|

काठमाडौं : नेपाली उपभोक्ताले मासिक अर्बौं रुपैयाँबराबरको खसीबोकाको मासु खपत गर्ने गरेको पाइएको छ। उपभोक्ता मूल्यका आधारमा नेपालीले मासिक आठ अर्ब २५ करोड रुपैयाँको खसीबोकाको मासु खपत गर्दै आएको पाइएको हो। आयस्रोत कम भए पनि नेपालीले मासुका लागि अर्बौं रुपैयाँ खर्चिंदै आएको तथ्यांक छ।

नेपालीले खसीबोकाको मासुका लागि मात्रै वार्षिक ९९ अर्ब सात करोड रुपैयाँ खर्च गर्छन्। पशुपन्छी मन्त्रालयका अनुसार देशभर मासिक चार लाख ३० हजार खसीबोका खपत हुन्छन्। यसमध्ये झण्डै चार लाख खसीबोका स्वदेशमै उत्पादन हुन्छन् भने ३० हजार गोटा भारत, अमेरिका र अस्ट्रेलियाबाट आयात गरिएको तथ्यांक छ। खसीबोका आयातको ९८ प्रतिशत हिस्सा भारतको छ।

नेपाली बजारमा स्वदेश र आयातित खसीबोका औसत ३० किलोका भित्रिने गर्छन्। ३० किलोको खसीबोकाबाट २४ किलो तयारी मासु बन्छ। एक किलो खसीबोकाको मासुको उपभोक्ता मूल्य औसत आठ सय रुपैयाँ पर्छ। यसमा दशैंलगायत चाडपर्वको खपतलाई जोडिएको छैन। दशैंका बेला सामान्यभन्दा झण्डै आठ दोब्बर बढी मासु खपत हुने पाइएको छ।

दशैंको समयमा हुने कारोबारलाई जोड्दा वार्षिक करिब डेढ खर्ब मूल्यको खसीबोकाको मासु खपत हुँदै आएको छ। चौपाया खरिदबिक्री सेवा संघका अनुसार बढ्दो सहरीकरण र जीवनस्तरमा आएको सुधारसँगै नेपाली उपभोक्तामा खसीबोकाको मासु खाने प्रवृत्ति बढेको छ। आम उपभोक्ता अहिले मासुका विभिन्न परिकारको स्वादमा रमाउन थालेका छन्।

साना रेस्टुराँदेखि पाँचतारे होटेलसम्म खसीबोकाको मासुका विभिन्न परिकार मेनुमा पस्किन थालेपछि उपभोग दर बढेको हो। ‘मासुबाट बनाइने विभिन्न परिकारको खपत बढ्दै गएको हो',संघका अध्यक्ष गोविन्द पाठकले भने।

अहिले झण्डै मासुबाट बनेका दुई दर्जन परिकार बन्ने गरेका छन् । पाठकका अनुसार खसीबोकाको मासुबाट साँधेको कलेजो, साँधेको टाउको, ह्याकुलाको छोइला, भुटेको फोक्सो, सादा कबाफ, सिंक कबाफ, भरेको फोक्सो, मटन चप्स, मटन बल, रोगन जोस, मुस्लिम कबाफ, सुक्खा मासु, प्याजी मासु, हाँडी कबाफ, सेकुवा, मटन बिर्यानी, भुटन, तास, लेदो मासु र किमाजस्ता परिकारका कारण उपभोग दर बढ्दै गएको हो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.