|

काठमाडौं : स्थानीय तह निर्वाचनको तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक हुन थालेको छ। बिहीबार बिहानसम्म वटा ७ वटा स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक भएकामध्ये २ स्थानीय तहमा एमालेले जित हात पारेको छ। यस्तै कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा र नेपाल लोकतान्त्रिक फोरमले १-१ स्थानमा जित हात पारेका छन्।

कसले कहाँ जित्यो?

सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका र धनुषाका बटेश्वर र मुखियापट्टि मुसहरनिया गाउँपालिकामा एमालेले जित हात पारेको छ। सप्तकोशी नगरप्रमुखमा एमालेका उत्तमकुमार शर्मा विजयी भए । उनले ४ हजार ३६१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका ध्रुवकुमार कार्कीले ३ हजार ६९० मत प्राप्त गरे। उपप्रमुखमा पनि एमालेकै आशा चौधरी ४ हजार ४६२ मतसहित विजयी भइन्।

यस्तै धनुषाको बटेश्‍वर गाउँपालिकामा पनि एमालेका डम्बरबहादुर राउतले कांग्रेसका रामआशिष महतोलाई जम्मा ७४ मतले पराजित गरे। राउतले २ हजार ३७७ मत पाउँदा महतोले २ हजार ३०३ मत पाए।  उपाध्यक्षमा एमालेकै प्रमिला देवी २ हजार २९० मत ल्याएर विजयी भइन्।

धनुषाको औरही गाउँपालिका अध्यक्षमा कांग्रेसका ब्रह्मदेव यादव २ हजार ५६९ र उपप्रमुखमा कांग्रेसकै मीरादेवी सहनी २ हजार ४९४ मत ल्याएर विजयी भएका छन्। 

यसैगरी सिरहाको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्रका गंगा पासवान प्रमुखमा  र उपप्रमुखमा माओवादीकै पार्वती श्रेष्ठ विजयी भए । पासवान ४ हजार ३०९ तथा श्रेष्ठले ४ हजार ३१३ मत प्राप्त गरे।

रौतहटको ईशनाथ नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमले जित हात पारेको छ। नगरप्रमुखमा लोकतान्त्रिकका सन्तोष मेहताले ५ हजार ७८५ र उप–प्रमुखमा सोही पार्टीकी हसेनी आरा खातुन ५ हजार २३६ मत प्राप्त गरी विजयी भएका छन्।

सिरहाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरमले जित हात पारेको छ। अध्यक्ष र उपाध्यक्षमा संघीय समाजवादीकै जागेश्वर यादव १ हजार ९४० र अरहुलादेवी सिंह २ हजार ७ मत ल्याएर विजयी भए।

अध्यक्षका निकटतम प्रतिद्वन्दी एमालेका सत्यनारायण यादवले १ हजार २८० मत र उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी ललितादेवी यादवले १ हजार २२० मत ल्याए।

धनुषाको हंसपुर नगरपालिकामा  राजपामा उम्मेदवार विजयी भएका छन्। प्रमुखमा रामज्ञान मण्डल ३ हजार ३२० मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवारले ३ हजार २१९ मत पाए। उपप्रमुखमा पनि राजपाकी उम्मेदवार रेणु झा ३ हजार २७६ मतका साथ विजयी भइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.