|

काठमाडौँः कमलपोखरीस्थित रसियन कल्चरल सेन्टरमा सोमबारदेखि छैटौँ नेपाल–अफ्रिका फिल्म फेस्टिबल– २०१७’ सुरु भएको छ। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त फेस्टिबलको सोमबार उद्घाटन गरे। 

असोज २ गतेदेखि असोज ४ गतेसम्म तीन दिन निरन्तर चल्ने फेस्टिबललाई सम्बोधन गर्दै ओलीले नेपाल र अफ्रिकाका मुलुकहरू संस्कृतिमा धनी भएकाले यस्ता चलचित्र महोत्सवले दुई देश र फरक भूगोलको कला संस्कृतिलाई जोड्ने विश्वास व्यक्त गरे। 

एउटा कलेजबाट यति ठूलो महोत्सब हुनु सराहनीय कार्य भएको बताउँदै महोत्सवले नेपाली र अफ्रिकी जनतालाई सिनेमाको माध्यमबाट नजिक ल्याउने कार्य भएको पनि पूर्व प्रधानमन्त्री ओलीले बताए। 

कलेज अफ मास कम्युनिकेसन एन्ड जर्नालिज्मद्वारा आयोजित फेस्टिबलमा उक्त कलेजकी प्रिन्सिपल एवं फेस्टिबलकी निर्देशक डा. मञ्जु मिश्रले अफ्रिकालाई अफ्रिकी लेन्सबाटै हेर्नुपर्छ भन्ने उद्देश्यले विगत छ वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएको बताइन्। 

सरकारी क्षेत्रबाट हुनुपर्नेमा निजी क्षेत्रबाटै आयोजन हुँदै आएको यो महोत्सवले नेपाल र अफ्रिकाबीच सांस्कृतिक आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेलेको डा. मिश्रले बताइन्। यस पटक अफ्रिकी महाद्विप र युरोपबाट विभिन्न १५ जना चलचित्रकर्मी सहभागी भएको पनि उनले जानकारी दिइन्। 

ओस्लो युनिभर्सिटी कलेज नर्वेकी प्रोफेसर क्रिस्टिन स्कारे, अफ्रिका रिसर्च सेन्टर कम्युनिकेसन युनिभर्सिटी अफ चाइनाकी पूर्व विभागीय प्रमुख प्रा. ज्याङ याङक्वी, लुजोर अफ्रिकन फिल्म फेस्टिबल इजिप्टका अध्यक्ष सायद फौएदलगायतले नेपाल–अफ्रिका फिल्म फेस्टिबलको चर्चा गरे। 

कार्यक्रममा आगामी वर्षदेखि सहकार्य गर्दै अघि बढ्न महोत्सवको उद्घाटन समारोहमा इजिप्टका लुजोर अफ्रिकन फिल्म फेस्टिवल इजिप्टका अध्यक्ष सायद फौएद र नेपाल–अफ्रिका फिल्म फेस्टिबलकी अध्यक्ष डा. मञ्जु मिश्रबीच हस्ताक्षरसमेत भयो। 

जन्जिबार फिल्म फेस्टिबलसँगको सहकार्यमा हुँदै आएको यो महोत्सवको उद्घाटन समारोहमा रवि धमलाको कोरियोग्राफीमा अफ्रिकी फेसन सो आयोजना गरियो। यस्तै, लाखे, धिमे, तामाङ सेलोलगायत विभिन्न नृत्यहरू पनि उद्घाटन समारोहमा प्रस्तुत गरियो।

यस पटक महोत्सवमा नौवटा चलचित्र प्रदर्शन गरिँदै छ । यीमध्ये एउटा नेपाली र बाँकी अफ्रिकी मुलुकका छन्। महोत्सवमा सोमबार इजिप्टबाट मोहम्मद रसद निर्देशित फिल्म ‘लिटिल इगल’ र नेपाल/तान्जानिया/भारतको जमेस गियाम्ब्रोने र रुस पारिसेओउ निर्देशित ‘होल्डिङ अप द स्काई’ प्रदर्शन गरियो। 

यस्तै असोज ३ मा युगान्डाको एगोन्जे अर्नोल्ड निर्देशित ‘नथिङ इज गोइङ अन’, संयुक्त राज्य अमेरिका/चिलुवाको ह्वेभेस स्ट्रिटर निर्देशित ‘सिलिकन भ्याली’, मोरक्को/फ्रान्सको फाओजी बन्साइदी निर्देशित ‘मिली मिओस’ र सेनेगलको ‘ह्वेनास’ प्रदर्शन गरिनेछ। 

महोत्सवको अन्तिम दिन असोज ४ मा युगान्डाको टोची मादुवा निर्देशित ‘फेटल डिस्टिनी’, रुवान्डाको मारिई निर्देशित ‘अ पिस फर माइसेल्फ’ र नेपालबाट रोशनी केसी निर्मित चलचित्र ‘डा. खाते’ प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.