|

काठमाडौँः लोकप्रिय लोक–रक ब्याण्ड नेपथ्यको आगामी सांगीतिक कार्यक्रम दक्षिण कोरियाली राजधानी सउलमा हुने भएको छ। त्यहाँस्थित ओलम्पिक पार्कमा रहेको ओलम्पिक हलमा नेपथ्यले असोज १८ गते आफूलाई प्रस्तुत गर्ने जनाएको छ।

यसअघि पनि चार पटक कोरियाली राजधानीमा आफ्नो उपस्थिति जनाइसकेको ब्याण्डले आगामी असोज १८ गते (अक्टोबर ४ तारिख) फेरि एक पटक आफूलाई त्यसै शहरको फरक र विशेष भेन्युमा उभ्याउन लागेको हो।

सउलस्थित ओलम्पिक पार्क ‘ओलपार्क’का रूपमा पनि प्रसिद्ध छ। सन् १९८८ को ओलम्पिक आयोजनाका निम्ति यसको निर्माण भएको थियो। उतिबेला खेलकुदका हिसाबले तयार पारिएको हललाई कोरियाली सरकारले सन् २०११ मा कन्सर्ट हलका रूपमा पुनर्निर्माण गर्‍यो। यसरी विश्वस्तरीय कन्सर्ट हलको रूपमा विकास भएपछि त्यहाँ डिप पर्पल, जुदास प्रिस्ट, मराया क्यारे र एयर सप्लाई जस्ता विश्वप्रसिद्ध सांगीतिक टोलीहरूले आफूलाई प्रस्तुत गरिसकेका छन्।

कोरियाको सबैभन्दा ठूलो पर्व ‘चुसोक’को अवसर पारेर त्यहाँस्थित ‘कास्की परिवार’ले यसपटक नेपथ्यको कन्सर्ट आयोजना गरेको हो। कृषिमा आधारित यस पर्वको समयमा तीन दिनसम्म त्यहाँको सरकारले सार्वजनिक बिदा दिने गरेको छ। 

नेपालमा दशैँमा जस्तै यस पर्वका बेला कोरियाली नागरिकहरू पुख्र्यौली थातथलो पुग्दै ठूलाबडा, मान्यजनसँग रमाउँछन्। रोजगारीका निम्ति त्यहाँ पुगेका विदेशीहरूका निम्ति भने यो पर्व साथीभाइसँग भेट्ने सुवर्ण अवसर बन्दै आएको छ। यस्तो बेलामा मुलुकलाई सम्झने र सुख दुःखका कुरा गर्ने वातावरण बन्ने गरेको छ त्यहाँ।

नेपालस्थित दक्षिण कोरियाली दूतावासका अनुसार यतिबेला त्यहाँ ईपीएस योजनाअन्तर्गत ४० हजारभन्दा बढी नेपाली कामदार कार्यरत छन्। 

‘सन् २००५ मा पहिलो पटक आफ्ना गीतहरू यहाँ सुनाएयता सउलले निरन्तर नेपथ्यलाई निम्त्याउँदै आएको छ’, ब्याण्डलाई प्रवद्र्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘पछिल्लो पटक केबीएस एरेनामा आफूलाई प्रस्तुत गरेको नेपथ्यले यसपटक ओलम्पिक हलमा उभिने मौका पाएको छ।’ 

‘नेपालभित्र र बाहिर रहेर हामीलाई अगाध माया दिँदै आउनुभएका सम्पूर्ण श्रोताप्रति आभार ब्यक्त गर्न चाहन्छु’, ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘नेपथ्य स्थापनाको पच्चीसौँ वर्ष मनाइरहेका बेला सउलमा पाँचौँ प्रदर्शनको निम्ति जान पाउँदा असाध्यै खुसी लागिरहेको छ।’

नेपाली संगीतमा समर्पित भएको रजत उत्सवका अवसरमा नेपथ्यले यो वर्षभरि निरन्तर म्युजिक भिडियो रिलिज गर्दै आएको छ। त्यसबाहेक श्रोताहरूको बढ्दो मागलाई स्वागत गर्दै ब्याण्डले भर्खरै अष्ट्रेलिया र न्यूजिल्याण्डको शृंखलावद्ध सांगीतिक भ्रमण पनि सम्पन्न गरिसकेको छ।

दक्षिण कोरियाको यो पछिल्लो भ्रमणमा पनि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.