|

  • शैलेन्द्र समदर्शी-

गान्तोक: सिक्किमको दक्षिणी क्षेत्रमा गएका बेग्लाबेग्लै तीनवटा पहिरोमा परी छ जनाको मृत्यु भएको छ।

मंगलबार अपराह्नदेखि लगातार परेको पानीका कारण दक्षिण जिल्लाको मुख्यालय नाम्चीको अपर घुर्बिसेमा गएको पहिरोले पुरेर तीन जनाको मृत्यु भएको छ। यसै पहिरोमा परी अन्य दुई जना घाइते भएका छन्।

मृत्यु हुनेहरूमा आठ वर्षका निखिल राई, १५ वर्षकी निकिता राई र २१ वर्षका पासाङ्कित भोटिया छन्। घाइते भएका विष्णु राई र रामकुमारी प्रधानलाई नाम्चीको जिल्ला अस्पतालमा उपाचारका लागि भर्ना गरिएको छ।

स्थानीयका अनुसार बुधबार बिहान २ बजे यो घटना भएको हो। घरमाथिबाट सोहाेरिएर झरेको पहिरोले तीन जनालाई पुर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

यता, दक्षिण जिल्लाकै रातेपानी नाम्थाङको कटेङ गाउँमा गएको पहिरोले आमा-छोरीको मृत्यु भएको छ। बुधबार बिहान ३ बजे घरमाथि झरेको पहिरोले पुरेर २३ वर्षकी मञ्जु तामाङ र साढे दुई वर्षकी उनकी छोरी एञ्जल तामाङको मृत्यु भएको स्थानीयले बताएका छन्।

अर्कोतिर, यहाँको रामाराम खोर्लोङमा गएको पहिरोले पुरेर १४ वर्षका रोहितहाङ सुब्बाको मृत्यु भएको छ। दक्षिण जिल्ला प्रशासनले यो विपद्सँग जुध्नका लागि प्रशासन सतर्क रहेको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.