|

 दमक : पछिल्लो समय झापाको दमकमा चोरी तथा लुटपाटका घटनामा वृद्धि भएको भन्दै उद्योग वाणिज्य संघले दमकमा रात्रि सुरक्षा गार्डको व्यवस्था गरेको छ। वाणिज्य संघले सोमबार दमकमा एक कार्यक्रमको आयोजना गर्दै पहिलो चरणमा चार जना सुरक्षा गार्ड राखेर बजारमा सुरक्षा व्यवस्थाको सुभारम्भ गरिएको हो। पहिलो चरणमा दमकको मुख्य बजार मिसाल मार्केट  छेउ आसपासका क्षेत्रकालागि ४ जना सुरक्षा गार्डको व्यवस्था गरिएको हो।

 सो क्षेत्रका करिब २ सय व्यवसायीबाट एक सयका दरले रकम सहयोग लिएर वाणिज्य संघले सुरक्षा गार्डको ब्यवस्था गरेको हो। दमकमा भएको चोरी नियन्त्रण गर्न उद्देश्यले रात्री सुरक्षा ब्यवस्था गरिएको बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले जानकारी दिए।

दमकको व्यापारिक प्रतिष्ठानहरुलाई लक्षित गरेर रात्री सुरक्षाको व्यवस्थापन गरिएको उनले बताए। उनले भने,‘दमकमा तिब्र शहरीकरणसंगै चोरीको घटनामा बृद्धि भएकाले सुरक्षा गार्ड ब्यवस्था गरेका हौँ, यो सुरुवाती मात्र हो, अब हामी दमकका संघ संस्थासँग सहकार्य गरेर हामी अन्य ठाउँमा पनि राख्ने छौँ, हामी व्यवसायीसँगै छौँ।’

 उनका अनुसार सेक्युरिटीसम्बन्धी काम गर्ने संस्था एक्स फोर्स सेक्युरिटी सर्भिसलाई मासिक ५३ हजार बुझाईएको छ। उनले भने,‘हामीले मासिक ५३ हजार बुझाउँछौँ, उहाँहरुले चार जना सुरक्षा गार्ड उपलब्ध गराउनुहुनेछ, उहाँहरुले रातको समयमा १३ घण्टा सुरक्षा दिनुहुनेछ।’ उनले उक्त समयमा चोरी भएमा त्यसको जिम्मेवारी सुरक्षा गार्ड उपलब्ध गाराउने कम्पनीले लिने बताए।

 उनले भने, ‘रातको समयमा गार्ड खटाइएका क्षेत्रमा चोरी भएमा यसको जिम्मेवारी उहाँहरुले लिनु पर्छ, उहाँहरुले प्रयास गर्दा गर्दै चोरी भयो भने हामी सबै बसेर त्यसको मुल्यांकन गर्ने छौँ।’ संघका अध्यक्ष ढकालले दमक चौक,वजार क्षेत्रमा रात्रीपख सुरक्षा व्यवस्थापन गरिएको बताए। कार्यक्रममा बोल्दै दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले वाणिज्य संघको यो कार्य स्वागत योग्य रहेको बताइन्। उनले यस्ता कार्यमा नगरपालिकाले पनि सहयोग गर्ने बताइन्।

 कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी दीपक गिरीले प्रहरीले मात्र सबै ठाउँमा सुरक्षा दिन नसक्ने बताए। उनले भने, ‘यस कदमले म धेरै खुसी छु, प्रहरीले मात्र सबै ठाउँमा सुरक्षा दिन सक्दैन जनशक्ति पनि कम छ।’

 यसैबीच, सोमबार दमकको एक पसलमा चोरी भएको छ। दमक ६ स्थित ताराश्री सिद्धिविनायक ज्वयलर्समा चोरी भएको हो। लोचन धमलाले सञ्चालन गरेको उक्त सुन चाँदी पसलमा अन्दाजी ३० वर्षीय मंगोलियन अनुहारका हेल्मेट र माक्स लगाएका उनले दुई तोलाको सिक्री चोरेर भागेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीका अनुसार उनले आफूले सिक्रि किन्नु पर्ने भन्दै पसल साहुलाई मागेको र लिएर भागेका हुन्। डिएसपी गिरी भन्छन्, ‘पसलमा आएका उनले आफूसंग भएको सुन पनि बेच्न छ र नयाँ सिक्रि किन्न भन्दै हेर्न मागे छन्, लोचन जीले एक तोला दरका दुईवाटा सिक्री दिनुभएछ, उहाँ सिक्री दिएर अर्का ग्राहकलाई देखाउनतर्फ लाग्नुभएछ त्यही समयमा उनी भागेछन्।’ उनले चोरी गरेर चोर कालो पल्सर बाइकमा भागेकाले खोजी कार्य जारी रहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.