|

ठाकुरद्वारा (बर्दिया) : बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका ३ गोदानकी महिला स्वास्थ्य स्वयंसेविका विमला योगीमाथि अहिले थप जम्मेवारी छ।

गाउँगाउँमा पुगेर स्वास्थ्य सम्बन्धी चेतना दिने र आवश्यक खोप सुविधा उपलव्ध गराउने योगी अहिले वन र वन्यजन्तु जोगाउन पनि गाउँलेलाई आग्रह गर्दै हिंड्छिन्।

‘हरेक घरमा स्वास्थ्यको काम भ्याएपछि वन र वन्यजन्तुको फाइदा, संरक्षण किन गर्ने भनेर बताउँछु’, स्वास्थ्य स्वयंसेविका विमला योगीले भने। अझ उनीहरुले बच्चा जन्मिंदा विरुवा रोप्नुपर्छ भनेर चेतना बाँड्ने गरेका छन्। रोपेका उदाहरणहरु पनि उनीहरुसँग प्रशस्तै छ।

यो अभियानमा उनी एक्लै छैनन्।  स्वास्थ्य स्वयंसेविकाहरु हंशकला जैशी, तुलसी शर्मा, मना शर्मा, बालिका अधिकारी, बसन्ती थारु, इन्द्रा थारु, तारा अधिकारी, जोगमाया घर्ती पनि उत्तिकै सक्रिय छन्।

गाउँका आमा समूहमा पुगेर संरक्षण के हो र किन गर्नुपर्छ, भनेर चेतनामुखि कार्यक्रम चलाउने गरेको बताउँछिन् महिला स्वास्थ्य स्वयंसेविका तारा शर्मा। स्वयं सेविकाको विल्कुलै नयाँ अभियानले बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायमा सकारात्मक सोचको विकास भएको छ।

हिजो अस्ती ह्या..दाउरा चाहियो नि भनेर जथाभावी रुख विरुवा काट्ने चलन थियो। गाउँमा देख्ने वित्तिकै वन्यजन्तु, सर्पहरु मार्ने गलत प्रवृत्ति थियो। अहिले विस्तारै हट्दैछ।

‘रुख र वन्यजन्तु मार्न नहुने रहेछ, हाम्रै सम्पत्ति हुन् भन्ने भएको छ', विमला योगीले भनिन्, 'जति गर्नुपर्ने अझै हामीले सकेका छैनौं, प्रयास चाहिं छ सर।’ बेलामौकामा वृक्षारोपणमा उनीहरुले नै गर्छन्।

बर्दियाको ठाकुरबाबा नगरपालिकामा ८३ जना स्वास्थ्य स्वयंसेविका छन्। उनीहरु मध्येबाट चोरी शिकार नियन्त्रण महिला स्वास्थ्य स्वयंसेविका उप–समिति गठन गरेर काम हुँदै आएको छ।

विमला योगी अध्यक्ष छिन्। उपाध्यक्षमा हंशकला, सचिवमा मना शर्मा, सहसचिवमा बालिका अधिकारी र कोषाध्यक्षमा बसन्ती थारु छन्। उनीहरुले यहाँको मध्यवर्ती क्षेत्रमा पर्ने नेउलापुर, ठाकुरद्धारा, शिवपुर, बग्नाहाको बस्तीमा स्थानीयको सोचमा नै परिवर्तन गरिदिएका छन्।

निशुःल्क सेवा गर्ने उनीहरुका लागि कार्यक्रम चलाउन भने बजेटको अभाव हुने गरेकाले निकुञ्ज र नगरपालिकाले हेर्न हो भने अझै अभियान ससक्त हुने स्वयंसेविकाको भनाइ छ।

बर्दिया राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानसँगै महिला स्वास्थ्य स्वयं सेविकालाई पनि संरक्षणको एउटा हाँगोको रुपमा राखेको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापा गाउँमा जनचेतना जगाउन महिला स्वास्थ्य स्वयं सेविकाको भूमिका असाध्यै प्रभावकारी भएको बताउँछन्।

उनीहरुले गाउँमा मात्रै चेतना दिंदैनन्, आफ्नै घरका परिवार र बालबालिकालाई समेत संरक्षणमा सकारात्मक भूमिका खेल्ने भएकाले पनि यो उपसमितिलाई थप सक्रिय बनाउने योजना रहेको थापा बताउँछन्।

अपरिचित मान्छे आयो भने महिलाहरुले निगरानी गर्छन्, निकुञ्जलाई खबर गर्छन्, जंगली जन्तुहरु गाउँपसे उनीहरुमार्फत नै निकुञ्जमा खबर हुन्छ। डढेलो नियन्त्रणमा स्वयं सेविकाहरु आफैं खटिन्छन् र आमा समुहलाई परिचालन गर्छन्।

