|

  • रमेश तिमल्सिना-

रौतहटः मतगणनाको रिपोर्टिङका लागि गरुडा नगरपालिका पुगेका पत्रकारमाथि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले दुर्व्यवहार गरेका छन्। नागरिक दैनिकका पत्रकार मदन ठाकुरले निर्वाचन कर्मचारी कुर्सीमा निदाइरहेको फोटो खिच्ने प्रयास गरेपछि प्रहरी उपरीक्षक पोखरेलले दुर्व्यवहार गरेका थिए। 

निदाएको कर्मचारीको फोटा नखिच्नु भन्दै एसपी पोखरेलले पत्रकार ठाकुरको मोबाइल खोसेका थिए। ‘एसपी पोखरेलले यस्तो फोटो खिच्न पाइँदैन भन्दै मोबाइल खोसे। सय जनाको सामनेमा तथानाम गाली गर्दै डिएसपी लगाएर लछारपछार गर्न लगाए’, पत्रकार ठाकुरले बताए।

गरुडा नगरपालिकामा माओवादी अवरोधका कारण बुधबार बिहानदेखि मतगणना अवरुद्ध भएको अवस्थामा समाचार संकलनका लागि आफू त्यहाँ पुगेको पत्रकार ठाकुरले बताए। 

वडा नं. ३ मा कांग्रेस उम्मेदवार १ मतले पराजित भएपछि माओवादीले पुनः मत गणनाको माग गर्दै मत गणना कार्य अवरुद्ध गरिरहेको छ। मत गणना अवरुद्ध भएको सो समाचार प्रहरी र निर्वाचन कार्यालयले लुकाउन चाहेको थियो। वृन्दावन नगरपालिकामा मतगणना भइरहँदा मंगलबार साँझ कांग्रेस–एमालेबीच झडप भएको घटना पनि प्रहरीले लुकाउन खोजेको  थियो। 

यता, स्थानीय तहको निर्वाचनको परिणाम लिनका लागि पत्रकारहरूलाई कठिन परिरहेको अवस्थामा पत्रकारमाथि दुर्व्यवहार हुनु दुखद भएको नेपाल पत्रकार महासंघ रौतहट शाखाले जनाएको छ। महासंघले प्रेस विज्ञप्ति जारी गरी दोषी उपर कार्वाहीको माग गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.