|

लहान : सिरहाको लहान नगरपालिका १० ग्रामीण सभाहल मतदान केन्द्रमा बिहान साढे ६ बजेदेखि नै मतदाता मत हाल्न लाइनमा बसेका छन्। ग्रामीण सभाहल मतदान केन्द्रमा मत खसाल्न आएकी ८४ वर्षीया ज्येष्ठ नागरिक सत्यमाया भट्टले बिहान ७ बजे नै आफ्नो मत खसालिन्। 

‘यो पटकको चुनाव रमाइलो लागेको छ, छोरा नाति पुस्ताकाले हाम्रो नगरलाई राम्रो बनाउन्, त्यसैले बुहारीको सहयोगमा मत खसाल्न आएँ’ उनले भनिन्। 
कुल आठ सय ५४ जना जनप्रतिनिधि निर्वाचन हुने सोमबारको निर्वाचनका लागि सिरहामा दुई सय २१ मतदान स्थल, चार सय ३१ मतदान केन्द्र कायम गरिएको छ भने जिल्लाभर तीन लाख ३२ हजार आठ सय ९४ मतदाता रहेका छन्। 

सुरक्षा व्यवस्था कडा
सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाका अनुसार जिल्लाको दुई सय २१ मतदानस्थलमध्ये अति संवेदनशील एक सय नौमा प्रहरीअधिकृतसहित ११ जना, ८४ संवेदनशीलमा प्रहरी अधिकृतसहित नौ जना र सामान्यमा प्रहरीअधिकृतसहित सात जना प्रहरी परिचालन गरिएको छ। त्यसका अतिरिक्त जिल्ला प्रहरी निरीक्षकको कमाण्डमा २० जना प्रहरीसहितको 'रिजर्भ फोर्स', हरेक नगरपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा तीन र गाउँपालिकामा दुई वटा मोबाइल टोली परिचालन गरिने जनाइएको छ।

मतदानमा महिला मतदाताहरुको सहजताका लागि जिल्लाका हरेक मतदानस्थलमा कम्तीमा एक जना महिला प्रहरी खटाइएको प्रहरी उपरीक्षक कोइरालाले बताए। मतदानको दिन मतपेटिकासहित मतदानस्थल नेपाल प्रहरी, बिच भागमा सशस्त्र प्रहरी र बाहिरी तथा अन्तिम सुरक्षा घेरा नेपाली सेनाको कमाण्डमा रहने जनाइएको छ। 

सप्तरीमा सात हजार सुरक्षाकर्मी
सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डका अनुसार मतदानका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित सात हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सदरमुकाम राजविराजसहित मुख्य सडक तथा नाकाहरुमा चेकजाँच कडा पारिएको छ। जिल्लाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै लागूऔषध र बिस्फोटक पदार्थको खोजी गर्न विशेष तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

जिल्लाको ९ नगरपालिका तथा ९ गाउँपालिका गरी १८ वटै स्थानीय तहमा कायम भएको २ सय ९५ वटै मतदान स्थलमध्ये २ सय ७ अतिसंवेदनशील र ८८ संवेदनशील मतदानस्थमा त्यही अनुसार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरीक्षक सिंहले बताए । जिल्लाभर दुई सय ९५ मतदानस्थल, चार सय ६२ मतदान केन्द्र रहेको सप्तरीमा तीन लाख ३१ हजार ६ सय ७९ मतदाता रहेका छन्। जिल्लाका १८ वटा स्थानीय तहमा सोमबार हुने मतदानबाट आठ सय ५६  जनप्रतिनिधि निर्वाचन हुनेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.