|

'लौहपुरुष'को उपमा पाएका नेपाली राजनीतिज्ञ गणेशमान सिंहले देह त्याग गरेको आज दुई दशक पूरा भएको छ। जहानियाँ राणा शासन अन्त्यका लागि युवा वयमै क्रियाशील गणेशमान सिंहले साढे पाँच दशक नेपाल र नेपालीको हितका निम्ति व्यतीत गरे। वि.सं. १९७२ मा काठमाडौँको सम्पन्न परिवारमा जन्मिएका गणेशमान वि.सं. १९९७ मा गठन भएको नेपालकै पहिलो राजनीतिक संगठन 'प्रजा परिषद'का सदस्य बनेर राणा शासनविरोधी आन्दोलनमा लागे। त्यसयता निरन्तर मृत्युपर्यन्त राजनीतिका माध्यमले देश र जनताको मुक्ति र समृद्धिका खातिर संघर्ष गरिरहे गणेशमानले।

उनका बाजे रत्नमान राणाकालका भारदार थिए। कलकत्ताबाट सन् १९३९ मा प्रथम श्रेणीमा मेट्रिक (एसएलसी) पास गरेका गणेशमान त्यसपछि कलकत्ताकै विद्यासागर कलेजमा विज्ञान विषय पढ्न थाले। आईएस्सी पढ्दापढ्दै सिंह राजनीतिमा प्रवेश गरे।

वि.सं. १९९७ असारमा मंगलादेवीसँग विवाह गरेका गणेशमानको विवाह गरेको चार महिना पनि नबित्दै गिरफ्तारी भयो, वि.सं. १९९७ कात्तिकमा। गिरफ्तारीपछि तात्कालीन राणा सरकारले सर्वश्व हरणसहित आजीवन कारावासको दण्ड दियो। उनीसँगै जेल परेका गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई भने मृत्युदण्ड दिइयो।

२००१ बैशाखमा उनी भद्रगोल जेलको पर्खाल नाघेर भागे। जेलबाट भागेपछि पनि उनी नेपालीहरूको बसोवास रहेका भारतका दार्जिलिङ, सिक्किम, कालिङपोङ, कलकत्ता, वनारस र लाहोरसम्म पुगे।

भारतमै वीपीसँग मिलेर कांग्रेस पार्टीको स्थापना गरेर ००७ सालमा क्रान्तिको तयारीका लागि नेपाल आएका उनलाई ००७ असोज २७ गते ठोरीको जंगलमा पक्राउ गरियो। प्रजातन्त्रको स्थापना भएपछि रिहा भएका गणेशमान मोहनशमशेरको नेतृत्वमा बनेको अन्तरिम मन्त्रिमण्डलमा उद्योग तथा वाणिज्यमन्त्री बने।

भद्रगोल जेलमा रहँदा जेल फोरेर बहादुरी देखाएका गणेशमान त्यसपछि धेरै वर्ष प्रवासमा रहे। तात्कालीन शासकबाट विद्रोही, देशद्रोही, अराष्ट्रिय तत्त्व आदि आरोप खेपेका गणेशमानको भेट प्रवास वासकै क्रममा अर्का विद्रोही वीपी कोइरालासँग भएपछि वि.सं. २००३ मा नेपाली कांग्रेस पार्टीको जन्म भयो, भारतमै।

कांग्रेस पार्टीको गठन भएसँगै राणाविरोधी आन्दोलन पनि तीब्र हुनथाल्यो, देशभित्र र बाहिरबाट पनि। यसै क्रममा गणेशमानले वीरगञ्ज मोर्चामा सक्रिय भएर भूमिका निर्वाह गरे, सशस्त्र संघर्षको नेतृत्व गर्दै।

देश र जनताको हितका लागि जीवन अर्पण गर्ने वाचा गरेका उनलाई न राणाले दबाउन सके, न निर्दलीय पञ्चायती शासकले नै। उनी पुन: भारत निर्वासनमा गए। त्यहीँबाट उनले निर्दलीय पञ्चायतविरोधी अभियानलाई तीब्रता दिए। पछि वीपीसँगै राष्ट्रिय मेलमिलापको नीति लिएर ०३३ सालमा उनी नेपाल फर्किए। राष्ट्र र राष्ट्रियता नै प्रमुख कुरा हुन् भन्ने कुरामा उनी आश्वस्त थिए।

२००८ सालमा मातृकाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा कृषि, भूमि तथा खाद्यमन्त्री बनेका सिंहले केही समयपछि नै मातृकाप्रसादको मन्त्रिमण्डल त्यागे।

