|

  • ईश्वर थापा

धनकुटा : काठमाडौको डिभाइन ब्वाइज युनियन क्लबले १३ औं संस्करणको सहिद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रय आमन्त्रण गोल्डकप फुटबलको उपाधि जितेको छ। आइतबार फाइनलमा झापाको विर्तामोड युनाइटेड क्लबलाई ट्राइबेकरमा ३–२ गोल अन्तरले हराउँदै डिभाइन ब्वाइज युनियन क्लबले जितेको हो।

डिभाइन ब्वाइज युनियन क्लबका प्रशिक्षक सुजन तन्डुकारले उपाधि जित्न पाउँदा एकदमै खुसी लागेको बताए। उनले भने, ‘राम्रो टिमवर्क र जोशका साथ खेलेकाले इतिहास कायम गर्न सफल भयौं।’ 

डिभाइन ब्वाइज युनियन क्लबले गोल्डकपसहित नगद १ लाख रुपैयाँ जितेको छ भने र बिर्तामोड युनाइटेड क्लबले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ। 
खेलको पहिलो हाफमा दुबै टीमबाट कुनै पनि गोल हुन सकेन। 

दोस्रो हाफको पाँचौ मिनेटमा डिभाइन ब्वाइज युनियनका अभिषेक लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर, खेलको ३१ औं र ३२ औं मिनेटमा बिर्तामोड युनाइटेडका कर्ण लिम्बूले लगातार गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए। 

त्यसपछि दोस्रो हाफकै ३५ औं मिनेटमा विर्तामोड युनाइटेडका खेलाडीले डिभाइन ब्वाइज युनियनका नाइजेरियन खेलाडी अबुवाकोनलाई बिर्तामोडका खेलाडीले डिबक्समा लडापछि प्राप्त पेनाल्टीमा गोल गर्दै असिक थापा मगरले खेल २–२ को बराबरीमा ल्याए।

लगत्तै डिभाइन ब्बाइजले आक्रमण गर्‍‍यो। डिभाइन ब्वाइज युनियन क्लबका नाइजेरियन खेलाडी मेडोले गरेको प्रहारलाई बिर्तामोड युनाइटेडका गोलकीपर दिनेश थापा मगरले उत्कृष्ट बचाउ गरे।

डिभाइन ब्वाइज युनियनकै अर्का नाइजेरियन खेलाडी डिजीब्रिलले गरेको प्रहार गोलपोष्टमा लागेर फर्कियो। निर्धारित समयमा थप गोल हुन नसक्दा खेल सिधै टाइब्रेकरमा धकेलियो। 

टाइब्रेकरमा बिर्तामोड युनाइटेडका सुमिन निरौला र योगेश गुरुङले गोल गरे भने कर्ण लिम्बू र रभी थापा मगरको प्रहार डिभाइन ब्वाइज युनियनका गोलकिपर सागर रायाले रोके। बुद्ध चेम्जोङको प्रहार गोलपोष्टमा लागेर फर्किएको थियो।

डिभाइन ब्वाइज युनियनका जय गुरुङ, अभिषेक थापा मगर र सेन्डिट गुरुङले गोल गरे भने रुपेश केसी र नाइजेरियन खेलाडी मार्टिन्सले गरेको प्रहार गोलपोष्टमा लागेर फर्किएको थियो। 

विर्तामोड युनाइटेडका बुद्ध चेम्जोङ ‘म्यान अफ दि म्याच’ घोषित भए। उनले नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट खेलाडीको पुरस्कार डिभाइन ब्वाइज युनियनका नाइजेरियन खेलाडी कोनेले प्राप्त गरे। उनले नगद ५ हजार रुपैयाँ पुरस्कार पाए। 

फाइनलका दिन धनकुटेली पत्रकारहरु हरिबहादुर लम्जेल र रविन कट्टेल जनही नगद २ हजार  ५ सय रुपैयाँसहित सम्मानित भए। 

विजेता खेलाडी तथा पुरस्कृत व्यक्तिहरुलाई सहिद भीमनारायण पत्नी लक्ष्मी श्रेष्ठ, एन्फाका सदस्य अशोक भगत श्रेष्ठ, सहिदपुत्र एवम् सभासद् मनोहर नारायण श्रेष्ठ लगायतले पुरस्कृत गरे। 

नेपाली कांग्रेसका नेता शहिद भीमनारायण श्रेष्ठको नाममा २०५५ शालमा स्थापित प्रतियोगिता २०६३ यता नियमित हुँदै आएको छ।

सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा २०३३ सालमा पक्राउ गरी २०३५ साल माघ ६ गते तत्कालीन पञ्चायती सरकारले गोली हानी हत्या गरेको थियो। सरकारले श्रेष्ठलाई करिब एक वर्षअघि मात्रै स्व भीमनारायणलाई राष्ट्रिय सहिद घोषणा गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.