|

पर्सा : वीरगन्ज महानगरस्थित खाद्य संस्थान मतदान केन्द्रमा सोमबार बिहान मतदान गर्न आएका यातायात व्यवसायी परजित सिंह निकै उत्साहित देखिन्थे। भोट हाल्न लामबद्ध ६५ वर्षीय सिंह अल्पसंख्यक सिख समुदायका अगुवा व्यवसायीमध्येका हुन्। ‘म भोट हाल्न आतुर थिएँ,’ उनले भने, ‘२० वर्ष त्यसै बित्यो, हामीले स्थानीय तहका जनप्रतिनिधि चुन्न पाएका थिएनौं, अहिले हाम्रा लागि ठूलो अवसर आयो।’

स्थानीय निर्वाचन भए पनि यसले दुई दशकयता मुलुकमा भएका उथलपुथल र परिवर्तनलाई जनस्तरबाट पारित गर्ने उनले बताए। ‘दुई दशकयता धेरै परिवर्तनको अनुभूति गर्‍यौं, त्यसलाई जनस्तरबाट पारित गर्ने मौका हो यो,’ उनले भने, ‘परिवर्तन संस्थागत गर्दै अब मुलुकमा आर्थिक विकासको ढोका खोल्न जरुरी छ।’

सिंहजस्तै वीरगन्ज १६ नगवा मतदान केन्द्रमा आएकी ५५ वर्षीया गृहिणी उरैशा खातुनलाई मतदानका दिन पनि टोलको भत्केको बाटो र नालाको चिन्ता थियो। ‘महानगरमा वर्षौंदेखि भत्किएका सडक र नाला व्यवस्थित गर्न सक्ने उम्मेदवारलाई मैले भोट हालें,’ उनले भनिन्, ‘स्थानीय निर्वाचन भएकाले यहींका समस्या बुझ्नेलाई जिताउनुपर्छ।’

अन्तिम चरणको स्थानीय चुनावका दिन महानगरका बासिन्दा बिहानै मत खसाल्न आएका थिए। उनीहरू बिहानैदेखि आफ्नो मतदान केन्द्रमा लामबद्ध थिए। नयाँ पहिरनमा चिटिक्क परेर आएका मतदातामा चाडबाडको झैं रौनक झल्किन्थ्यो। वीरगन्जकै टिवडेवाल धर्मशाला केन्द्रमा भोट हालेर फर्किरहेका ८२ वर्षीय उद्योगी तथा वरिष्ठ समाजसेवी हीरालाल केडियाको मुहार उज्यालो देखिन्थ्यो।

‘धेरै वर्षपछि जनप्रतिनिधि छान्न पाउँदा खुसी लाग्नु स्वाभाविक हो,’ उनले भने, ‘जसले जिते पनि महानगरको मुहार फेर्न सक्नुपर्छ, हामीलाई उद्योग व्यवसाय चलाउने शान्त वातावरण चाहिएको छ, बिजुली चाहिएको छ, अब बन्ने मेयरबाट यही आशा गरेको छु।’

उनीहरूजस्तै जिल्लाका बासिन्दा उत्साहजनक रूपमा मतदानमा सहभागी भए। आइतबार राति पानी परेर मौसम चिसिएको थियो। बिहान घाम लागेपछि गर्मी बढ्यो। कतिपय केन्द्रमा हिलो भए पनि मतदाता लामबद्ध देखिन्थे। त्यसले उनीहरूको उत्साह घटेन। रोजगारी तथा शिक्षाका लागि मुलुकका विभिन्न भागमा तथा भारतमा रहेकाहरू गृहजिल्ला फर्केकाले यहाँ दसैं, तिहार तथा छठ पर्वको जस्तो रौनक अहिले नै देखिन्थ्यो। लामो समयदेखि आफन्त तथा इष्टमित्रसँग छुट्टिएकालाई निर्वाचनले भेट्ने अवसर जुटायो।

चलचित्र अभिनेता तथा व्यवसायी शिवजी विश्वकर्माले दुई दशकपछि जनप्रतिनिधि चुन्ने अवसरलाई महान् पर्वका रूपमा लिएको बताए। ‘चुनाव दसैंअघि नै महान् पर्वका रूपमा आयो,’ उनले भने, ‘२ नम्बर प्रदेशमा चुनाव शान्तिपूर्वक हुन्छ कि हुँदैन भन्ने संशय थियो, चाडपर्वजस्तै हर्ष र उल्लास बोकेर पो आयो।’

सदरमुकाम तथा जिल्लाका ग्रामीण भेगमा पनि शान्तिपूर्वक मतदान सम्पन्न भएको जिल्ला निर्वाचन प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए। १ महानगर, ३ नगरपालिका र १० गाउँपालिका रहेको पर्सामा झन्डै ७५ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ। उदयपुर घुर्मीमा बिहान मतदानका क्रममा कांग्रेस, फोरम र एमालेका कार्यकर्ताबीच झडपबाहेक सबैतिर शान्तिपूर्ण रूपले निर्वाचन सम्पन्न भएको छ। बहोदरामाई नगरपालिका ९ का सहायक मतदान अधिकृत शिवप्रसाद खतिवडालाई आचरणविपरीत कार्य गरेकाले निलम्बन गरिएको थियो।

