|

काठमाडौं : आश्विन शुक्ल प्रतिपदा अर्थात् बडादशैंको पहिलो दिन। विभिन्न शक्तिपीठ तथा दशैंघरमा घटस्थापना गरी ‘नवरात्र अनुष्ठान’ सुरु गरिँदैछ।

यो बिहान सबेरै उठी स्नान गरी शुद्ध भई पूजास्थलमा विशेष घडा थापिन्छ। यो घडामा विभिन्न देवीदेवताको आवाहन गरी पूजा गरिन्छ। यही घडामा भगवती दुर्गाको विशेष पूजा गरिन्छ र जौ रोपिन्छ।

प्रतिपदादेखि नवमीको रातसम्म विशेषगरी राति देवीको आराधना गरिने भएकाले यो अवधिलाई ‘नवरात्र’ पनि भनिन्छ। वर्षका चारमध्ये शरद ऋतुमा पर्ने नवरात्रको विशेष महत्त्व पुराणमा बताइएको छ। यसलाई शारदीय नवरात्र पनि भनिन्छ।

यो क्रम नौ दिनसम्म चल्छ। नौ दिनसम्म दुर्गाका एक–एक स्वरूपको आराधना गरिन्छ। यसैगरी शक्तिकी देवी महाकाली, धनकी देवी महालक्ष्मी र विद्याकी देवी महासरस्वतीको पूजा आराधना गरिन्छ। यस क्रममा देवीको उपासना गरिएको देवीभागवत र मार्कण्डेय पुराणअन्तर्गतको दुर्गासप्तशती पाठ गरिन्छ। ब्राह्मणहरूले वेद पनि पाठ गर्छन्।

यो समयमा विभिन्न शक्तिपीठमा पुगेर शक्तिस्वरूपा भगवतीको पूजाअर्चना गर्ने परम्परा छ। काठमाडौंको गुह्येश्वरी, संकटा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, सिन्धुपाल्चोकको पाल्चोकभगवती, काभ्रेको पलाञ्चोक भगवती, बाँकेको वागेश्वरी, गोरखाको मनकामनालगायत शक्तिपीठमा भक्तजनको घुइँचो लाग्छ।

यसरी नौ दिन नौ रात देवीको पूजा आराधना गरी दशमीका दिन प्रसाद लगाउने परम्परा छ। नेपाली समाजमा भने नौ दिनमा तयार भएको जौका जमरा देवीको प्रसादस्वरूप मान्यजनको हातबाट लगाउने चलन छ।

भारत तथा नेपालको तराईका विभिन्न स्थानमा यस अवधिलाई ‘दशहरा’ का रूपमा मनाइन्छ। यहाँ नौ दिनसम्म देवीको पूजा आराधना गरी दशौं दिन प्रसाद लगाएपछि मूर्ति विसर्जन गर्ने चलन छ।

नेपालमा तथा नेपालीभाषी रहेका भारत, भुटानलगायतका विभिन्न स्थानमा कोजाग्रत पूर्णिमासम्म टीका जमरा लगाउने चलन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.