|

काठमाडौं: आन्तरिक राजस्व विभागले कर कानुनको पालना नगर्ने ५०९ करदातालाई कारबाही गरेको छ। बजार अनुगमनपछि कानुनको पालना नगर्ने करदातालाई कारबाहीको दायारामा ल्याइएको विभागले जनाएको छ।

भदौ २७ गतेका दिन ८४ वटा अनुगमन टोलीले ३८५ वटा करदाताको अनुगमन गरी ४० वटा करदाताहरुलाई कारोबारस्थलमै तत्काल कानूनी कारबाही गरिएको विभागले जनाएको छ।

भदौ २८ गतेका दिन ६७ वटा टोलीले ६७२ वटा करदाताको कारोबारस्थल आकस्मिक रुपमा अनुगमन गरेकोमा १२७ वटा करदाताहरुले कर कानून परिपालना नगरेको पाइएको हुँ प्रचलित कर कानून बमोजिम जरिवाना गरेको विभागले जनाएको छ।

भदौ २९ गते ६५ वटा अनुगमन टोलीले ६५० वटा करदाताको अनुगमन गरेकोमा १०३ वटा करदाताहरुलाई प्रचलित कानून बमोजिम जरिवाना गरेको  छ। त्यस्तै भदौ ३० गते ५० वटा टोलीले ४८१ वटा करदाताको अनुगमन गरेर ७३ करदातालाई कारबाही गरेको तथा असोज १ गते ४८ वटा टोलीले ४७८ करदाताको अनुगमन गर्दा ७१ करदाताहरुले कर कानुनको परिपालना नगरेको देखिंदा कार्यस्थलमै कारबाही गरेको छ।

त्यसैगरी असोज २ गते ५२ वटा कर अधिकृतको टोलीले गरेको अनुगमनमा ५२० करदाताको कारोवार अनुगमन गरी ९५ करदाताहरुलाई कारवाही गरेको थियो। विगत ६ दिनमा ३६६ टोलीबाट ३१ सय ८६ वटा करदाताको अनुगमन गरी कर कानून पालना नगर्ने ५०९ करदातालाई जरिवाना तथा अन्य कानुनी कारवाही गरेको विभागले जानकारी दिएको छ।

अनुगमनका क्रममा अन्तःशुल्क स्टिकर नलगाइएका गुट्खा तथा इजाजत नलिई कारोवार गरेको मदिरा र अन्तःशुल्क स्टिकरको प्रयोग नभएको मदिरा बरामद गरेको छ। अनुगमन टोलीले नक्कली स्टिकरको प्रयोग, अवैध मदिराको प्रयोग, करपाटी नराख्ने, विवरणहरु पेश नगर्ने, खाता अद्यावधिक नगरिएको, दर्ता नगरी कारोवार गरेको, घरबहाल कर दाखिला नगरेको, विल विजकको प्रयोग नगरिएको जस्ता क्रियाकलाप गरेको फेला पारेकोले कानूनी कारवाही गरेको हो।

अनुगमनका क्रममा कर अधिकृत नेतृत्वको टोलीले व्यवसायीहरुलाई कार्यस्थलमा नै करदाता शिक्षा प्रदान गर्नुका साथै कर कानुनको पालना गर्न सुझाव समेत दिएको छ। कर अधिकृतको नेतृत्वमा खटिएको टोलीले कारवाहीमा परेका र थप शंकास्पद देखिएका करदाताहरुलाई थप अनुसन्धानका लागि खरीद विक्री खाता नियन्त्रणमा लिएर कार्यालयमा उपस्थित हुन पत्राचार समेत गरेको विभागले जनाएको छ।

आन्तरिक राजस्व विभागले बजारमा विलविजक जारी नगर्ने करदाताको व्यवहारमा सुधार नभएमा अझ कडा रुपमा प्रस्तुत हुने चेतावनी दिनुका साथै बजार अनुगमनलाई वर्षैभरी निरन्तरता दिने जनाएको छ।

विभाग अन्तर्गतका ३६ वटा कार्यालयबाट भदौ २७ गतेदेखि शुरु भएको बजार अनुगमनमा प्रत्येक कार्यालयबाट ३÷३ वटा टोली परिचालन गरिएको विभागले जनाएको छ । बजार अनुगमन विभागको नियमित कार्य भएको जनाउंदै दशैं, तिहार जस्तो चाडवाडको समयमा बढी कारोवार हुने र सो क्रममा विल विजक जारी नहुने गुनासो धेरै तिरबाट आउने भएकोले बजार अनुगमनलाई तिव्रता दिइएको जनाएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.