|

काठमाडौं: तराई मधेस जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा पाएको नेपाली सेनाले चार वर्ष निर्माण सम्‍पन्न गर्ने प्रतिबद्धता जनाएको छ। त्यस्तै आयोजनाको डिजाइन परिवर्तन गर्न समेत नेपाली सेना तयार भएको छ।

बुधबार संसदको विकास समितिको बैठकमा नेपाली सेनाका उपरथी योगेन्द्रबहादुर खाँडले आउँदो ९ महिनामा फास्टट्रयाकको डिजाइनमा परिवर्तन गर्ने बताए।यसअघि भारतको आईएलएफएस इन्फास्टक्चर लिमिटेडले तयार पारको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मा सेनाले परिमार्जन गर्न लागेको हो

विकास समिति बैठकमा फास्टट्रयाकको पछिल्लो प्रगति विवरण सार्वजनिक गर्दे उपरथी  खाँडले सेना, विदेशी र नेपाली निर्माण व्यवसायीले सडकको काम गर्ने जानकारी दिए। फास्टट्रयक एसियन हाइवेको प्राइम क्लासको हुने  उनले बताए।

यस्तो हुनेछ फास्ट ट्रयाक 

कुल ७६ किलोमिटर लामो सडकअन्तर्गत ललितपुरमा ७.९, काठमाडौं ४, मकवानपुर ५६ र बारामा ७.६ किलोमिटर पर्दछ। यस्तै १.३ किलोमिटर लामो सुरुङका अतिरिक्त ९ किलोमिटर लामो ९९ वटा पुल बन्नेछन्।

फास्ट ट्रयाकमा मोटरसाइकल चलाउन प्रतिबन्ध हुनेछ भने सडकमा न्युनतम ६५ देखि अधिकतम १२० किलोमिटरसम्मको गति निर्धारण गरिने भएको छ। 

अर्थमन्त्रालयले दुर्त मार्गको लागि बजेट अभाव नहुने बताएको छ।  अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख केवलप्रसाद भण्डारीले फास्टट्रयाकलाई बजेटको अभाव नहुने प्रतिवद्धता व्यक्त गरे।  उनले यो वर्ष १० अर्ब १३ करोड रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिए।

आयोजना निर्माणका लागि १ खर्ब १२ अर्ब रुपैयाँ लाग्ने यसअघि आईएलएफएसले तयार पारेको डीपीआरमा उल्लेख छ। सरकारले वैशाख २१ गते नीतिगत निर्णय गर्दे फास्टट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको हो।

फास्ट ट्रयाकका लागि सरकारले वार्षिक १० देखि २० अर्ब रुपैयाँ बजेटको व्यवस्था गर्न सक्ने भएकाले यो सडक स्वदेशी लगानीबाट बनाउनुपर्ने सुझाव समितिले सिफारिस गरेको थियो । यसअघि सेनाले निजगढसम्म ट्रयाक खोल्ने काम सम्पन्न गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.