'प्रधानमन्त्री फेरिँदैन, शेरबहादुरले नै निर्वाचन गराउँछन्'

|

गोरखा :  पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशसभा र संघीय निर्वाचनमा आफ्नो पार्टीले लोकतान्त्रिक गणतन्त्र पक्षधर जो कसैसँग पनि तालमेल गर्ने बताएका छन्।

पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण दिनका लागि बुधबार गोरखा पुगेका प्रचण्डले मंसिरमा हुने संघ र प्रदेश निर्वाचनमा पार्टीले लिने तालमेलको नीतिबारे मुख खोलेका हुन्। 'स्थानीय तहका तीनै चरणका निर्वाचनमा कांग्रेस, एमाले, मधेसकेन्द्रित र साना दलसँग पनि तालमेल भएको छ, संघ र प्रदेशको निर्वाचनमा पनि एउटै दलसँग तालमेल गर्ने हाम्रो नीति छैन,' गोरखामा प्रेस सेन्टरले आयोजना पत्रकार सम्मेलनमा प्रचण्डले थपे, 'संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर जो-कसैसँग पनि तालमेल हुन सक्छ, यसमा हामी खुला छौं।'

बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपालसँग माओवादीको तालमेल हुन्छ? भन्ने पत्रकारहरुको जिज्ञासामा प्रचण्डले, भने, ‘अहिलेकै अवस्थामा तालमेलको सम्भावना छैन तर, बाबुरामजी छोड्नुभयो भने तालमेल हुन्छ।’ उनले संघ र प्रदेशको निर्वाचनमा गोरखाबाट माओवादी केन्द्रलाई जनताले मत दिएर विगतको इतिहास दोहोर्‍याउने विश्वास व्यक्त गर्दै भने, 'गोरखामा स्थानीय तहको निर्वाचनको परिणाम उत्साहजनक रहेन, आगामी निर्वाचनको परिणाम गोरखामा यस्तो नहुनेमा म विश्वस्त छु।'

त्यस्तै, प्रचण्डले संघको चुनावमा आफू चितवनबाट नै चुनाव लड्ने बताएका छन्। चितवनबाट चुनाव लड्ने यसअघि नै घोषणा गरेका उनले भने, ‘मेरो चाहना चितवनबाटै निर्वाचन लड्ने हो तर, चितवनको कुन निर्वाचन क्षेत्र भन्ने कुरा पार्टीले टुंगो लगाउँछ।'

निर्वाचनअघि सरकार फेरबदल हुँदैन

त्यस्तै प्रचण्डले शेरबहादुर देउवा नेतृत्वको सरकारले नै मंसिरमा हुने चुनाव गराउने बताएका छन्। उनले भने, 'चुनाव यही सरकारले गराउँछ निर्वाचनअघि सरकार फेरबदलको कुनै सम्भावना छैन, माओेवादीका लागि सरकारभन्दा निर्वाचन प्राथमिकतामा छ।'

अध्यक्ष प्रचण्डले राजनीतिक स्थिरताका लागि माओवादीले प्रत्यक्ष कार्यकारीको मुद्दा उठाएको बताए। उनले भने, 'हामीले प्रत्यक्ष कार्यकारीको मुद्दा छोडेका थिएनौं, संविधानमा हाम्रो रिजर्भेसन छ।'

संविधान बनेपछि पनि देशमा अस्थिरता जारी रहेको र तीन-तीन सरकार फेरिनु कार्यकारी जनताबाट निर्वाचित नहुनु नै रहेको प्रचण्डले बताए। उनले भने, 'अब प्रत्यक्ष कार्यकारी प्रमुखको मुद्दा राजनीतिक दल र जनताको बीचमा लैजान्छौं, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्रै राजनीतिक स्थिरता दिन र देशलाई एकताबद्ध गर्न सक्छ।'

माओवादी केन्द्र छोडेर नयाँ शक्ति पार्टी नेपाल बनाएका गोरखाका नेता बाबुराम भट्टराईलाई प्रचण्डले एकता प्रक्रियामा आउन आग्रह गरे। उनले भने, 'हामी फुट्दा कसलाई फाइदा पुगेको छ त्यो सबैले बुझेकै कुरा हो। बाबुराम, विप्लव र वैद्यजीहरु र माओवादी केन्द्र अलग बस्नुको औचित्य सकिएको छ सबै एक हुनुपर्छ।’

त्यस्तै, प्रचण्डले स्थानीय तहको निर्वाचनले देशलाई एकताबद्ध गरेको बताएका छन्। उनले भने, 'निर्वाचनको मिति घोषणा गर्दै गर्दा हिमाल, पहाड र तराईको दुई बढ्ने होकी भन्ने वातावरण देखिएको थियो, निर्वाचनले त्यसलाई चिरेको छ। अब तराई पहाड र हिमाल एक भइसकेको छ, निर्वाचनले त्यही सन्देश दिएको छ।'

अध्यक्ष प्रचण्ड र नेताहरु रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, देवेन्द्र पौडेल, हितराज पाण्डे, हरि अधिकारी लगायतका नेता पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन गोरखा आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.