कहाँ मोवाइल किन्दा बढी उपहार पाइन्छ?

|

काठमाडौँ: दशैँको एक महिनालाई व्यापारीहरूले सिजनको समयमको रूपमा लिने गर्छन्। पिछल्ला वर्षहरूमा मोवाइल बिक्री गर्ने क्रममा व्यापारीले राख्ने गरेका उपहार योजनालाई उपभोक्ताको भाग्यसँग तुलना गर्ने गरिन्छ।

हुन पनि तीन हजार रुपैयाँको मोवाइल किन्ने ग्राहकले चिठ्ठामार्फत ५/७ लाख रूपैयाँका अन्य सामान पाउने संभावना हुन्छ। प्राय: सपिङ मलहरूमा अहिले यस्ता मेलाहरू लागेका छन्। यिनै महलमध्ये ताम्राकार कम्प्लेक्स, केएल टावर, विज मललगायतका ठूला सपिङ मलहरूले ठूलाठूला अफरहरू ल्याएका छन्। किन्नेमध्येका केहीलाई चिठ्ठामार्फत उपहारका कुरा भन्दा पनि उनीहरूले दिने छुटमा अझ बढी आकर्षण हुन्छ।

व्यापारीहरूले दिने छुटले त उपभोक्ता अन्य समयमा ठगिने हो या व्यापारीले यो समयमा घाटा खाएर व्यापार गर्ने हो भन्ने विषयमा अन्योलमा परेका छन्। 'न्यूरोड मोबाइल किन्न गएको अन्य समयभन्दा धेरै नै सस्तो रहेछ', काठमाडौँ बस्ने पाल्पाका राजेश नेपालले भने. 'सधैँ दशैँमा मात्रै मोवाइल किन्नुपर्दोरहेछ जस्तो लाग्यो।'

कहाँ कति छुट?

ताम्राकार कम्प्लेक्समा मोवाइलमा ५ देखि ६० प्रतिशतसम्मको छुट रहेको छ। सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डीटीसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको ताम्राकार मोवाइल कम्प्लेक्सका अध्यक्ष गोपाल साउदले बताए। त्यस्तै लेनेभोका सबै मोडलका मोवाइलको खरिदमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

काठमाडौँको केएल टावरमा लागेको मोवाइल मेलामा पनि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। तर ताम्राकारमा जस्तै कुन मोवाइलमा कति छुट भन्ने केएल टावरले छुट्याएको छैन। 'हामीले हेरेर ५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छौँ', केएल टावरका मोवाइल व्यापारी एलिभ ग्ल्यारले भने।

त्यस्तै, काठमाडौँको दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको मल्टिब्राण्ड मोवाइल सो रुम एप्पल वर्ल्डले मोबाइल खरिद गर्दा मोवाइलको मोडल हेरी ६० प्रतिशतसम्म छुट पाइने जनाएको छ। विश्‍वज्योति मलमा ५ देखि ३० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको व्यापारी हीरामणि तिमिल्सिनाले बताए। यीबाहेक सिभिल मल, सीटीसी मल, ललितपुर सञ्चय कोष भवनलगायतका स्थानहरूमा पनि विशेष छुटको व्यवस्था गरिएको छ।

कहाँ मोवाइल किन्दा कस्तो उपहार?

दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको मल्टिब्राण्ड मोबाइल सो रुम एप्पल वर्ल्डले मोबाइल खरिद गर्ने ग्राहकलाई हात खाली नजाने उपहारका साथमा विभिन्न बम्पर उपहार दिने योजना ल्याएको छ। बम्पर उपहार स्वरूप एक जनाले ‘आरवान फाइभ बाइक’, एक जनाले ‘आईफोन ८’ र एक जनाले ‘मलेसिया र सिंगापुरको टुर’लक्की ड्रमार्फत पाउने एप्पल वर्ल्डका म्यानेजर निराजन मल्ल ठकुरीले जानकारी दिए। हरेक मोबाइलको खरिदमा मोबाइल, पावर बैंक, सेल्फी स्टिक, एअरफोन, ब्लुटुथ स्पिकर, टेम्पट ग्लास, सुनचाँदीको सिक्का, टीसर्टलगायत विभिन्न उपहारहरू प्राप्त गर्न सक्ने म्यानेजर ठकुरीले बताए।