सैद्धान्तिक आदर्शमा वीपीका अनुयायी गणेशमान सिंह निकै लामो समयसम्म नेपालकै पुरानो राजनीतिक दल नेपाली कांग्रेसको नेतृत्वमा रहे। उनी २०१५ सालमा गठित पहिलो जननिर्वाचित सरकारमा मन्त्री बनेका थिए। ०१७ साल पुस १ गते राजा महेन्द्रले शिशु प्रजातन्त्रको हत्या गरेर निर्दलीय पञ्चायती व्यवस्थाको सुरुवात गरेपछि गणेशमान पक्राउ परे र लगातार आठ वर्ष कारावास सजाय भोगे।

कारावासमुक्त भएपछि पनि उनको राजनीतिक सक्रियता शिथिल बनेन। देश र जनताको हितका लागि जीवन अर्पण गर्ने वाचा गरेका उनलाई न राणाले दबाउन सके, न निर्दलीय पञ्चायती शासकले नै। उनी पुन: भारत निर्वासनमा गए। त्यहीँबाट उनले निर्दलीय पञ्चायतविरोधी अभियानलाई तीब्रता दिए। पछि वीपीसँगै राष्ट्रिय मेलमिलापको नीति लिएर ०३३ सालमा उनी नेपाल फर्किए। राष्ट्र र राष्ट्रियता नै प्रमुख कुरा हुन् भन्ने कुरामा उनी आश्वस्त थिए।

तात्कालीन शासकका यातना, धम्की, जेल र मृत्युदण्डको सजायको समेत उनले परवाह गरेनन्। एक अथक र साहसी योद्धाका रूपमा निरन्तर सक्रिय रहे। उनले ०३६ सालको विद्यार्थी आन्दोलन होस् वा २०४२ सालको सत्याग्रह, यी अनेक आन्दोलनमा सफल र प्रभावकारी भूमिका निर्वाह गरे।

कुनै एक राजनीतिक दलको बलमा मात्र प्रजातन्त्र स्थापना गर्न संभव छैन भन्ने कुरामा गणेशमान प्रष्ट थिए। यही कारण निर्दलीय पञ्चायतको जरो उखेल्न कम्युनिष्ट पार्टीसँग मिलेर मात्र संभव देखेर ०४६ सालको जनआन्दोलनको नेतृत्व आफैँले सम्हालेर संयुक्त जनआन्दोलनमार्फत् ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थाको उन्मूलन गर्न महत्त्वपूर्ण भूमिका खेले।

२०४६ फागुन ७ गते सुरु भएको संयुक्त जनआन्दोलनको नेतृत्व गरेका सर्वोच्च कमाण्डर सिंहलाई आन्दोलनको क्रममा घरमै नजरबन्द गरियो। पछि गम्भीर रूपमा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका सिंहलाई अस्पतालमै पनि नजरबन्द गरियो।

२०४६ साल चैत्र २६ गते राती राजा वीरेन्द्रले दलहरूमाथिको प्रतिबन्ध फुकुवा गरेको घोषणापछि २०४६ चैत २७ गते टुँडिखेलमा आयोजित विशाल जनसभामा ऐतिहासिक सम्बोधन गर्ने सिंहलाई 'प्रजातन्त्रका पिता'को रूपमा सम्मानित गरियो।

गणेशमानमा त्यागको भावना कतिसम्म थियो भने जनआन्दोलनपछिको अन्तरिम सरकारको नेतृत्व लिन राजा वीरेन्द्रले आग्रह गर्दा सिंहले अस्वीकार गरे।

नेपाल तथा विश्वमै मानवअधिकार र शान्ति स्थापनाका निम्ति नेतृत्वदायी भूमिका निर्वाह गरेवापत सम्मान स्वरूप अमेरिकाबाट पिसरन पुरस्कार- १९९० तथा मानवअधिकार पुरस्कार- १९९३ एवं संयुक्त राष्ट्रसंघका भूतपूर्व महासचिव ऊ थान्तको नाममा स्थापित 'ऊ थान्त शान्ति पुरस्कार' बाटसमेत सिंह सम्मानित भए।

'सर्वमान्य नेता'का रूपमा सम्मानित गणेशमान सिंहको राजनीतिक जीवनको उत्तरार्द्ध भने त्यति राम्रो रहेन। पार्टीभित्रका गुट/उपगुट र लुछाचुँडीको सिकार उनी पनि बने, किशुनजीसँगै। विशेषणमा 'सर्वमान्य' भनिइरहिए पनि उनीप्रतिको 'मान' नाम (गणेशमान) मा सीमित पारियो। सम्मानित नेताको अवसान एक प्रकारले अपमानित रूपमा भयो, वि.सं. २०५४ असोज २ गते।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.