ढुक्कले मतदान

सर्लाहीमा यसपटक सर्वसाधारणले ढुक्कले मताधिकार प्रयोग गरे। संवेदनशील मानिएका क्षेत्रका मतदाताले भोट हालेपछि खुसी व्यक्त गरे। जिल्लाको निर्वाचन क्षेत्र ६ सुरक्षा दृष्टिले संवेदनशील मानिन्छ। विगतका निर्वाचनमा बुथ कब्जा र गोलीबारुदका घटना हुने गरेको यो क्षेत्रमा अहिले ४ स्थानीय तह छन्। संविधानसभाका दुइटै निर्वाचनमा उक्त क्षेत्रमा धेरैले मतदान गर्न पाएका थिएनन्।

बलरा गाउँका एक मतदाताले २०५६ को निर्वाचनपछि पहिलोपटक मत खसाल्न पाएको बताए। ‘हाम्रा नाममा अरूले मत खसाल्ने गरेका थिए,’ उनले भने, ‘यसपटक सुरक्षा व्यवस्था कडा भएकाले हामीले मतदान गर्न पायौं।’

यही क्षेत्रमा घर भएका राष्ट्रिय जनता पार्टी ९राजपा० अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले चन्द्रनगर गाउँपालिकाको बबरगन्जस्थित दुर्गा खोभारी मावि केन्द्रबाट मतदान गरे। चन्द्रनगरमा उनकै दाजु महेन्द्र महतो राजपाका तर्फबाट प्रमुख पदका उम्मेदवार छन्। राजपा अध्यक्षमण्डलका अर्का नेता महेन्द्र राय यादवले हरिपूर्वा नगरपालिका ९ रामजानकी मतदान केन्द्रबाट मतदान गरेका थिए। दुवै नेताले ८ बजेअघि मतदान गरिसकेका थिए।

राजपाका संयोजक महन्थ ठाकुर भने बिरामी परेर आइतबार बिहानै राजधानी फर्किए। उनी मलंगवा नगरपालिका ८ का मतदाता हुन्। खुट्टा दुखेर हिँड्न कठिन भएपछि आइतबार दिउँसो जनकपुर हुँदै ठाकुर राजधानी गएको राजपाका सांसद केदारनन्दन चौधरीले बताए। राजपा अध्यक्षमण्डलका तीन प्रमुख नेताको गृहजिल्ला भएकाले यहाँको निर्वाचन र परिणामलाई महत्त्वपूर्ण मानिएको छ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले विभिन्न स्थानमा मतदातालाई मतदान गर्न वञ्चित गरेको सूचना पाएकाले यसपटक विशेष सुरक्षा मिलाएर मतदान गर्न पाउने लोकतान्त्रिक अधिकार सुनिश्चित बनाइएको बताए। ‘वर्षांैदेखि मतदान गर्न नपाएका धेरै रहेछन्,’ उनले भने, ‘यसपटक कुनै हालतमा मतदानको अधिकारबाट वञ्चित हुन नदिने भनेरै हामीले सुरक्षा मिलाएका थियौं। मतदान गर्नै नपाउने अवस्था लोकतन्त्रको उपहास हो।’

जिल्लामा छिटफुट घटनाबाहेक शान्तिपूर्ण मतदान सकिएको छ। आइतबार राति हुरीबताससहित पानी परे पनि मतदान अवधिभर आकाश खुलेको थियो।

रौतहटमा उल्लासपूर्ण

रौतहटको चन्द्रपुर नगरपालिका ८ की ६७ वर्षीया जोखनीदेवी छोरा सरोजको हात समातेर बिहानै सन्तपुर मतदान केन्द्र पुगिन्। बिरामी भए पनि उनले जनप्रतिनिधि चुन्ने अवसर गुमाइनन्। मतदाता परिचयपत्र रुजु भएपछि आफैंले मतपत्र लिएर भोट हालिन्। ‘कति वर्षपछि भोट हालें थाहा छैन,’ उनले भनिन्, ‘लामो समयपछि मुखिया चुन्न पाउँदा खुसी छु।’ जोखनीजस्तै उत्साही देखिन्थे आम मतदाता। घरधन्दा छाडेर बिहानै महिला भोट हाल्न पुगेका थिए।

उनीहरूले घण्टौं लाइन बसेर भोट खसाले। मतदान केन्द्रबाहिर दलका कार्यकर्ताको भीड थियो। उनीहरू साइकल र अन्य सवारी प्रयोग गरी मतदाता ओसार्न व्यस्त थिए। पटक–पटक अधिकारको माग राखेर आन्दोलन चलाएका मधेसी समुदाय आआफ्नो पार्टीमा खुलेर लागेका थिए। उम्मेदवार छनोटमा ढिलाइ, कार्यकर्ता तानतानलगायत असन्तुष्टिका कारण जिल्लामा कुन दलको अग्रता छ भन्न सक्ने अवस्था छैन।