बँदेल चित्तल, सर्प गाउँमा देखिंदा ढुंगामुढा गर्ने, मार्ने, घाइते बनाउने प्रवृत्ति थियो अहिले न्यूनीकरण भएको छ। ‘हामीले स्वास्थ्यको काम गर्दागर्दै वन्यजन्तु जोगाउने कुरा भन्न टुटाएका हुन्नौं’ चोरीशिकार नियन्त्रण महिला स्वास्थ्य स्वयंसेविका उप–समितिकी सदस्य तारा अधिकारीले भनिन्।

आफूहरुले चलाएको अभियानले गाउँमा धैरै परिवर्तन भएको अधिकारीको अनुभव छ।  महिला स्वास्थ्य स्वयंसेवीकाले बच्चा जन्मँदा रुख रोप्नुपर्छ भनेर पनि सिकाउने गरेका छन्।

अधिकारीका अनुसार स्थानीय प्रज्ञा काफ्लेको छोरा जन्मियो। जन्मनै वित्तिकै उनको परिवारले किम्बुको रुख रोपे। यो चलनलाई गाउँगाउँमा पुर्‍याउने काममा स्वयंसेविका सक्रिय छन्। ठाकुरबाबा नगरपालिका वडा नम्बर १ डुम्रेनीकी महिला स्वास्थ्य स्वंसेविका हंशकला जैशी बालबालिकाहरुलाई चराबारे पनि जानकारी गराउँछिन्।

चरा मार्न नहुने कारण बताएर उनीहरुलाई गुलेली प्रयोग गर्न निरुत्साहित गर्ने र सर्प, अजिंगरहरु आउँदा मार्न हुन्न बरु निकुञ्जलाई खबर गर्नुपर्छ भनेर चेतना दिने गरेको जैशी बताउँछिन्।

वन्यजन्तु प्रभावित एकल महिला पनि संरक्षणमा

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएका जंगली जनावरबाट श्रीमानको मृत्यु भए पनि यहाँका एकल महिलालाहरु शोकलाई शक्तिमा बदल्दै वन्यजन्तु संरक्षणमा जुटेका छन्।

एकल महिलाले उपसमिति नै बनाएर संरक्षणका कार्यक्रममा सहभागि हुने गरेको निकुञ्जका प्रमुख रमेश थापा बताउँछन्। अहिले उपसमितिमा २१  जना महिलाहरु सहभागी छन्।

मान्छेलाई खोजेरै वन्यजन्तुले आक्रमण गर्दैन भन्ने कुरा उनीहरुले बुझेका छन्। निकुञ्जले राहत सहयोग भनेर एकल महिलालाई मासिक रु १ हजार पाँच सय वितरण गर्ने गरेको छ। एकल महिला आयआर्जनका लागि रु ५ लाखको कोष बनाइएको छ।

कोषमार्फत महिलाहरुले २५ हजारसम्म ३ प्रतिशत व्याजमा ऋण लिनसक्ने निकुञ्ज प्रमुख थापा बताउँछन्। यसले सानै भएपनि उनीहरुलाई जिविकोपार्जनमा सहयोग पुगेको छ।

वन्यजन्तुबाट मृत्यु भएकाको छोराछोरीलाई बार्षिक १ हजार ८०० रुपैयाँ छात्रबृत्ति दिने गरिएको छ। गाउँमा वन्यजन्तुबाट प्रभावित भएकाहरु पनि सँगसँगै संरक्षमा लाग्दा मानव वन्यजन्तु द्वन्द्व न्युनीकरणमा ठूलो सहयोग मिल्ने गरेको छ।

वन्यजन्तु चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाका अध्यक्ष हेमन्तप्रसाद आचार्यको आफ्नै बुबा ओमप्रसाद जैशी (आचार्य)को वन्यजन्तुको आक्रमणबाट मृत्यु भयो। उनी अहिले संरक्षणमा अहोरात्र खटिन्छन्।

आचार्यकी आमा अमृता जैशी एकल महिलाको नेतृत्व गरेर संरक्षणमा योगदान दिइरहेकी छन्। मानव वन्यजन्तु द्वन्द्व प्रभावितहरु समेत संरक्षणमा सक्रिय भएको उनी बताउँछिन्।

हामीले पनि संरक्षणको केही योगदान दिन सक्छौं की भनेर एकल महिलाले सोध्दा मन बिझेर आत्मैदेखि गर्व महसुस हुने निकुञ्जका प्रमुख रमेश थापा बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.