चाबहिल चुच्चेपाटीमा रहेको केएल टावर, बालाजुस्थित विज मल र विश्‍वज्योति मलमा मोवाइल किन्दा ग्राहकले प्रत्येक दिन कुनै न कुनै किसिमको उपहार पाउनेछन्। उपहार योजनामा सहभागी ग्राहकले साप्ताहिक तथा बम्पर उपहारमा टेलिभिजन, वासिङ मेसिन, रेफ्रिजिरेटरदेखि मोटरसाइकल तथा स्कुटरसमेत पाउनेछन्। 

दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, जेडटीईका स्मार्ट फोन, टीसीएलको विद्युतीय जग वितरण गरिने टावरले जनाएको छ। साप्ताहिक रूपमा गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, रेफ्रिजिरेटर, माइक्रोवेभ ओभनलगायतका घरायसी मासिक उपहार कार्यक्रममा ग्रिनविच कम्पनीको टाइमेक्स घडी तथा पाँच हजार रूपैयाँ बराबरको गिफ्ट भौचर पाउनेछन्। बम्पर उपहारमा सुजुकीको जिक्स्चर मोटरसाइकल, सुजुकीकै लेट्स स्कुटर तथा चार रात पाँच दिनको बैंकक भ्रमणको अवसर ग्राहकले पाउनेछन्।

ताम्राकार कम्प्लेक्समा मोवाइल फोनको खरिदमा मोटरसाइकल, टिभी, स्मार्ट फोन पनि उपहार पर्न सक्ने योजना ताम्राकार हाउसको रहेको छ। १० व्लुटुथ तथा पावर बैंक, दुईवटा मोवाइल दैनिक र साप्ताहिक एउटा सामसुङको ३२ इन्चको टिभी लक्की ड्रमार्फत् वितरण गरिने पनि ताम्राकार कम्प्लेक्सका अध्यक्ष गोपाल साउदले बताए।

कति हुन्छ नाफा?

यति ठूलो छुट र अन्य उपहारको व्यवस्था गर्दा पनि सीमित प्रतिशत नाफा नखाई व्यापारीहरूले मोवाइल बेच्ने कुरा हुँदैन। उपहारको व्यवस्था मलहरूमा गठन गरिने व्यापारिक समितिले विभिन्न गतिविधिबाट उठाएको पैसाले गराउने भए तापनि छुट भने व्यापारी आफैँले दिनुपर्ने हुन्छ।

तर यो समयमा व्यापार धेरै हुने भएकाले कम भन्दा कम नाफा खाँदा पनि राम्रो आम्दानी हुने बताउँछन् ताम्राकार मोवाइल व्यपार संघका अध्यक्ष गोपाल साउद। 'अरू बेला कम मोवाइल बिक्री हुन्छ, यो समयमा धेरै जान्छ तर कम नाफा खान्छौँ', साउद भन्छन्, '३ देखि ७ प्रतिशत मात्रै नाफा लिँदा पनि धेरै राहत हुन्छ।'  

तर केएल टावरका मोवाइल व्यापारी एलिभ ग्लाइडरले भने नाफा खानेभन्दा पनि यो समयमा उपभोक्तालाई आकर्षित गर्नेमा प्राथमिकता दिने गरेको बताए। 'यस्तो बेला हामी घाटामा नजाने मात्रै हो तर सधैँ हाम्रा उपभोक्ता आउने वातावरण बनाउन सहयोग पुग्छ', गलाइडरले भने। त्यस्तै अर्का व्यापारी हीरामणि तिमल्सिनाले समेत नाफा भन्दा पनि अन्य समय पनि व्यापार बढाउनका लागि यस्ता छुट र उपहारको व्यवस्था गरिने बताउँछन्।

कति हुन्छ व्यापार?

दशैँको बेला धेरै व्यापार हुने सामग्रीमध्ये पर्छ। सामान्यतया एक व्यक्तिले वर्षको एउटा मोवाइल किन्ने र प्रायले यही समयमा किन्ने गरेको व्यापारीहरू बताउँछन्।

दशैँको अघिल्लो १० दिनको अवधिमा अन्य सामान्य महिनाको तुलनामा ५० प्रतिशत बढी मोवाइल बिक्री हुने ताम्राकार मोवाइल व्यापार संघका अध्यक्ष साउद बताउँछन्।

केएल टावरका मोवाइल व्यापारी अन्य समयको तुलनामा तीन गुणासम्म बढी मोवाइल व्यापार हुने बताउँछन्। 'अरू दिनको दुई सय मोवाइल जान्छ भने यो समयमा सात सयसम्म मोवाइल जान्छ', ग्लाइडरले भने। उनका अनुसार केएल टावरमा मात्रै दशैँको १० दिनको अवधिमा झण्डै एक करोड रुपैयाँ मूल्य बराबरको मोवाइल बिक्री हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.