|

पर्वत : हिन्दू नेपालीहरुको महान् पर्व दसैं र तिहार नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी सुरु भएको छ। बेनी–जोमसोम सडक मार्ग भएर म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन र राजधानी काठमाडौंको बजारमा बिक्रीका लागि भेडाच्याङ्ग्रा निकासी गर्न थालिएको हो। भेडाच्याङग्रा खरिदका लागि विभिन्न ठाउँका व्यापारी शुक्रबार नै मुस्ताङ पुगेका थिए।

मुस्ताङी कृषकले आफूले पालेका र चिनियाँ व्यापारीबाट खरिद गरेका भेडाच्याङ्ग्रा बिक्रीका लागि जोमसोम ल्याएका छन् भने देशका विभिन्न ठाउँका व्यापारी खरिदका लागि जोमसोम पुगेका छन्। बेनी–जोमसोम सडक भएर दैनिक सयौंको संख्यामा भेडाच्याङ्ग्रा निकासी भइरहेका छन्।

हिमाली हावापानी र चिसो वातावरणमा हुर्किएका भेडाच्याङ्ग्राको मासु स्वादिलो मानिने भएकाले दसैं तिहारको बेलामा यसको खपत र बिक्री बढ्ने गरेको छ। च्याङ्ग्रा खरीद फर्किँदै गरेका व्यपारीहरुका अनुसार उनीहरुले एउटा भेडा (च्यालु) लाई कम्तीमा १९ हजार र च्याङ्ग्रालाई कम्तीमा २५ देखि ३२ हजारसम्ममा खरिद बिक्री भइरहेको बताएका छन्।

यस वर्ष मुस्ताङबाट करिब २० हजार भेडाच्याङ्ग्रा निकासी हुने जिल्ला पशुसेवा कार्यालयको अनुमान छ। खाद्य संस्थानले पनि मुस्ताङबाट २ हजार भेडाच्याङ्ग्रा काठमाडौं लैजाँदै छ। जसका लागि खाद्य संस्थानको टोली पनि जोमसोम पुगिसकेको छ। गत वर्ष मुस्ताङका कृषकले १३ हजार भेडा र आठ हजार च्याङ्ग्रा निकासी गरेर २७ करोड आम्दानी गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.