|

काठमाडौं : अध्यागमन विभागले म्यान्मारको उत्तरी राज्य राखिनबाट विस्थापित भई बंगलादेशबाट भारत हुँदै नेपाल छिर्ने क्रममा पक्राउ परेका सात रोहिंग्या मुस्लिमलाई फिर्ता (इन्ट्री रिफ्युज) गरेको छ। नेपाल छिर्न खोजेका उनीहरूलाई वीरगन्ज अध्यागमन कार्यालयले भारततिरै फिर्ता गरिदिएको हो। सीमा र वीरगन्ज भन्सार सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलले वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने तयारीमा रहेका सात रोहिंग्या मुस्लिमलाई गत बिहीबार पक्राउ गरी वीरगन्जस्थित अध्यागमन कार्यालयमा बुझाएको थियो।

गृह मन्त्रालयका अनुसार फिर्ता गरिएकामा ३३ देखि ६७ वर्ष उमेर समूहका छन्। सशस्त्रले बुझाएका म्यान्मारका ती नागरिकलाई अध्यागमन कार्यालयले इन्ट्री रिफ्युज गरेको हो। अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले वीरगन्ज नाकाबाट काठमाडौं प्रवेश गर्न खोज्ने ७ जना बर्मेलीलाई इन्ट्री रिफ्युज गरिएको बताए। महानिर्देशक काफ्लेले भने, ‘तिनीहरू काठमाडौं आउन लागेका थिए। यात्रा शंकास्पद देखिएपछि भारततर्फ फिर्ता गरिदियौं।’

वीरगन्जस्थित अध्यागमन कार्यालयले उनीहरूको नेपाल भ्रमण स्पष्ट नभएको भन्दै ती सात रोहिंग्या मुस्लिमलाई इन्ट्री रिफ्युज गरेको हो। गृह मन्त्रालयले केही दिनअघि सबै सुरक्षा निकाय र अध्यागमन विभागलाई भारतीय सीमा क्षेत्रबाट म्यान्मारबाट विस्थापित रोहिंग्याहरू नेपाल प्रवेश गर्न सक्ने भन्दै निगरानी बढाउन निर्देशन दिएको थियो। सशस्त्र प्रहरी स्रोतले पक्राउ परेकाहरू रोहिंग्या मुस्लिम भएको र उनीहरू काठमाडौंमा रहेका आफ्ना साथीलाई भेट्न आएका थिए।

सीमा क्षेत्रमा आइपुगेका रोहिंग्यालाई सशस्त्र प्रहरीका अधिकारीले सोधपुछ गरेका थिए। उनीहरूले आफूहरू मुस्लिम रोहिंग्या भएको र काठमाडौं जान लागेको बताएपछि सशस्त्रले पक्राउ गरी वीरगन्जस्थित अध्यागमन कार्यालयमा बुझाएको थियो। दुई जना पुरुष, पाँच महिलाको समूहले भई बंगलादेश हुँदै नेपाल प्रवेश गर्न खोजेका थिए। सातमध्ये पाँच जनाले राम्रोसँग नेपाली भाषा बोल्न सक्छन्। सशस्त्र र अध्यागमनका कर्मचारीसँग उनीहरूले नेपाली भाषामै कुरा गरेका थिए।

उनीहरूले पटक-पटक नेपाल प्रवेशका लागि अनुमति दिन अध्यागमनका कर्मचारीसँग अनुरोध गरेका थिए। काठमाडौंको कपनस्थित बालुवाखानीमा जग्गा भाडामा लिई बसिरहेका ३ सय १२ मध्ये १ सय ४७ जनालाई शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको नेपाल कार्यालयले शरण दिएको छ। बाँकीले पनि आवेदन दिएका छन्।

अगस्ट २५ मा अल्पसंख्यक रोहिंग्या मुस्लिम समूहले राखिन राज्यका सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि म्यान्मारमा हिंसा भड्किएको थियो। उक्त राज्यमा भड्किएको हिंसाबाट विस्थापित लाखौं रोहिंग्या मुस्लिम बंगलादेशमा शरण लिएर बसेका छन्। विस्थापित बंगलादेशबाट भारत हुँदै नेपाल प्रवेश गर्ने सम्भावनालाई ध्यानमा राख्दै अध्यागमन विभागले भारतसँग जोडिएका अध्यागमन नाकामा कडाइ गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.