|

तुलसीपुर : तुलसीपुर उपमहानगरपालिकाले नेपालमै पहिलोपटक सुत्केरीलाई भत्ता दिन सुरु गरेको छ। तुलसीपुर उपमहानगरपालिकाले मातृशिशु सुरक्षा तथा सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यविधि २०७४ पारित गरेपछि रकम वितरण गरेको हो। पहिलो चरणमा पाँच हजारका दरले आइतबार २८ जना सुत्केरीले भत्ता पाएका छन्।

दुई महिनाको बच्चा काखमा च्यापेर आएकी तुलसीपुर ४ निवासी दुर्गा नेपालीले ५ हजार पाउँदा ज्यादै खुसी लागेको बताइन्। ‘अस्पतालमा बच्चा जन्माएपछि नौ सय हो कि एक हजार कति दिन्छ भन्ने सुनेको थिएँ, नेपालीले भनिन्’ नगरपालिकाले बोलाएर पाँच हजार दिँदा अच्चम लागेको छ।’

आर्थिक समस्या भएकालाई यसले ठूलो सहयोग पु¥याउने भन्दै नेपालीले प्राप्त रकमलाई पोसिलो खाने कुरामा सदुपयोग गर्ने बताइन्। ‘पोसिलो खानेकुरा खानुहोला, बच्चा र तपाईको स्वास्थ्य ख्याल राख्नु होला भनेर मेयरले भन्नुभयो ’ नेपालीले भनिन्।

यता, नगर प्रमख घनश्याम पाण्डेले कार्यकाल सम्हालेको एक सय दिन पूरा नहुँदै सुत्केरीलाई भत्ता वितरण गर्न पाउँदा आफुलाई ज्यादै खुशी लागेको बताए। निर्वाचनको समयमा पाण्डेले आफुले जितेमा एक सय दिनभित्र आर्थिक बर्ष २०७४ को साउन महिना देखि पाँच हजार सुत्केरी भत्ता दिने घोषणा गरेका थिए।

आमाको कोख देखि जन्मेको दुई बर्षसम्म शारिरीक र दिमागको विकास हुने महत्वपूर्ण समय भएकाले आमा र बच्चालाई पोषीलो खानेकुराका लागि प्रोत्साहन स्वरुप भत्ता प्रदान गरिएको नगर प्रमुख पाण्डेले बताए। ७ सय ५३ वटा स्थानीय तहमध्य सुत्केरी भत्ता वितरण गर्ने आफु पहिलो भएको उनले दाबी गरे।

वडामा अहिले अनलाईन प्रविधिमा जन्मदर्ताको व्यवस्था नभएकाले उप महानगरपालिकाबाट वितरण गरेको भन्दै नगर प्रमुख पाण्डेले छिट्टै सुत्केरी भत्ता वितरण प्रकृयाईलाई वडामा लैजाने बताए।

नियमित चारपटक गर्भ जाँच, जुकाको औषधी आइरण चक्की, खाएको, टिटी खोप लगाएको, स्वास्थ्य संस्थामा सुत्केरी भएको र बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएका आमाले पाँच हजार सुत्केरी भत्ता प्राप्त गर्न सक्ने तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य उप संयोजक विष्णु पोख्रेलले जानकारी दिए। गर्भजाँच नगराएको तर स्वास्थ्य संस्थामा सुत्केरी गराएकाले तीन हजार रुपैया मात्रै प्राप्त गर्न सक्छन्।

स्वस्थ आमा, स्वस्थ परिवार, देशविकासको आधार भन्ने नाराअनुसार मातृशिशु मृत्युदर कम गर्न ५ हजार सुत्केरी भत्ताको वितरण प्रकृया अघि सारेको उपमहानगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.