भएको छ।

जिल्ला निर्वाचन कार्यालय सिरहाका अनुसार नौ गाउँपालिका र आठ नगरपालिका रहेको सिरहाका २२१ मतदानस्थलका ४३१ मतदान केन्द्रमा निर्वाचनको सबै तयारी पूरा भएको सिरहाका मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा आइतबार साँझसम्म मतदान केन्द्र निर्माणदेखि सबै तयारी सकिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले निर्वाचनका लागि नेपाल प्रहरीका मात्र तीन हजार ५०० प्रहरी परिचालन गरिएको जानकारी दिए। प्रहरी उपरीक्षक कोइरालाका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीसहित सशस्त्र प्रहरी र नेपाली सेना गरी करिब आठ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। 

जिल्लाको २२१ मतदानस्थलमध्ये अति संवेदनशील १०९ मा प्रहरी अधिकृतसहित ११ जना, ८४ संवेदनशीलमा प्रहरी अधिकृतसहित नौ जना र सामान्यमा प्रहरी अधिकृतसहित सात जना प्रहरी परिचालन गरिएको छ। 

त्यसका अतिरिक्त प्रहरी निरीक्षकको कमाण्डमा २० जना प्रहरीसहितको रिजर्भ फोर्स, हरेक नगरपालिकामा वरिष्ठ प्रहरी अधिकृतको कमाण्डमा तीन र गाउँपालिकामा दुईवटा मोवाइल टोली परिचालन गरिने जनाइएको छ। सोमबार हुने मतदानमा महिला मतदाताहरूलाई सहजताका लागि जिल्लाका हरेक मतदानस्थलमा कम्तिमा एक जना महिला प्रहरी खटाइएको प्रहरी उपरीक्षक कोइरालाले बताए। 

मतदानको दिन मतपेटिकासहित मतदानस्थल नेपाल प्रहरी, बीच भागमा सशस्त्र प्रहरी र बाहिरी तथा अन्तिम सुरक्षा घेरा नेपाली सेनाको कमाण्डमा रहने जनाइएको छ। सिरहामा तीन लाख ३२ हजार ८९४ मतदाता रहेका छन्। 

सप्तरीमा सात हजार सुरक्षाकर्मी
सप्तरीका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेका अनुसार सोमबार हुने मतदानका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित सात हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। 

जिल्ला सदरमुकाम राजविराजसहित मुख्य सडक तथा नाकाहरूमा चेकजाँच कडा पारिएको छ। जिल्लाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै लागूऔषध र बिष्फोटक पदार्थको खोजी गर्न विशेष तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। 

जिल्लाका नौ नगरपालिका तथा नौ गाउँपालिका गरी १८ वटै स्थानीय तहमा रहेका २९५ वटै मतदानस्थलमध्ये २०७ अति संवेदनशील र ८८ संवेदनशील मतदानस्थमा त्यहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरीक्षक सिंहले बताए। 

हेलिकोप्टरबाट निर्वाचन सामग्री
सप्तकोशीको भँगालोले बनाएको टापुको रूपमा रहेको हनुमाननगर कंकालिनी नगरगरपालिका– १३ गोबरगाढामा मतदाता परिचयपत्रसहितका निर्वाचन सामग्री हेलिकोप्टरबाट ढुवानी गरिएको छ। कुल ५७६ मतदाता रहेको गोबरगाढामा नेपाली सेनाको हेलिकोप्टरबाट निर्वाचन सामग्री पठाइएपछि आइतबार साँझसम्म मतदाता परिचयपत्र वितरणसहित मतदानकेन्द्र निर्माणलगायतका सबै तयारी पूरा भएको प्रमुख निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले जानकारी दिए। 

जिल्लाभर २९५ मतदानस्थल, ४६२ मतदान केन्द्र रहेको सप्तरीमा तीन लाख ३१ हजार ६७९ मतदाता रहेका छन्। जिल्लाका १८ वटा स्थानीय तहमा सोमबार हुने मतदानबाट ८५६ जना जनप्रतिनिधि निर्वाचित हुँदै छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.