|

तनहुँ : नर्मल जन्मिएको शिशुको मृत्युपछि दमौली अस्पताल तनावग्रस्त बनेको छ। बुधबार बिहान ५ बजे प्रसव व्यथा लागेर दमौली अस्पतालमा ल्याइएको एक महिलाबाट नर्मल जन्मिएको शिशुको मृत्यु पछि तनावग्रस्त बनेको हो।  ऋसिङ्ग गाउँपालिका घर भई हाल बन्दिपुर गाउँपालिका १ नाहाला रिमाल्नीस्थित माइतीमा बस्दै आएकी १९ वर्षीय समिता शाहीले बुधबार ७:१८ बजे जन्माएको शिशुको मृत्यु भएको हो।

चिकित्सकको लापरबाहीले शिशुको ज्यान गएको पीडित पक्षको आरोप छ। नर्सले समयमा चिकित्सकलाई नबोलाउँदा शिशुको उपचारमा ढिलाइ हुँदा ज्यान गएको समिताकी छिमेकी गीता शाहीले बताइन्। गीताका अनुसार प्रशवको समयमा चिकित्सक ड्युटीमा नहुँदा शिशु नर्मल जन्मिए पनि ज्यान गएको हो।

शिशुको मुटुको धड्कन र आमाको प्रेसर ठिक रहनुका साथै सुरक्षित रहेको स्वास्थ्यकर्मीहरुले बताएको समिताका माइला बुबा सोमबहादुर शाहीले बताए। आमा र बच्चाको स्वास्थ्यमा समस्या भए पोखरा लैजान्छौं भन्दासमेत उनीहरुले सामान्य छ भन्दै यहीँ हुन्छ भनेर रोकेका हुन्, शाहीले भने। प्रशवका बेलामा चिकित्सकले नहेरी स्टाफ नर्सले मात्रै हेरेको र बच्चालाई समयमा अभिभावकलाई नबुझाइएको पीडित पक्षले आरोप लगाएका छन्।

बच्चा जन्मिएको आधा घन्टापछि श्वासप्रश्वास र मुटुको चालमा समस्या देखिएकाले उपचारमा संलग्न रहेको चिकित्सकहरुको टोलीले मुटु र फोक्सोको समस्याले गर्दा ज्यान गएको हुनसक्ने बताएका छन्। शिशुलाई अभिभावकको जिम्मा लगाइसकेपछि श्वासप्रश्वास र मुटुको चाल कम भएको उपचारमा संलग्न डा.कुलदीप खत्रीले बताए।

कृत्रिम श्वासप्रश्वास दिएर बच्चालाई सकेसम्म प्रयास गरिएको तर, बचाउन नसकेको खत्रीको टोलीले बताएको छ। बच्चा नर्मल जन्मिए पनि कुनै कुनै अवस्थामा श्वासप्रश्वास र मुटुमा समस्या देखापर्ने हुन्छ, बच्चालाई कुन समस्या भएको छ भन्ने कुरा स्वास्थ्य परीक्षणका सबै प्रविधिहरु अस्पतालमा उपलब्ध नभएकाले समयमा समस्या पहिचान गर्न कठिन भएको हो, उपचारमा संलग्न चिकित्सकको टोलीले भने। शिशुको अवस्था केही कम गरी पोखरा रिफर गर्ने तयारीमा रहेको उनीहरुले बताएका छन्।

दमौली अस्पतालका प्रमुख डा.पवनजङ्ग रायमाझी तालिमका सिलसिलामा बिदामा रहेकाले अस्पतालमा हाल डा.सञ्जु पौडेलको जिम्मेवारी रहेको अस्पतालले जनाएको छ। डा.सिर्जना शर्माको ड्युटी भए पनि डा. रायमाझीले स्वास्थ्य परीक्षण कार्यक्रममा सहभागी हुन पठाएकाले सो अवस्थामा डा कुलदीप खत्री ड्युटीमा खटाइएको बताइएको छ। शिशुको ज्यान गएपछि आफन्तले शव र डेलीभरीका प्रिस्किप्सनसमेत बुझेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.