|

काठमाडौं : संविधानसभाबाट बनेको संविधान जारी भएको मंगलबार दुइ वर्ष पुरा भएर तेस्रो वर्षमा लागेको छ। संविधान दिवसको कार्यक्रम सरकारी स्तरबाट मंगलबार सैनिक मञ्च टुँडिखेलमा भव्य समारोह गरी मनाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख ओनसरी घर्ती मगरले मुलुकमा शान्तिको कामना गर्दै 'शान्तिका दूत' परेवा उडाएर संविधान दिवस मनाए। उक्त कार्यक्रममा नेकपा एमालेका नेताहरु भने सहभागी थिएनन्। 

तर प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली भने मंगलबार एमाले प्रदेश नम्बर १ संगठन कमिटिले योगम्बर पार्टी प्यालेसमा आयोजना गरेको 'संविधान कार्यान्वयनका २ वर्ष' विषयक विचार गोष्ठी तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भए।

कार्यक्रममा ओलीले संविधानको कार्यान्वयन गरिछाड्ने प्रतिवद्धता दोहोर्‍याए। उनले संविधान कार्यान्वयन गर्न नचाहानेहरुलाई समेत ठेगान लगाउने बताए। 'संविधान भविष्यको मार्गचित्र हो। हामी संविधानले व्यवस्था गरेका संरचनागत कुराहरु कार्यान्वयन गर्ने चरणमा छौं' ओलीले भने, 'संविधानको कार्यान्वयन हुन्छ, गरिछाडिन्छ। कार्यान्वयन गर्न नखोज्ने हो भने तिनीहरुलाई दशा लाग्छ।'

एमालेका वरिष्ठ नेता झलनाथ खनालले लोकतन्त्रलाई सुदृढ बनाउनका लागि संविधान कार्यान्वयनको अनिवार्य आवश्यकता रहेको बताए। नेता खनालले संविधान कार्यान्वयन गरी मुलुकलाई सामाजिक, आर्थिक रुपान्तरणको दिशातर्फ लैजानुपर्ने औल्याए।

एमाले स्थायी समिति सदस्य शंकर पोखरेल संविधान दिवसको अवसरमा पार्टीले छुट्टै कार्यक्रम नराखेको बताए। देशका विभिन्न स्थानमा पार्टी मातहत कमिटीले आयोजना गरेको कार्यक्रममा नेताहरु सहभागी भएको पोखरेलले बताए। 'संविधान दिवस देशैभरी मनाइन्छ। यो दिवसका लागि भनेर पार्टीले छुट्टै कार्यक्रम गरेन' पोखरेलले भने, 'त्यसैले नेताहरु आ-आफ्नो ढंगले देशका विभिन्न ठाउँमा पार्टी कमिटिले आयोजना गरेका कार्यक्रमहरुमा सहभागी हुनुभएको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.