|

काठमाडौं : चीन हुँदै नेपालको एक नाकाबाट अर्को नाका जोड्ने थप सडक खुलाउनेबारे नेपाल र चीनबीच सम्झौता हुँदैछ। दुई देशका उच्चस्तरीय वार्ताटोलीबीच बुधबार काठमाडौंमा हुने छलफलपछि सम्झौता हुने भएको हो।

त्यसका लागि १३ सदस्यीय चिनियाँ टोली काठमाडौं आइसकेको छ भने १७ सदस्यीय नेपाली टोलीको अन्तिम टुंगो लागेको छ ।

चिनियाँ टोलीमा त्यहाँको यातायात मन्त्रालय, पराराष्ट्र, गृह, अर्थ, वाणिज्य मन्त्रालयलगायत तिब्बत क्षेत्रका प्रतिनिधि रहेका छन् । त्यस्तै, नेपाली पक्षको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कार्यबाहक सचिव ध्रुवराज जोशीले गर्नेछन्। त्यस्तै, गृह, अर्थ, वाणिज्य, पराराष्ट्र, कानुन मन्त्रालयका सहसचिव टोलीमा छन् ।

दुई देशबीच हुने उच्चस्तरीय वार्तामा नेपालले यसअघि नै चीनसँग प्रस्ताव गरेका थप १२ सडक र नाका खुला गर्नेबारे सम्झौता गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिनियर डिभिजनल इन्जिनियर गोविन्दप्रसाद खरेलले जानकारी दिए। तर, चिनियाँ पक्षले भने नाका संख्या घटाउने तयारीमा रहेको बुझिएको छ। ‘सुरक्षाको दृष्टिकोणबाट पनि चीन धेरै नाका नखोल्ने पक्षमा छ,’ मन्त्रालयका एक अधिकारीले भने । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले छलफलमा राखिने सबै नाकामा दुई देशबीच सम्झौता हुने विश्वास व्यक्त गरे ।

नेपाल–चीन सडक यातायात सम्झौताअन्तर्गत अहिलेसम्म चीन हुँदै तीन नाका खुला गर्नेबारेको प्रोटोकलमा सम्झौता भएको छ। तिनीहरूमा खासा–यारी, खासा–रसुवागढी र खासा–ओलाङचुङगोला हुन्। भूकम्पपछि तातोपानी–खासा नाका पूर्ण रूपमा बन्द भएपछि अहिले चीन भएर नेपालको एक नाकाबाट अर्को नाकामा आवतजावत पूर्णतः बन्द छ।

दुई देशबीच हुने वार्तामा अवरुद्ध भएको खासा नाका सुचारु गराउनेबारे पनि चिनियाँ टोलीसँग विषय उठाउने नेपाली पक्षको तयारी छ । नेपाल र चीनबीच २७ वर्षअघि (सन् १९९४ मा) सडक यातायात सम्झौता भएको थियो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.