|

काठमाडौँः सुशील कोइराला मेमोरियल फाउण्डेसनले संविधान दिवसका अवसरमा ‘स्थानीय तहको  निर्वाचन र संविधानको कार्यान्वयन’ विषयमा राष्ट्रियस्तरको वैचारिक छलफल कार्यक्रम आयोजना गर्ने भएको छ। 

देशका सबै प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको सन्दर्भमा यसको वैचारिक छलफल र समीक्षा हुनुले बृहत् शान्ति प्रक्रियाको पूर्णताका लागि पनि सहयोग पुग्ने ठानेर फाउण्डेसनले यस्तो कार्यक्रम आयोजना गर्न लागेको बताइएको छ। 

प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा हुने उक्त छलफलमा प्रमुख दलका प्रमुख नेताहरू र पूर्व प्रधानमन्त्रीहरू सहभागी हुने फाउण्डेसन सचिवालयले जानकारी दिएको छ।  

छलफलमा संविधानविद्हरूले स्थानीय तहको निर्वाचन र संविधानको कार्यान्वयनका बारेमा विचार प्रस्तुत गर्नेछन्। 

आगामी असोज ६ गते आर्मी अफिसर्स क्लबमा आयोजना गरिने छलफलमा फाउण्डेसनका अध्यक्ष तथा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले समसामयिक राजनीति र संविधान कार्यान्वयनका सन्दर्भमा बृहत् चर्चा गर्ने कार्यक्रम रहेको बताइएको छ। साथै राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले संविधानमा मानव अधिकारको स्थान र अवस्थाबारे प्रष्ट्याउने कार्यक्रम रहेको छ। 

कार्यक्रममा कूटनीतिक नियोगका प्रतिनिधि, निजी क्षेत्र, पेशागत संघसंस्था र विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहने सचिवालयले जनाएको छ।

वर्तमान संविधान निर्माण र घोषणामा महत्त्वपूर्ण भूमिका निभाएका पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व  सभापति सुशील कोइरालाको स्मृतिमा स्थापना भएको फाउण्डेसनले देशका प्रमुख एजेण्डामा बृहत छलफल गर्ने सिलसिलामा यो कार्यक्रमको आयोजना गर्न लागेको फाउण्डेसनका सदस्य सचिव अतुल कोइरालाले बताए।

प्रधानमन्त्री शेरबहादुर देउवा यो फाउण्डेसनका संरक्षक रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.