|

दमक: भुटानी शरणार्थीहरूले आफूहरूलाई राशन नपुगेको भन्दै आन्दोलन गरिरहेको अवस्थामा शरणार्थीको खाद्यन्नका लागि ल्याइएको ठूलो परिमाणको चामल नष्ट गरिएको छ।

शरणार्थीहरूले खाद्यान्न अभावमा नजिकिँदै गएको दशैँसमेत खल्लो हुने बताइरहेका बेला शिविरका लागि ल्याइएको उक्त परिमाणको चामल नष्ट गरिएको हो।

गत साउन अन्तिम साता आएको हावाहुरी र अविरल वर्षाका कारण भुटानी शरणार्थी शिविरका लागि भण्डारण गरेर राखिएको गोदामको छानो उडाएपछि उक्त चामल भिजेको थियो। गत असार २७ गतेदेखि ४ दिन लगातार हावाहुरीसँगै आएको वर्षाले खाद्यान्न राख्ने गोदामको छाना उडाएपछि पाँच हजार ७९१ केजी चामल कुहिएर नष्ट गरिएको विश्व खाद्य कार्यक्रमकी सूचना तथा संचार प्रमुख शीताष्मा थापाले बताइन्।

उनले भनिन्, ‘पानी चुहिएर भिजेको त थियो नै, बेलडाँगी- १ मा दुईवटा हात्तीले गोदाम फुटाएपछि चामाल बिग्रिने अवस्था आयो र नष्ट गर्नुपर्‍यो।’ कुहिएको चामललाई स्थानीय शरणार्थी शिविर व्यवस्थापन समितिका पदाधिकारी, विश्व खाद्य कार्यक्रमका पदाधिकारीसहितका टोलीले गोदाम नजिकै खाल्डो खनेर चामल पुरिएको शिविर व्यवस्थापन समितिका सचिव टीकाराम रसाइलीले जानकारी दिए।

यसैबीच यता शिविर व्यवस्थापन समितिले खाद्य भण्डारको अवस्था मजबुत र कमजोर भएको कारण यति ठूलो परिणाममा चामल खेर गएको जनाएको छ। चामल पुर्दै गर्दा स्थानीय शरणार्थीहरूले भने आफूहरूलाई राशन कट्टा गरेर यसरी चामल खेल फाल्नु भनेको संस्थाको कमजोरी भएको समेत आरोप लगाएका छन्।

चामल नष्ट गर्ने स्थानमा आएका शरणार्थीले उक्त चामललाई व्यवस्थित गरेको भए आफूहरूले दशैँ मज्जाले दशैँ मनाउन पाउने बताए। तर संस्थाका जिम्मेवार पदाधिकारीले भने आकस्मिक हुने दैवी प्रकोपप्रति सचेत हुँदाहुँदै पनि यस्ता घटनाहरू हुने भएकाले शरणार्थीहरूमा त्यसको बदलामा आफूहरूले शिविरवासीहरूलाई चामल उपलव्ध गराउने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.