|

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा गोरखामा माओवादीलाई हार्ने छुट नभएको बताएका छन्। माओवादी केन्द्र संवद्ध गोरखा काठमाडौं संघीय जनसम्पर्क मञ्चले मंगलबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले मंसिर १० गतेको निर्वाचनमा गोरखालाई फेरि माओवादीको 'लालकिल्ला' बनाउनैपर्ने बताएका हन्।

'गोरखा हिजो लालकिल्लाको रुपमा नेपालमा मात्र होइन विश्वमै स्थापित भएको थियो, अब फेरि कसरी लालकिल्लाको रुपमा कायम गर्ने?' उनले भने, 'नेपाल र विश्वमा गोरखा अझै लालकिल्ला हो भन्ने सन्देश दिनुपर्नेछ।'

अबको अर्जुनदृष्टि जसरी पनि प्रदेश र प्रतिनिधि सभा चुनाव जित्ने हुनुपर्ने भन्दै श्रेष्ठले यो पटक पनि माओवादीले जित्न नसकेमा जनताको मनोबल खस्किने बताए। 'अहिले अरु धेरै कुरा गर्नुहुन्न स्थानीय तह निर्वाचन हार्नुको कारण पहिल्याएर कसरी सच्याउने र थप के के गरेमा चुनाव जित्न सकिन्छ त्यसमा केन्द्रित हुनुपर्छ' उनले भने 'गोरखाको लालकिल्ला पुनर्स्थापित भइछाड्नुपर्छ, अरु ठूला ठूला कुरा त गरौंला तर चुनाव जित्न सकेनौं भने केही हुन्न।

२०६४ र २०७० सालको संविधानसभा चुनावमा माओवादी केन्द्रले गोरखाको तीनवटै निर्वाचन क्षेत्रबाट विजय हासिल गरेको थियो। तर गत वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा गोरखाको ११ मध्ये २ वटामा मात्र माओवादी विजयी भएको थियो। चुनावी समीक्षा गर्ने क्रममा केही महिनाअघि श्रेष्ठले काठमाडौंमा नै आयोजित कार्यक्रममा गोरखाको लालकिल्ला किन तोडियो भन्ने प्रश्न समेत गरेका थिए।

स्थानीय चुनावमा पार्टीको सबैभन्दा ठूलो कमजोरी संगठन निर्माण र परिचालनमा देखिएको भन्दै नेता श्रेष्ठले गोरखाका सबै माओवादी नेताहरु एकजुट भएर लाग्नुपर्ने बताए। 'गोरखाका सबै नेता एकढिक्का भएर लाग्ने हो भने गोरखा जुरुक्कै उचाल्न सकिन्छ' उनले भने' हामीलाई संघीय र प्रादेशिक चुनाव हार्ने छुट छैन, गोरखालाई लालकिल्ला बनाउन सकिन्छ, सम्भव छ।'

पार्टीभित्र अहिले लाइन (कार्यदिशा) र लिडरसीप (नेतृत्व) को विषयमा कुनै विवाद नभएको भन्दै नेता श्रेष्ठले कसैले गुटबन्दी गर्न नपाउने पनि बताए। अहिले पार्टी प्रचण्ड कमरेडको नेतृत्वमा एकढिक्का छ, लाइन पनि प्रष्ट छ' उनले भने ' लाइन र लिडरसीपमा एकत्व र एकरुपता भइरहेका बेला कसैले गुटबन्दी गर्न खोज्छ भने त्यो पार्टी सिध्याउने र नकारात्मक दिशातिरको कदम हो।'

पार्टीमा हुँदै नभएको मतभेद सिर्जना गरेर कसैले एकता भाँड्ने र पार्टी कमजोर पार्ने षड्यन्त्र गरेमा कार्यकर्ताले ठीक लगाउनुपर्ने पनि नेता श्रेष्ठले बताए। 'कसैले गुटबन्दी गर्न आयो भने पार्टी यति तल गइसक्यो अझ गुटबन्दीको कुरा गर्ने भन्नुस्' उनले भने।

कार्यक्रममा गोरखा क्षेत्र नम्बर २ बाट विजयी सांसद हितराज पाण्डेले स्थानीय तह परिणाममा पार्टीले ब्यहोरेको हारको जिम्मेवारी लिँदै अब पार्टी पंक्तिलाई ठीक ढंगले परिचालन गरेमा प्रदेश र प्रतिनिधि सभा चुनाव जित्न सकिने बताए। माओवादी केन्द्रका सचिवालय सदस्य लेखनाथ न्यौपानेले चुनाव जित्न संगठन मात्र बलियो भएर नहुने भन्दै त्यसका लागि अरु धेरैथोक चाहिने बताए। 'तर यसका लागि हाम्रो नैतिकताले पनि दिँदैन' न्यौपानेले भने भने।

माओवादी नेता भक्ति लामिछानेले पार्टीले चुनाव जित्नका लागि आवश्यकता अनुसार तालमेल र सहकार्य पनि गर्नुपर्ने बताए। 'यदि तालमेल र सहकार्य हुन नसकेमा एक्लै कसरी जित्ने भन्ने रणनीति पनि बनाउनुपर्छ' उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.