वृन्दावन नगरपालिकाका महेन्द्र पटेलले धेरै समयपछि प्रतिनिधि चुन्न पाउँदा हर्षित भएको बताए। ‘पहिलो वा दोस्रो चरणमा चुनाव गराउनुपथ्र्यो,’ उनले भने, ‘बिनाकारण मधेसको चुनाव पछि पारियो।’ ढिलै भए पनि मुखिया चुन्न पाएकामा उनी खुसी छन्। मौलापुर नगरपालिकाको गम्हरिया मतदान केन्द्रमा सामान्य झडप हुँदा प्रहरीले एक राउन्ड हवाई फायर गर्नुपर्‍यो।

यद्यपि जिल्लाभर निर्वाचन सोचेभन्दा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला प्रहरी प्रमुख एसपी यज्ञविनोद पोख्रेलले बताए। १६ वटा नगरपालिका तथा दुईवटा गाउँपालिकामा बिहान ७ बजेबाट मतदान सुरु भएको थियो। जिल्लाभर २ सय ७७ मतदान स्थल, ४ सय ३४ मतदान केन्द्र तोकिएका थिए।

मतपत्र सुरक्षित पार्न केही गणनास्थलमा तारजाली लगाइएको जिल्ला सहायक निर्वाचन अधिकृत कीर्तिराज सुवेदीले बताए। दलका प्रतिनिधिले मतपत्र नच्यातून् भनेर गौर नगरपालिकाको मतगणनास्थलमा तारबार लगाइएको छ। अन्य गणनास्थलमा अवस्था हेरी तारबार लगाउने तयारी भइरहेको उनले जनाए। दलका प्रतिनिधि बस्ने स्थानमा तारबार हुनेछ।

तर्साउन’ विस्फोट

सर्लाहीको हरिऔन नगरपालिका १ बिलन्दी प्रावि मतदान केन्द्रबाट मतपेटिका ल्याउने क्रममा बाटामा अवरोध भएको छ। चुरे डाँडामा पर्ने उक्त केन्द्रबाट मतपेटिका बोकेर ल्याइँदै गर्दा सडकमा बम पडकाएर अवरोध गर्न खोजिएको हो। बिलन्दीका मतदान अधिकृत शंकरप्रसाद देवले मतपेटिका गन्तव्यतर्फ लैजाँदै गर्दा विस्फोट गराएर अवरोध गर्न खोजिएको बताए।

‘कुनै क्षति भएको छैन, मतपेटिका सुरक्षित छन्,’ देवले भने, ‘सुरक्षाकर्मीले क्षति हुन दिएनन्। ‘तर्साउन खोजिएको थियो,’ प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले भने, ‘सुरक्षा व्यवस्था कडा छ।’

मुख्य निर्वाचन अधिकृत सूर्यप्रसाद अधिकारीले हुरीबतासले केही ठाउँमा पानी पसेर मतदान केही ढिलो भएको बताए। ‘पानीले सामान्य असर पर्‍यो,’ उनले भने, ‘मतदान केन्द्रमा जमेको पानी काटेर ७ बजे नै मतदान गर्न भनेका थियौं। केही ठाउँमा बढीमा १० मिनेट मात्र ढिलो भयो।’

ढुंगा हानियो

सर्लाहीको कौडेना गाउँपालिकाको मोतिपुर मतदान केन्द्रमा अपराहन मतदानका लागि लाइन बसेका मतदातालाई ढुंगा हानिएको छ। ढुंगा हान्नेको पहिचान नभएको प्रहरीले जनायो। ढुंगा प्रहारबाट एक जना घाइते छन्। जिल्ला अस्पताल मलंगवामा उपचारपछि घाइते घर फर्केका छन्। प्रहरीले बल प्रयोग गरी कुनै अप्रिय घटना हुन नदिएपछि मतदान सुचारु भएको थियो।

जिल्लाका विभिन्न स्थानमा अर्काका नाममा मत खसाल्न आएका एक दर्जनलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी कँडेलले बताए। त्यसैगरी अनुमतिबिना चलाइएका ४० भन्दा बढी सवारी प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका सवारीमा अधिकांश मोटरसाइकल छन्।

यसैबीच बलरा नगरपालिकामा आइतबार राति गोली चलेको छ। सांसद अमरेशकुमार सिंहका सुरक्षागार्डले गोली चलाएको प्रहरीले जनाएको छ। राति सुरक्षागार्डसहित गाउँमा हिँडेका बेला अन्य दलका कार्यकर्ताले घेरा हाली आक्रमण गर्ने प्रयास गरेपछि गोली चलाउनुपरेको सिंह निकटले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.