|

  • विकास डाँगी-

दाङः घोराही उपमहानगरपालिकाका प्रवक्ताले साझा चरित्र नदेखाएको भन्दै वडा अध्यक्षहरूले कार्यक्रम बहिष्कार गरेका छन्। 

घोराही उपमहानगरपालिकाले आयोजना गरेको ‘स्मार्ट सिटी घोराहीः संभावना र चुनौती’ विषयक छलफल कार्यक्रममा कार्यक्रम सञ्चालकले कार्यक्रम सञ्चालन गर्ने क्रममा साझा चरित्र नदेखाएको भन्दै उपमहानगरपालिकाका नौवटा वडा अध्यक्षहरूले बहिष्कार गरेका हुन्। 

कार्यक्रम सञ्चालक उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालले साझा चरित्र नदेखाई पार्टीकरण गरेको भन्दै घोराही उपमहानगरपालिकाका नौवटा वडाका वडाध्यक्षहरूले आपत्ति जनाउँदै कार्यक्रम बहिष्कार गरेका हुन्।

कार्यक्रममा सहभागीहरू बोल्नका लागि दिइएको समयमा ती वडाका अध्यक्षहरूको तर्फबाट बोल्दै १५ नम्बर वडाका अध्यक्ष रमेशकुमार पाण्डेयले घोराही उपमहानगरपालिका आयोजक रहेको ब्यानरमा कार्यक्रम गर्दा ‘हाम्रो पार्टी नेकपा एमालेका नेता’ भनेर सम्बोधन गरिनु साझा चरित्र नभएको बताए। उनले उपमहानगरपालिकालाई पार्टीकरण गर्न खोजिएको भन्दै आपत्ति जनाएलगत्तै वडा नम्बर ३, ५, ६, ८, १०, १२, १४, १५ र १७ नम्बर वडाका अध्यक्षहरू कार्यक्रम छोडेर निस्किएका थिए।

उपमहानगरपालिकालाई एमालेकरण गर्न खोजिएकाले आफूहरूले कार्यक्रम बहिष्कार गरेको वडा नम्बर १० का अध्यक्ष चित्रबहादुर डाँगी (निर्मल)ले बताए। स्मार्ट सिटी बनाउने जस्तो गम्भीर विषयमा छलफल गरिएको कार्यक्रमलाई पार्टीको कार्यक्रम जस्तो बनाउन खोजिनु राम्रो नभएको भन्दै उनले यस्तै गर्दै गएमा स्मार्ट सिटीको अवधारणा नै धरापमा पर्न सक्ने बताए।

घोराही उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रम घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको अध्यक्षता तथा एमाले स्थायी समिति सदस्य शंकर पोख्रेलको प्रमुख आतिथ्यमा भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.